|

  • पार्थ मण्डल-

झापा (भद्रपुर) : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले परिवर्तनको आन्दोलनमा सहिदको रगत सुक्न नपाउँदै परिवर्तनका विरोधीलाई गठबन्धनको नाममा समर्थन गर्नु उचित नभएको बताएका छन्।

झापाको भद्रपुरमा आयोजित क्षेत्रीयस्तरीय युवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘कांग्रेसलाई पाखा लगाउने गरी परिवर्तन विरोधीहरुले समर्थन पाउने अवस्था आउनु हुँदैन, ‘संघीयता सहितको लोकतन्त्रको सुनिश्चितका लागि तरुणको सक्रियता आवश्यक छ।’

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता सिटौलाले परिवर्तनका बाहक तरुणको युवा शक्ति रहेको पनि उल्लेख गरे। साथै उनले कांग्रेसलाई भारी मतले विजयी गराउन तरुणको महत्वपूर्ण भूमिका रहनुपर्नेमा समेत जोड दिए। सिटौलाले नेपाली काँग्रेस उदार राजनीतिको पक्षधर रहेको जनाउँदै, नयाँ संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले पाए समृद्धिको सारथि बन्ने धारणा व्यक्त गरे।

उनले हिजो बहुमत पाउँदा संविधान जारी गर्न नसक्ने, सबै दललाई मिलाएर राष्ट्रिय एकता कायम गर्न नसक्ने दलको गठबन्धनले वर्तमान संविधान सहज रुपमा कार्यान्वयन हुन नसक्ने जिकिर गरे। उनले भने, ‘हरेक परिवर्तनको अभिभावक नेपाली कांग्रेस रहेकोले कांग्रेसको जित आजको आवश्यकता हो।’

कार्यक्रममा प्रदेशसभा ‘क’ का उम्मेदवार भूमिप्रसाद राजवंशीले आदिवासी, जनजाति, दलित, पिछडा वर्ग लगायतको साझा पार्टी नेपाली कांग्रेस पार्टी रहेकोले सबैलाई मतदान गर्न आग्रह गरे। राजवंशीले विगतमा भएका राम्रा कामहरु र भविश्यमा हुने अन्य महत्वपूर्ण काम पूरा गर्न नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.