|

भद्रपुर (झापा) : बालाचर्तुदशीका दिन शुक्रबार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा बिहानैदेखि शतबीज छर्ने भक्तजनहरुको घुइँचो लागेको छ।

धाम व्यवस्थापन समितिका महासचिव विष्णुप्रसाद निरौलाका अनुसार धाम परिसरमा भक्तजनहरुले बिहान ४:०५ बजेबाट शतबीज छर्ने कार्यमा सहभागी भएका थिए। शतबीज छर्न झापासहित विभिन्न

जिल्लासँगै छिमेकी राष्ट्र भारत पश्चिम बंगाल, सिक्किम लगायतका स्थानहरुबाट हजारौँ भक्तजन शतबीज छर्न आएको बताइएको छ। शतबीज छर्ने कार्यसँगै २१ कात्तिकदेखि धाममा सञ्चालन भएको स्वर्ण महोत्सव तथा ३५औँ अनुष्ठानअन्र्तगत शिव महापुराण तथा रुद्राभिषेक महायज्ञ सम्पन्न भएको छ।

बालाचर्तुदशीको अघिल्लो साँझ समितिले भव्य कार्यक्रमसहित समितिको संकल्प ५१ लाख र उपस्थित भक्तजहरुसहित करोडौँ लाख दीप प्रज्वलन गरेको थियो। स्वर्ण महोत्सवको अवसरमा ५१ वटा बेलुनमा ब्यानर टाँगी आकाशतर्फ छोडिएको, निःशुल्क महाप्रसाद वितरण लगायतको कार्यक्रम सञ्चालन गरिएको समितिका महासचिव निरौलाले जानकारी दिए।

धाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्ठानीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि महामण्डलेश्वर १००८ स्वामी हेमानन्द गिरीले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा समितिका महासचिव निरौलाले समितिले आगामी दिनमा सम्पन्न गर्ने विभिन्न योजनाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनअनुसार धाम परिसरमा साँगुरो रहेको परिक्रमा मार्गका निर्माण, धामको मुख्य मन्दिरमा अधुरो रहेको ताम्रपत्र लगाउने कार्यको पूर्णता, धाम परिसरमा घेराबारा गर्ने, छात्रावास भवन निर्माण गर्ने, सोलार बत्ती जडान गर्ने, खडेबाबा स्मृति चिल्ड्रेन पार्क निर्माण गर्ने, आकाशे पुल निर्माण गर्ने, गुरुकुल र अन्नदान अक्षयकोषको निरन्तरतालगायत रहेको छ।

स्वर्ण महोत्सव तथा ३५औं अनुष्ठानलाई लक्षित गरी अर्जुनधारा उद्योग वाणिज्य संघले पसल सञ्चालन गर्नका लागि स्टल र उपस्थित भक्तजनहरुलाई मनोरञ्जन प्रदान गर्न रमाइलो मेला सञ्चालन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.