|

काठमाडौं : हिमाल केसी हाल चर्चित द्वन्द्व निर्देशक हुन्। उनले अहिलेसम्म ३ दर्जनभन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्। द्वन्द्व निर्देशनमा ३ दशकभन्दा बढी समय बिताएका उनले अहिले फिल्म निर्देशनमा पनि हात हालिसेकेका छन्। उनको निर्देशनमा बनेको फिल्म 'पिंजडा ब्याक अगेन' ४ माघबाट प्रदर्शनमा आउने तयारीमा छ।

०३२ को साउन महिनामा ललितपुरको गोदवारीमा जन्मिएका थिए केसी। गाउँको एकदमै फटाहा हिमाल पहिल्यैदेखि कुस्ती खेल्न रुचाउथें। गाउँको फलफूल चोर्ने, जंगलमा गएर चरा मार्नु उनको पेसाजस्तै थियो। उनी सम्झन्छन्, 'गाउँमा फलेका  कोही कसैका फलफूल केही बाँकी राखिँदैनथ्यो। रुखको फेदमा कुकुर बाँधेको भए पनि कुकुरलाई बोराले छोपी त्यस रुखको फल चोरिन्थ्यो।' उनले विगत सम्झँदै भने, 'अनि चरा मार्नमा पनि म एक्सपोर्ट थिएँ, दिनको करिब १५ वटा चरा मार्थें म।'

औपचारिक पढाइ भने उनले कक्षा ९ सम्म मात्र पढे। सानैदेखि उनीमा फिल्मको हिरो बन्ने भूत चडेको थियो। घरमा भएको भटमास चोरेर बजार लगेर बेच्थे उनी अनि आएको पैसाले फिल्म हेर्थे। 'जब मैले घरको भटमास चोरेर बजार लगेर बेच्थें र फिल्म हेर्थे नि, हो त्यही वेलादेखि फिल्मको भूत चढेको थियो ममा,' उनले भने।

कसरी मिल्यो फिल्म क्षेत्रमा छिर्ने अवसर?

हरेकजसो बिदामा आफन्तको घर ललितपुरको धोबिघाटमा आउने हिमालको एकजना साथी थिए विजय। बिदाको दिन आफन्तको घरमा आएको वेला हिमाललाई उनको साथीले आफ्नो अर्को साथी भेट्न बालाजु जान आग्रह गरे। भन्छन् 'साथीले भेट्न जाऔँ भनेसी भेट्न गइयो।' विजयको साथी कृष्ण थापा ड्राइभर थिए। लोकल बस चलाउने भएकाले हिमाल पनि त्यतै घुम्न थाले।

'कहिले पिकनिकको रिजर्भ आउथ्यो, कहिले के' उनी भन्छन् 'म त्यतै हिँड्न थालें।' त्यही क्रममा एकदिन सुटिङको रिजर्भ आयो। उनी सम्झन्छन्, 'एकदिन झ्याप्प सुटिङको रिजर्भ आयो, ५० दिनको। अनि गइयो त्यतै।'

सुटिङमा गएको वेला एकदिन एक्सन खिच्‍ने दिनपर्‍यो। एक्सन निर्देशन गरिरहेका थिए, एनबी महर्जनले। उनी अलि चासो दिएर एक्सन सिन हेरिरहेका थिए। एनबीले हिमाललाई देखे। उनको हाउभाउ देखेर एनबीले हिमाललाई बोलाए र भने, 'ए बाबु यता आऊ, म तिम्लाई फिल्ममा काम लगाइदिन्छु।' फिल्ममा छिर्ने माध्यम खोजिरहेका हिमालले सहर्ष त्यस कुरालाई स्वीकार गरे। 'फिल्ममा हिरो बन्ने सोच भएको मान्छे, एक्कासि फिल्ममा काम गर्ने कुरा आएसी म पनि खुसी भएँ।' उनले सम्झे।

फिल्ममा काम त पाइयो तर गर्ने के यो हिमाललाई थाहा थिएन। एनबीले उनलाई स्पोर्ट ब्वाईमा काम गर भने। उनले पनि हत्त न पत्त हुन्छ भने। तर, हिमाललाई स्पोर्ट ब्वाई के हो थाहा थिएन। भोलिपल्ट सुटिङ सेटमा पुगे हिमाल। पुग्नेबित्तिकै कुकले हिमाललाई ग्लास टिप्‍न भने।

उनलाई आफ्नो काम थाह नभएर होला उल्टै गाली गर्न थाले। 'ओ दाइ घरमा सिन्कासमेत नभाँचेको मान्छेलाई ग्लास उठा भन्ने।' उनको जवाफ थियो। त्यसपश्चात त्यस दिन त्यतिकै बिताए उनले। त्यसदिनपश्चात सुटिङ सेटमा जान छाडे उनी। 'कहाँ फिल्मको हिरो बन्न आएको मान्छे ग्लास उठाएर बस्ने' उनको मनमा यही थियो।

फेरि एकदिन त्यही गाडीमा हिँड्ने क्रममा पुन: एनबी महर्जन भेट भए। भेटमा महर्जनले भने, 'ल बाबु हिँड् तलाई म पोखरा लान्छु।' अनि महर्जनकै पछि लागेर हिमाल पोखरा पुगे। हिमाल एनबीको झोला बोक्ने बनेर सँगै हिँड्न थाले।

पछि उनलाई क्यामेरा सिक्ने रहर जाग्यो र क्यामेरा सिक्न लागे। ३ दिन क्यामेराको काम गरेपछि उनलाई फेरि फाइटतिर ध्यान गयो र क्यामेरा छोडिदिए। उनी सम्झिन्छन्, 'क्यामेरा सिक्दा अनुशासनमा बस्नुपर्ने हुँदोरहेछ, फाइट खेल्नेहरु त पूरा फुर्तीका साथ हिँडिरहेका हुन्छन्। अब कहाँ मुसाजस्तो भएर बस्ने भनेर फेरि फाइटतिर लागेँ।' फाइटर बनेका उनले नेपालमा पहिलोपटक कारको स्टन्ड देखाएका थिए। उनले भने, 'नेपालमा पहिलोचोटि हो, मैले अञ्‍जली भन्ने फिल्ममा कारको स्टन्ड दिएको थिए।'

नाम कमाउनतिर ध्यान

उनलाई  विस्तारै नाम कमाउनेतिर ध्यान गयो। नामको भोगी बनिसकेका उनलाई फिल्मको हिरो बन्ने सोच आयो। उनको पहिलो प्रथामिकतामा नै हिरो थियो। द्वन्द्व त दोस्रो। सोचे, 'अब म हिरो बन्छु।' त्यसपश्चात उनी डान्स र एक्टिङ सिक्न सुरु गरे। फिल्म खेल्नलाई धेरै कोशिस गरेका उनी एकदिन फिल्ममा आबद्ध भए। फिल्मको नाम थियो 'कोशिस'। फिल्मलाई तीर्थ थापाले निर्देशन गर्ने भनिएको थियो। 'आखिर 'कोशिस' कोशिसमै सीमित भयो, फिल्म बनेन।'

सासानो भूमिकामा अभिनय गरिसकेका उनलाई हिरो बन्ने रुचि अझै पूरा भइसकेको थिएन। मेन रोलमा खोल्ने रहर पूरा हुन बाँकी नै थियो। र उनी फिल्मको हिरो नबनेर भिलेन बन्न पुगे। उनलाई फिल्म 'नाई नभन्नु ल' बाट भिलेनको रुपमा परिचित गरायो। भन्छन्, 'मलाई कलाकार हो भनेर चिनाएको भनेको नै 'नाई नभन्नु ल'ले हो।' त्यसपश्चात उनले केही फिल्ममा नकरात्मक भूमिका निर्वाह गरेका छन्।

एनबी महर्जनको असिस्टेन्ट बनेर धेरै फिल्ममा सहायक द्वन्द्व निर्देशको भूमिका निर्वाह गरेका उनले फिल्म 'मर्यादा'मा पहिलोपटक द्वन्द्व निर्देशक बनेर काम गरे। जसबाट उनी सबैमा नोटिस पनि हुन पुगे। पहिलो फल्मले नै सफलता दिलायो उनलाई। साहायक द्वन्द्व निर्देशकको लामो करिअरमा उनलाई मुख्य द्वन्द्व निर्देशक बनेर काम गर भन्ने धेरै थिए।

तर, उनले त्यसवेला मुख्य भएर काम गरेनन्। 'मलाई  मुख्य द्वन्द्व निर्देशक बनेर काम गर् भन्ने धेरै थिए। तर, मैले गरिनँ।'  उनी भन्छन्, 'त्यो समयमा मैले द्वन्द्व निर्देशन गरेको भए म हिमाल केसी हुन्न थिएँ होला।' हिमालसँगै सहायक द्वन्द्व निर्देशन गरिरहेका साथीहरुले मुख्य भएर काम गरे पनि उनीहरु हराएर गए।

कारण त्यो समय द्वन्‍द्व निर्देशनमा एनबी महर्जन र राजेन्द्र खड्गीको क्रेज एकदमै धेरै थियो। उनले त्यो बुझे र काममा हात हालेनन्। 'उहाँहरुलाई जित्‍न त एकदमै प्रखर भएर आउनुपर्छ तर त्यो क्यापासिटी ममा थिएन। त्यसैले मैले त्यो वेला काम गरिनँ।'

मुख्य द्वन्द्व निर्देशक बन्नका लागि धेरै समय कुरेका हिमालले फिल्म निर्देशन पनि गरिसकेका छन्। उनको निर्देशनमा फिल्म 'पिंजडा ब्याक अगेन' निर्माण भएको छ।

फिल्म निर्देशन गर्ने संजोग

फिल्म निर्देशन गर्ने संजोग पनि उनको खुबै रमाइलो छ। सिमसिम पानी परिरहेको साँझ। फिल्म लेखक मौनता श्रेष्ठसँग उनको भोट भयो। सँगै बसेर खाजा खाए अनि हिँड्दै अनामनगरतिर लागे उनीहरु।

हिँड्दै गर्दा हिमालले मौनतालाई भने, 'अहिले मेरो निखिलसँग खुबै राम्रो सम्बन्ध छ। निखिलको क्रेज बजारमा बिकिरेहका वेला निखिललाई लिएर फिल्म बना‍औँ।' त्यो कुरा मौनतालाई मन पर्‍यो र सहमति जनाए। सँगै बसेर चिया खाँदै मौनताले स्टोरी लाइन सुनाए। अनि फिल्मको नाम के राख्‍ने भन्ने विषयमा कुरा भयो। निखिल उप्रेती भएसी 'पिंजडा' ठीक होला। त्यो कुरा हिमाललाई मनपर्‍यो र स्वीकारे र नाममा थपे 'ब्याक अगेन'।

फिल्म निर्देशकभन्दा पनि द्वन्द्व निर्देशकमा रमाउने हिमाल अबको दिनमा पनि द्वन्द्व निर्देशक नै भएर काम गर्ने बताउँछन्। भन्छन्, 'मैले फिल्म निर्देशन गरिसके पनि एक्सन नै गर्छु अझै। किनभने जुन ठाउँबाट मैले आफूलाई हिमाल केसी भन्न पाएको छु त्यो काम चाहिँ अझ १० वर्ष गर्ने मन छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.