|

विराटनगरः मोरङ प्रहरीले भाइबरमार्फत चिठ्ठा परेको छ भन्दै लाखौँ रूपैयाँ ठगी गर्ने गिरोहका छ जनालाई विराटनगरबाट पक्राउ गरेको छ।

लामो समयदेखि अवैध रूपमा हुण्डीको समेत कारोबार गर्दैै आएका विराटनगर महानगरपालिका– ७ का ५५ वर्षका अनुपचन्द सेठियालाई बिहीबार साँझ ८६ लाख ५९ हजार ३४५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सेठियासहित पक्राउ परका अन्य पाँच जनालाई पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजानिक गरेको छ। गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले ठगीमा संलग्न सेठियाका भतिजा ४० वर्षका ललित, उनका सहयोगी सुनसरी दुहवीका २९ वर्षका बलराम विश्वास, विराटनगरका ४३ वर्षका विमलकुमार चिरानिया, २७ वर्षका श्रवणकुमार साह र भारतीय नागरिक ३७ वर्षका पंकज कर्णलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरिसकेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले उनीहरूबाट बरामद भएको रकमको स्रोत नखुले अन्य मुद्धा पनि दर्ता गरिने जानकारी दिए।

प्रहरीका अनुसार ठगी गर्ने मुख्य गिरोह पक्राउ गरेपछि पीडितहरू प्रहरीको सम्पर्कमा आउन थालेका छन्। ‘यो गिरोहबाट थुप्रै मानिस ठगिएको हुनुपर्छ’, एसपी बीसीले भने, ‘ठगी गर्ने गिरोहको सञ्जाल ठूलो छ।’ 

प्रहरीले उनीहरूको साथबाट भारतमा रकम पठाएको विभिन्न कागजपत्रसमेत फेला पारेको छ। मोरङ प्रहरीले एक महिनाअघि विराटनगरको रानीबाट भाइबरमार्फत फोन गरी चिठ्ठा परेको छ भन्दै ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका ती पनि यही समूहका हुनसक्ने प्रहरीले बताएको छ।

प्रहरीले सेठियाको कार्यालयबाट भारतीय एक हजार रूपैयाँ, चाँदीका टुक्रा चार थान, चाँदीका सिक्का दुई थान र छ थान मोबाइलसमेत बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.