|

दाङः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस दाङले शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी घोषणपत्र सार्वजनिक गरेको हो। घोषणपत्रको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाईमन्त्री दीपक गिरी, पार्टीका जिल्ला सभापति कीर्तिबहादुर खड्कालगायतका नेताहरूले सार्वजनिक गरेका थिए। 

घोषणपत्रमा जिल्लालाई गुइँठामुक्त जिल्ला बनाउनेदेखि प्रदेश नम्बर– ५ को प्रादेशिक राजधानी बनाउने विषयसम्म रहेका छन्।

समृद्ध दाङ बनाउनका लागि प्रादेशिक राजधानी बनाउने, दीर्घकालीन विकासका लागि पूर्वाधार निर्माण गर्न दाङ र देउखुरी उपत्यकामा बृहत चक्रपथ निर्माण गर्ने, दाङ–देउखुरीको व्यवस्थित विकास निर्माणका लागि गुरु योजना तयार पर्ने, परिणाममुखी विकास योजनालाई प्राथमिकता दिने घोषणपत्रमा उल्लेख गरिएको छ।

दाङ उपत्यकालाई स्मार्ट सिटीको रूपमा विकास गरिने, एक घर एक रूख, एक वडा एक उद्यान कार्यक्रम लागू गरिने, दाङमा इन्धनको रूपमा गुइँठा प्रयोग गर्ने परिवारलाई वैकल्पिक इन्धनतर्फ उन्मुख गराई गुइँठा प्रयोगमुक्त बनाइने घोषणापत्रमा उल्लेख छ। 

यस्तै, जलस्रोत संरक्षणका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरिने, लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापालगायत देशका शहीदहरूको सम्झनामा दाङका महत्त्वपूर्ण ठाउँमा शहीद स्मारक बनाइने पनि उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.