|

बैतडीः प्रधानमन्त्री शेरबहाुदर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शुक्रबार नेपाली कांग्रेसले बैतडीको मेलौलीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले आफ्नो पछिल्लो भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउनेबारे ठोस सहमति भएकाले नेपाली कांग्रेसकै नेतृत्वको सरकारले मात्रै यस आयोजनालाई अगाडि बढाउन सक्ने दाबी गरे। 

पञ्चेश्वर आयोजनाको ड्याम निर्माणस्थल नजिकै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लाखौँ बेरोजगार युवाहरूलाई प्रत्यक्ष रोजगारी दिने र देशमै समृद्धि ल्याउने पञ्चेश्वर आयोजना नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै अघि बढाउने बताए।

आफूलाई बैतडीको माया डडेल्धुराकै जति भएको भन्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रमा पर्ने राष्ट्रिय गौरवका आयोजनाहरू पञ्चेश्वर र पश्चिम सेतीलाई पनि नेपाली कांग्रेसकै सरकारले बनाउन सक्ने जिकिर गरे। जिल्लाको पाटनमा आयोजित अर्को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बैतडीवासीको विमान चढ्ने सपना छिट्टै पूरा गरिदिने प्रतिबद्धता पनि व्यक्त गरे। 

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले र माओवादीले देशमा अधिनायकवाद भित्र्याउन खोजेको आरोप लगाए। विश्वमा समाप्त भइसकेका कम्युनिष्टहरूले नेपालका सोझा जनतालाई भ्रममा पारेर तनाशाही शासन लाद्न खोजेको जिकिर गरे। वाम गठबन्धनलाई जिताएमा कम्युनिस्ट शासन लागू हुने र त्यसपछि जनताले बोल्नसमेत नपाउने तथा अन्यायमा परे न्याय नपाउने देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवाले यो देशलाई अधिनायकवादीहरूको कब्जाबाट नेपाली कांग्रेसले मुक्त गरेको भन्दै अब कसैले लोकतन्त्रलाई हत्याउन नसक्ने बताए। आम चुनावमा लोकतान्त्रिक शक्तिले सहजै बहुमत ल्याउने दाबी गर्दै उनले फेरि बहुदलीय लोकतान्त्रिक अभ्यासले निरन्तरता पाउने बताए। 

शुक्रबार प्रधानमन्त्री देउवाले बैतडीका तीन ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। जिल्लाका मेलौली, पाटन र पुर्चौडीमा आयोजित सभालाई उनले सम्बोधन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.