|
फाइल फोटो

काठमाडौं : उम्मदेवारलक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो। शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए। नुवाकोट १ को ककनी गाउँपालिका ५ डाँडागाउँमा नेपाली कांग्रेसका नेता रामशरण महतको निर्वाचन प्रचारप्रसारमा खटिएका कार्यकर्ता चढेको गाडी साढे १० बजे माइन विस्फोटनमा पर्‍यो। विस्फोटका कारण ५ जना घाइते भए।

शुक्रबार बिहान नै पौने १२ बजे रोल्पाको सदरमुकाम लिबाङ जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भयो। चुनावी अभियानमा खटिएको पुनसहितको टोलीलाई बम प्रहार भएको यो तेस्रोपटक हो। 

गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगेको छ। निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चालेको छैन। स्रोतका अनुसार गृहले २५ कात्तिकमा नै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो।

त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ। निगरानी गर्ने भनिए पनि सुरक्षा संयन्त्रले विप्लव समूहबाट यस किसिमको चुनौतीको आँकलन गरेको थिएन। अघिल्लो साता मात्रै पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा पनि विप्लव समूहबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष्कर्ष निकालिएको थियो। उक्त बैठकमा सहभागी एक प्रहरी अधिकारीले प्रहरी नेतृत्वले विप्लव माओवादीलाई कम आँक्दै तिनीहरूमाथि निगरानी मात्रै बढाउने कुरा उठेको बताए। 

गृहले निर्वाचन सुरक्षासम्बन्धी यसअघिको एकीकृत सुरक्षा योजना परिमार्जन गरेको थियो। गृहले ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०७४’ बनाएर कार्यान्वयनमा ल्याएको थियो। यसअघिको स्थानीय तह चुनावजस्तै यसपटक पनि तीनघेरे सुरक्षा योजना छ। मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना।

तर, लगातारका उम्मेदवार लक्षित विस्फोटका घटनाले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमाथि प्रश्न खडा गरिदिएको छ। गृह सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग कुरा गर्दै बदलिएको परिस्थितिअनुसार सुरक्षा योजनामा फेरबदल गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिइएको बताए। उनले भने, ‘जिल्लाको सुरक्षा अवस्था हेरेर रणनीति बनाउन हामीले अधिकार दिएका छौं।’ गृहसचिव सापकोटाले विस्फोटनका पछिल्ला घटनाप्रति मन्त्रालय संवेदनशील भएको र निर्वाचन बिथोल्ने समूहमाथि थप निगरानी बढाइएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.