|
फोटोहरु खेमराज गुरुङको फेसबुकबाट।

काठमाडौं : उनी भौतिकरुपमा कक्षाकोठमा थिए तर उनको मन शिक्षण अस्पतालको त्यही आइसबक्समा थियो, जहाँ उनका प्रिय 'खेमदाइ' लाई राखिएको थियो।

'वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना...' लगायत सयभन्दा बढी गीतका सर्जक खेमराज गुरुङलाई लोकगायक कमलीकान्त भेटवाल 'खेमदाइ' भन्थे। त्यसो त उनी धेरैका 'खेमदाइ' थिए। बानेश्वरको गोल्डेनगेट कलेजमा पढाइरहेका उनी कक्षा भ्याएर फेरि खेमदाइलाई राखेको आइसबक्स हेर्न जाने तयारीमा थिए। त्यसअघि उनले खेमदाइसँगको स्मृतिका केही पोयो फुकाए।

खेमदाइ र म एउटै गाउँ ठाउँका हौँ। त्यसो हुँदाहुँदै पनि उहाँसित गीतसंगीतका नाताले १४ वर्षअघि मात्र परिचय भयो- संखुवासभाको एक सांस्कृतिक महोत्सवमा। उहाँलाई काठमाडौंबाट महोत्सवमा बोलाएका थियौं। काठमाडौंदेखि संखुवासभाको यात्रामा उहाँले गरेका ठट्टा अझै पनि कानमा गुञ्जिरहेका छन्।

त्यसपछि हाम्रो निरन्तर सहयात्रा चलिरह्‍यो। हाम्रो लोकसांस्कृतिक विचारधारा र राजनीतिक विचार अनि गायन र संकलन एकै किसिमको भएकोले संगत गाढा हुन गयो। 

खेमदाइ म भन्दा ५ वर्ष जेठो हो। उहाँ 'वारी जमुना पारी जमुना…' गीत र २, ४ अरु एल्बममै हिट हुनुभयो। म गीत संगीतकै क्षेत्रमा रहेकोले उहाँ मेरो प्रेरणाको स्रोत रहनुभयो।

दाइ राजनीतिक कुरा गर्नुहुन्थ्यो। अनि बिचबिचमा नेताका क्यारिकेचर गर्नुहुन्थ्यो। उहाँले आफ्ना 'नयाँ गीत कस्तो र संगीत कस्तो छ?' भनेर सुनाउनुहुन्थ्यो। 'यो शब्द कस्तो छ म रेकर्ड गर्दैछु, कस्तो होला' भन्नुहुन्थ्यो। अनि लयमा गाएर सुनाउने र सुझाव माग्ने उहाँको बानी थियो।

सामाजिक व्यक्तित्व

संखुवासभामा 'बाह्रबिसे महोत्सव' थियो। त्यो महोत्सव स्थल छेउको एउटा पुल बाढीले बगाएको थियो। पैसाको अभावले नयाँ बन्न सकेको थिएन। खेमदाइलाई त्यो कुराको जानकारी भयो। दाजुले महोत्सवको पारिश्रमिक बापत पाएको ५० हजारमा ५० हजार थपेर पुलका सामान हस्तान्तरण गर्नुभएको थियो।

उहाँ कार्यक्रमबाट उठेको रकममा सके थपेर नसके त्यहीँ रकम बालबालिका पढाइ, निर्माण लगायत सामाजिक कार्यक्रमका क्षेत्रमा लगाउनुहुन्थ्यो। 

पियक्कड खेमदाइ

जीवनमा खेमदाइको एकमात्र कमजोरी रह्यो- रक्सीको चुस्की लिने। साथीसंगति भेट भयो भने रक्सी खानैपर्ने हुन्थ्यो। रक्सीका चुस्की लिइरहनुहुन्थ्यो। 

उहाँ पिएर पनि राम्रै कुरा गर्नुहुन्थ्यो। दाइ अलि पियक्कड मान्छे, कार्यक्रममा पनि पिएरै जानुहुन्थ्यो। जसका कारण कार्यक्रम अलि ढिलो सुरु गर्नुहुन्थ्यो। पिएर पनि राम्रै शब्द बोल्ने र राम्रैसँग गीत गाउनुहुन्थ्यो। 

खेमदाइलाई केही समय पहिले ओम अस्पताल लगिएको थियो। डाक्टरले 'रक्सी छुदै नछुनु, हेर्दै नहेर्नु' भनेको थियो। 'यै रक्सीले बिताउला है' भनेर डरलाग्दो चेतावनी दिएका थिए डाक्टरले। रक्सीका नशाको अनुपस्थितिमा उहाँको जिउ काप्ने र रिंगाटा लाग्ने हुन्थ्यो।

औषधिसँगै रक्सी पनि खानुभयो। 'आउनु न दाइ पिउँ' भन्दा आउनुहुन्थ्यो। गायनकै शिलशिलामा उहाँलाई रातमा गाउनुपर्ने भयो भने दिनभर सुत्नुपर्ने हुन्थ्यो। जसले दैनिकी अस्थिर रह्यो। खानपान नियमित भएन। 

पिउनाले नै उहाँले आफ्नो स्वास्थ्य साह्रै नराम्ररी बिगार्नुभयो। सुरुमा खेमदाइले रक्सीलाई जित्नुभयो र अन्तिममा रक्सीले बदला लियो, रक्सीले खेमदाइलाई जित्यो। बिडम्बना !

राजनीतिक युवापन

खेमदाइको युवाकाल राजनीतिमै बित्यो। आरआर क्यम्पसमा अनेरास्ववियुको नेता भएर राजनीति गर्नुभयो। त्यसक्रममा तीन वर्ष जेल पनि पर्नुभयो। उहाँ खाँदबारीमा जेल पर्नुभयो। मदन भण्डारी खाँदबारी गएका बेला जेलमै गएर खेमराज गुरुङलाई भेटेका थिए भन्ने सुनेको छु। 

गीतमा संखुवासभादेखि दार्जिलिङसम्म

खेमदाइ गीत संगीतमा संखुवासभादेखि दार्जिलिङसम्मका कुरा ल्याउनुहुन्थ्यो। पूर्वेली भाकाका मौलिकतालाई जस्ताका त्यस्तै ल्याएर त्यसमा आफ्नो संगीत कौशल लगाएर रेकर्ड गर्नुहुन्थ्यो।

हामीले 'काठमाडौं संखुवासभा सम्पर्क मञ्च' का विभिन्न सांगितिक कार्यक्रममा सँगै स्टेज पर्फर्म गर्‍यौँ। उहाँ जब स्टेज पाउनुहुन्थ्यो तब सबैलाई मन्त्रमुग्ध पार्ने किसिमले गाउनुहुन्थ्यो। उहाँ स्टेजमा जाँदाखेरी जोक सुनाउने, राजनीतिक विचार व्यक्त गर्नुहुन्थ्यो। उहाँमा सेन्स अफ ह्युमर थियो। स्टेजमा जाँदा राजनीतिक नेताजस्तो गरी 'लिडिङ फिगर' बनेर प्रस्तुत हुनुहुन्थ्यो। खेमराज गुरुङ स्टेजमा पुग्दा स्टेजको रौनक नै बेग्लै हुन्थ्यो। 

उहाँ कार्यक्रममा 'हा वारी जमुना...' भनेर स्टेज चढ्नुहु्न्थ्यो। र, 'अहिले यो गीत गाउन्न अन्तिममा गाउँछु' भनेर अरु गीत गाउनुहुन्थ्यो।

उहाँ ढाक्रेका गीत गाउनुहुन्थ्यो। पुराना गीत गाउनुहुन्थ्यो। उहाँ लोकगीतमा पपको फ्लेबर हालेर गाउनुहुन्थ्यो जुन 'नयाँ पुस्तालाई हो' भन्नुहुन्थ्यो। उहाँ सुरुमा बाँसुरी एकदमै राम्रो बजाउनुहु्न्थ्यो पछि युवाका लागि भनेर गीतहरुमा गितारको प्रयोग पनि गर्नुभयो।  

उहाँले 'दिल दिनुपर्छ कि मुटु दिनुपर्छ जे भनेपनि तयार छौं' भन्ने फ्यान कमाउनुभएको थियो। ती सबै दाइ लोकप्रिय भएकै कारणले थिए।

दर्शक श्रोताले उहाँलाई एकदमै माया गर्नुहुन्थ्यो तर उहाँको लतलाई कसैले छुटाउन सकेनन्। उहाँलाई केही दिन सुधार केन्द्र पनि लगियो, कार्यक्रमकै व्यस्तताले लगातार त्यहाँ राख्न सकिएन। 

मनकारी व्यक्तित्वले लततिरै डोर्‍यायो

खेमदाजु मनकारी व्यक्ति हुनुहुन्थ्यो। जसले जहाँ बोलाए पनि 'हवस्' भनेर जाने,  र कसैलाइ पनि 'नाइँ' भन्न नसक्ने बानी थियो उहाँको।

उहाँलाई मदिरा खाने साथीहरु 'ल दाइ एक गीलास पिइदिउँ न त' अथवा 'हजुरको लागि सगुन ल्याइदिएका छौं', 'यो हङकङको ब्रान्ड हो, यो अमेरिकाको ब्रान्ड हो, यो चाहिँ हाम्रो लोकल हो' भनेर माया देखाउँथे। कहिलेकाँही ती माया सम्झदा खेमदाइलाई नराम्रो गरेको हो कि भनेर दु:ख लाग्छ।

गीतसंगीतका क्षेत्रमा लागेका खेमदाइ यसरी नै रक्सीको लतमा बढी फस्न पुग्नुभयो। पछि त्यसलाई छोड्नै नसक्ने हुनुभयो। 

दाइ, हामीले पानी खाएको पाराले पिउने गर्नुहुन्थ्यो। उहाँ जति पियो त्यति राजनीतिक र गीतसंगीतका कुरा गर्नुहुन्थ्यो। 'मैले यो गीत मार्फत यो ठाउँको बारेमा यसरी बोलेको छुं' भन्नुहुन्थ्यो। गीत र राजनीतिको नालीबेली सुनाउनुहुन्थ्यो।

*** 

तीन वर्ष अगाडि मैले बाह्रबिसेको महोत्सवमा भनेको थिएँ, 'दाजु अलि धेरै भयो, ख्याल गर्नुहोला। ११०-१५ किलो भन्दा बढी पुग्नेगरी मोटाउनुभयो। आफूलाई मेन्टेन गर्नुहोला हैं।' उहाँले 'ठीक छ भाइ, म जे छु ठीक छु। सिर्जनशील छु मैले काम गर्दै छु। कैलेकाहिँ के भयो र यस्तै हो', भनेका थिए। पिउने बानीलाई सामान्य रुपमा लिनुहुन्थ्यो। लतलाई प्राणघातक हो भनेर कहिल्यै लिनुभएन।

खेमदाइलाई अत्यन्त माया देखाइयो। जस्तै हामी गुलियो खाइरहन्छौं नि गुलियो निरन्तर भयो भने त्यो बिषको रुपमा हुन्छ, खेमदाइलाई पनि त्यस्तै अत्याधिक माया देखाइयो जसको परिणाम उहाँ ४२ वर्षको उमेरमै हामीमाझ रहनुभएन।

खेमदाइको अधुरो यात्रा

'अन्तिम फूलको थुंगो मालामा नगाँसिदै ओइलाइ जान्छ' खेमराज दाइको पनि त्यस्तै भयो। उहाँ जुन गन्तब्यमा पुग्नुपर्ने र जति सिर्जना गर्ने क्षमता थियो त्यो अधुरै रह्यो। उहाँले नेपाली गीत संगीतमा एक सुनौलो इटा थप्न सक्ने क्षमता ल्याएका थिए अब त्यो आधाबाटोमै छुट्यो।

खेमराजदाइका पुरा भएका सिर्जना त हाम्रो स्मृतिमा छदै छन्। केही गीत संगीत अझै कुन कुनामा छन् भन्न सकिन्न। अब तिनलाई खोजेर हामीले उहाँका श्रोतामाझ पस्किनु छ। राजेशपायल राइ, विनोद खम्बु, दीपक लिम्बु लगायत हामीले उहाँका अपुरा गीत संगीतलाई पूर्णता दिनु र संरक्षण गर्नुपर्ने भएको छ।

परिवारबाट टाढा 

बुबा लाहुरे हुनुहुन्थ्यो। लामो लाहुरे जीवन भोगेका उहाँ रिटायर्ड भएपछि घरमै हुनुहुन्थ्यो। उहाँ घरको छतबाट लडेर बित्नुभयो। जसले खेमदाइमा पीडा थपेको थियो।

आमा बेलायत बस्नुहुन्छ। दिदी, श्रीमती र २ छोरा हङकङ बस्छन्। खेमदाइमा यसरी परिवारबाट टाढिनुले एक्लोपन थपेको थियो।

बुबाको मृत्यु, श्रीमती छोरा विदेश र आफूपनि घरमा बस्न नसक्ने। सांगीतिक कार्यक्रमका लागि धेरैठाउँ घुम्नुपर्ने भएकाले तनावमा हुनुहुन्थ्यो। 

उहाँ परिवारका कुरा गर्दा 'यस्तै हो…' भन्ने गर्नुहुन्थ्यो। 'यहाँ केही छोडेर जानुपर्छ…' भन्नुहुन्थ्यो। उहाँ 'परिवारमा यस्तै भयो, रोएर कराएर फर्किने हैन' भन्नुहुन्थ्यो। 

भिसा अमेरिकाको यात्रा भेन्टिलेटरको 

फोटोः nepaliheadlines.com

खेमदाइ अनामनगरका चियापसल, कफीसपमा भेटिनुहुन्थ्यो। पछिल्लो केही समय हाम्रो भेट अलि पातलो भएको थियो।

एक महिना अघिमात्र उहाँको अमेरिकामा कार्यक्रम गर्ने मिति तय भएको थियो। भिसा लागिसकेको थियो तर उहाँ अस्वस्थ भएपछि अमेरिका जान पाउनुभएन। 

उहाँ विगत एक महिना यता अस्वस्थ हुनुहुन्थ्यो। मेडिकेयर अस्पताल पुग्दा उहाँले 'मलाई जसरी पनि बचाउनुहोस्' भन्नुभएको थियो। जतिबेला उहाँ भेन्टिलेटरमा पुगिसक्नु भएको थियो।

बिहीबार खेमदाइसित अन्तिम भेट भयो। उहाँ बोल्ने अवस्थामा हुनुहन्थेन। अस्पतालको भेन्टिलेटरमा अन्तिमपटक देखे। उहाँको भेन्टिलेटरमा भएका बेला नै आँखा, नाक, मुखबाट रगत निस्किन थाल्यो। डाक्टरले कलेजोका साथै आन्तरिक अंगहरुले काम गर्न छोडे भन्दै थिए। अनि खेमदाइ आउनुभएन, खेमदाइको 'डेथ डिक्लियर लेटर' थमाए डाक्टरले।

यादमा सीमित त्यो संवाद

म उहाँलाई भेट्दा 'दाजु नमस्कार' भन्थेँ। 

उहाँ मोटो स्वरमा भन्नुहुन्थ्यो- 'ओहो, नमस्कार, म भन्दा फेमस भयौ त। ल गर है गर...।' 

'हजुरको प्रेरणाले ठीकै भइरहेको छ दाइ' भन्थेँ।

'यो गीत कस्तो छ?' दाइ सोध्नुहुन्थ्यो। यस्तै कुराहरु भैरहन्थे। 

अब यी संवाद हुनेछैनन्, मेरो स्मृतिमा भने बसिरहनेछन्। 'अन्तिम समय सम्म गीत संगीतमा लाग्नुपर्छ' भन्ने खेमदाइ छिट्टै जानुभयो। उहाँको अन्तिम समय छिटो आयो।

हार्दिक श्रदासुमन खेमदाइ !

(थाहा संवाददाता जयसिंह महरासँगको कुराकानीमा आधारित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.