|

काठमाडौं : ०२८ मा तत्कालीन राजा वीरेन्द्र शाहले राज्यरोहण गरेपछि संसद्को आफ्नै भवन बनाउन प्रक्रिया अगाडि बढाएका थिए। नेसनल कन्स्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन बनाउन सम्झौता पनि गरेको थियो।

राष्ट्रिय पञ्चायतको सचिवालयका लागि बनाइएको सो भवनमा हाल गृह मन्त्रालय छ। २५ असार ०३० मा सिंहदरबार आगलागी भएपछि स्थगित संसद्को आफ्नै भवन बनाउने सरकारको प्रयास ४६ वर्षसम्म पूरा हुन सकेको छैन। सरकारले संसद् सञ्चालनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन भाडामा लिएर वार्षिक १० करोड ५७ लाख तिर्दै छ।

भवन डिजाइनको नाममा लाखौँ खर्च
०५५ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ५१ रोपनी जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो। तर, राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन सिंहदरबारबाहिरै बनाउनुपर्ने आवाज उठेपछि त्यसबारे निष्कर्षमा पुग्न अध्ययन समिति बनाइएको थियो।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पुतली बगैँचा नै उपयुक्त भएको प्रतिवेदन बुझाए पनि भवन निर्माणको कार्य अझै अन्योलमा छ।

०५५ देखि हरेक वर्ष सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संसद् भवन डिजाइनका लागि बर्सेनि बजेट छुट्याउने गरेको छ। संसद् भवनको प्रारम्भिक डिजाइनमा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले बताए।

‘०५५ मा मन्त्रिपरिषद्ले जग्गा छुट्याए पनि हालसम्म काम भएको छैन। हरेक वर्ष हामीले डिजाइनका लागि भन्दै तीनदेखि चार लाख रुपैयाँ छुट्याएका हुन्छौँ, तर संसद् भवन नबन्ने भएपछि आर्थिक वर्षको अन्त्यमा त्यो रकम अन्यत्रै खर्च गर्नुपरेको छ भने कतिपय अवस्थामा फ्रिज नै हुने गरेको छ,’ उनले भने।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले संसद् भवन बनाउन २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो। सरकारले आर्थिक वर्ष ०७३(७४ मा समेत ५० लाख बजेट छुट्याएको थियो। तर, वर्ष दिन नपुग्दै सरकार परिवर्तन हुने र सिंहदरबारबाहिर वा भित्र कहाँ संसद् भवन बनाउने भन्नेमा नेताहरूबीच विवाद भएपछि भवन निर्माण अलपत्र परेको हो।

नयाँ संविधानले प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी ३३४ सदस्यय संख्या निर्धारण गरेकाले भवन निर्माण थप अन्योलमा परेको प्रशासकीय अधिकृत बेल्वासेले बताए। सिंहदरबारभित्रै संसद् भवन बनाउने सरकारले ठोस निर्णय लिए आफूहरू निर्माणका लागि तयार रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.