|

चितवन : ‘भैँसीअनुसन्धानको सर्वाेच्च केन्द्र’ स्थापना गर्ने निर्णयसहित चारबुँदे घोषणापत्र जारी गर्दै  भैँसीविज्ञहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।

कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैँसीअनुसन्धानको सर्वाेच्च केन्द्र बनाई विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने  निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डीन डा. भूमिनन्द देवकोटाले जानकारी दिए। 

सम्मेलनले गुणस्तरिय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भैँसीअनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालय बीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ। 

यस्तै अन्तर्राष्ट्रिय भैसी विज्ञ सम्मेलनको आयोजक राष्ट्रको हैैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो कङग्रेस’ आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने निष्कर्ष निकालिएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए।
 
 कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजना तथा नेपाल सरकारको पशुसेवा विभाग, नार्क तथा मिचिगन स्टेट अफ युनिभर्सिटी अमेरिकाको सहआयोजनामा उक्त सम्मेलन भएको हो।

सम्मेलनमा भैँसी उत्पादन, व्यवस्थापन, स्वास्थ्य, आनुशंशिक विकास, जैविक प्रविधि तथा नीतिगत विषयमा पाँच वटा विशेष, १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर गरी ७९ वटा प्राविधिक कार्यपत्र प्रस्तुत भएको थियो।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब दुई सय विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीहरुको सहभागिता थियो। 

सम्मेलनमा ‘इन्टरनेशलन बफेलो फेडेरेसन’का अध्यक्ष प्राध्यापक डा. एन्तेनियो बर्गिज, पाकिस्तानको भेटेरिनरी विश्वविद्यालयका प्राध्यापक तथा उपकुलपति नासिम अहमद, एसिएन बफेलो एसोसिएसनका अध्यक्ष इन्द्रजित सिंह, अमेरिकाको मिथिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रकाश जोशी सहभागी थिए। 

भैसीको अनुवांशिक गुण वृद्धि गरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैसीको व्यवस्थापनका विषयमा सम्मेलन फलदायी भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आईपी ढकालले जानकारी दिए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.