|

  • विकास डाँगी-

 दाङ : दाङको ३ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धन र कांग्रेसबीच प्रतिष्ठाको राजनीतिक लडाँइ हुँदै छ। उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले दाङका सचिव हीराचन्द्र केसी चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य दीपक गिरी मैदानमा छन्।

वाम गठबन्धनले एमाले दाङका सचिव केसीलाई उम्मेदवार बनाएपछि पूर्वमन्त्रीसमेत रहेका गिरीलाई चुनावी लडाइँ आफ्नै प्रतिष्ठासँग जोडिएको जानकारहरु बताउँछन्।

गिरी सोही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट विजयी भएका थिए। एकपटक सिँचाइ मन्त्रीसमेत भएका गिरीलाई फेरि सोही ठाउँबाट जित्न आफ्नो प्रतिष्ठाको लडाइँ भएको उनी स्वयं बताउछन्। आफू सिँचाइमन्त्री भएको वेला दाङको र विशेष पश्चिम दाङको विकासमा आफूले धेरै काम गरेको र बाँकी कामलाई निरन्तरता दिन आपूmलाई नै विजयी बनाउन गिरीले मतदाताहरुलाई अनुरोधसमेत गरेका छन्।

दोस्रो संविधानसभा निर्वाचनमा गिरीले करिब १४ हजार मत ल्याएर एमालेका उत्तर कुमार वलीलाई हराएका थिए। अहिले फेरि वाम गठबन्धनको तर्फबाट एमालेकै हीराचन्द्र केसी चुनावी मैदानमा आएका छन्।  गिरी र केसी दुवैजना हाल तुलसीपुरवासी हुन्।

स्थानीय तहमा कसको कति मत?

यता, स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ३० हजार ७ सय २१ मत प्राप्त गरेको थियो भने वाम गठबन्धनले ४८ हजार ५ सय १५ मत प्राप्त गरेको थियो। उक्त मतपरिणामअनुसार ३ नम्बर क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन १७ हजार ७ सय ९४ मतले अगाडि छ। विगतमा भने यस क्षेत्रमा नेपाली कांग्रेसको जनमत रहेको थियो। प्रत्येक निर्वाचनमा एमालेले आफ्नो जनमत बढाउँदै लानका साथै माओवादी केन्द्र समेतको मत जोड्दा यसपटक भने कसको पक्षमा पल्लाभारी होला अहिले नै भन्न नसकिने अवस्था देखिन्छ।

तुलसीपुर उपमहानगरपालिकाको १६,१७,१८ र १९ नम्बर वडा बाहेकका सबै वडा शान्तिनगर, दङ्गिशरण र बबैगाउँपालिका मिलाएर ३ नम्बर क्षेत्रको विभाजन गरिएको छ। जिल्ला निर्वाचन कार्यालका अनुसार महिला ६० हजार ७ सय ८२ पुरुष ५८ हजार २ सय ४ र अन्य १ जना गरी कुल १ लाख १८ हजार ९ सय ८७ मतदाताले यसक्षेत्रमा दुई नेताको राजनीतिक भाग्यको फैसला गर्नेछन्।

दुवैका नारा एउटै

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका केसी र कांग्रेसका उम्मेदवार गिरी दुवैका नारा समान रहेका छन्। मतदातासमक्ष दुवै उम्मेदवारले मध्यभागमा रहेको बाटोबाहेक उत्तर र दक्षिण तर्फबाट तुलसीपुर पश्चिम बाटो खोल्ने, बन्दै गरेको दामोदर रोडलाइ पूर्णता दिने,समृद्धिको दिशामा अगाडि बढाउन केन्द्रसँग समन्वय गरेर ठूला योजना ल्याउने मुद्दालाई प्राथमिकता दिएका छन्।

केसीले लालीगुराँस फूल्ने थर्कोटको संरक्षण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्ने, विभिन्न ठाउँमा मिनी रगंशाला बनाउने मुद्दा फरक राखेका छन् भने गिरीले अरनिको मैदानलाई मिनी रगंशाला बनाउनेदेखि बृहत् दाङ सिँचाइ आयोजनालाई पूर्णता दिर्ने बताउँदै आएका छन्।

केसी र गिरीको भोट बैंक एउटै भएकोले पनि दुवैलाइ अन्य मुद्दा उठाउन सजिलो भएको छ। क्षेत्र नं ३ को ‘क’ मा उठेका माओवादी केन्द्रका जगप्रसाद शर्मा र नेपाली कांग्रेसका तर्फबाट डिल्ली चौधरी चुनावी प्रतिपर्धामा उत्रेका छन्। यसअगाडि ०६४ सालको संविधानको चुनावमा माओवादीवाट पराजित भएका चौधरी यसपटक पनि फेरि माओवादीकै नेतासँग चुनाव लड्दै छन्।

निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा पश्चिम दाङमा निकै लोकप्रिय नेताको रुपमा परिचित एमाले वलीसँग कांग्रेस नेता बुद्धिराम भण्डारी चुनावमा भिड्दै छन्। सादगी नेताको उपमा पाएका भण्डारीलाई भन्दा पश्चिममा वलीलाई चिन्ने मतदाता धेरै छन्। जसका कारण भण्डारीलाई भन्दा वलीलाई चुनाव जित्न सहज देखिएको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.