|

नेकपा एमालेको वडा कमिटीदेखि राजनीति सुरु गरेका युवा नेता महेश बस्नेत अहिले भक्तपुर क्षेत्र नम्बर २ मा वाम गठबनधनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन्। २३ वर्षमै भक्तपुरको तत्कालिन गुण्डु गाविसको अध्यक्ष भएका उनी उद्योगमन्त्रीसम्म भए। २०७० सालमा यसै क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका उनी अहिले पुन उम्मेदवार बनेका छन्। उनको चुनावी अभियान लगायतका विषयमा थाहाखबरका लागि लक्ष्मी गारुले लिएको अन्तर्वार्ता :

चुनावी अभियान कस्तो चल्दैछ ?

हामीले कार्यकर्ता भेलाबाट निर्वाचन परिचालन कमिटी बनाउने काम सकियो। अहिले घरदैलोको कार्यक्रममा व्यस्त छौं।

भक्तपुर एमालेमा टिकट वितरणमा केही विवाद देखिएको थियो । पार्टी कार्यालयमा तालाबन्दी समेत भयो। यसले चुनावी अभियानमा कस्तो असर परेको छ?

एमालेभित्रको समस्या भन्दा पनि वाम गठबन्धनभित्र समस्या देखिएको हो। भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा १ मा अलिकति विवाद जस्तो भयो। त्यहाँ पार्टीले (एमालेले)  माओवादीलाई छोड्ने निर्णय गर्‍यो, तर त्यहाँका साथीहरुले नछोड्ने भन्दै छुट्टै मनोनयन दर्ता गरेको अवस्था थियो। त्यो विषयमा लगभग हामी सहमतिमा पुगिसकेका छौं। सूर्य र हसिया हथौडा भएको भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा १ मात्र हो। भक्तपुरमा माओवादीले एमालेलाई छोड्ने विषयमा दुवै पार्टीका अध्यक्षहरुबीच सहमति भइसकेको छ।

यही विवादले गठबन्धनमा सहभागी माओवादी केन्द्र भक्तपुरमा चुनाव प्रचार प्रसारमा खुल्न नसकेको हो ?

खुल्नै नसकेको होइन। उहाँहरु औपचारिक कार्यक्रमहरुमा आउनुभएन। घरदैलो कार्यक्रममा भने सहभागी हुनुभएको छ।

तपाईले घरदैलोको क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?

अघिल्लो चुनावमा भन्दा यसपालि मेरो हकमा जनताबाट धेरै सकारात्मक प्रतिक्रिया पाएको छु। अघिल्लो पटक घुर्की लाउने तथा नकारात्मक टीका टिप्पणीहरु गर्ने धेरै पाएको थिएँ। यसपालि धेरै आशावादी नजरबाट हेरेको पाएको छु। जनचाहना अनुसार विकास भएन, आफ्नो जीवनस्तरमा परिर्वतन भएन, राजनीतिक दलहरुले सही भूमिका खेल्न सकेनन्, राजनैतिक स्थिरता पनि दिएनन्, भ्रष्टाचार नियन्त्रण गर्न सकेनन् भन्ने जनताको आक्रोश देखिन्छ। तर यसपालिको निर्वाचनमा दुई गठबन्धन बनेको छ, वाम र लोकतान्त्रिक गठबन्धन। अब कम्तीमा ५ वर्षको एउटै सरकार बन्ने स्थिति बन्दैछ। मलाई लाग्छ जनताको निराशा अब क्रमशः आशामा परिणत हुन्छ।

तपाई यस क्षेत्रबाट दोस्रो पटक चुनाव लड्दै हुनुहुन्छ। विगतको र अहिलेको अवस्थामा निर्वाचनप्रति जनताको चासोमा के भिन्न पाउनुभएको छ?

अघिल्लो पटक संविधानसभाको चुनाव भएकोले संविधान निर्माण नै मूल एजेण्डा थियो। २०६२/०६३ को आन्दोलनबाट जनताको अधिकारका कुराहरु जुन ढंगले उठेको थियो, त्यसलाई संस्थागत गर्ने विषय नै प्रमुख थियो। यसपालिको प्रमुख विषय भनेको विकास र समृद्धि नै हो। मुख्यतः जनताले चाहेको खानेपानी, सडक, ढल तथा युवाले चाहेको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवास लगायतका विषय प्रमुख एजेण्डाहरु हुन्। यसपालि घरदैलोमा जाँदा वा भेटघाटमा जाँदा उहाँहरुको मुख्य कुरा विकास र समृद्धि नै छ।

चुनावबारे युवाहरुको धारणा कस्तो पाउनुभएको छ?

अघिल्लो चोटी धेरै दलहरु प्रतिस्पर्धामा थिए। त्यसैले कतिपय युवाहरुले चुनावलाई अर्कै ढंगले प्रयोग गर्न खोजेको जस्तो पनि बुझियो। उम्मेदवार भेट्ने, पार्टी भेट्ने, आर्थिक वार्गेनिङ गर्ने खालको हुन्थ्यो। तर यसपालि युवाहरुमा त्यस्तो केही छैन। उनीहरु निकै उत्साहित छन्। अब हामीले पनि मुलुक निर्माणमा केही योगदान दिनुपर्छ भन्ने भावनाको विकास भएको छ। युवाहरु अनुशासित र व्यवस्थित रुपमा खटिएको देखिन्छ।

अहिले पनि मुलुकको ठूलो युवाशक्ति रोजगारी र अध्ययनको लागि विदेशमा छ। यस्तो अवस्थामा उनीहरुलाई लक्षित गरी के एजेण्डा अघि सार्नुभएको छ?

मैले युवा संघमा २० वर्ष काम गरेँ, अध्यक्ष भएर ६ वर्ष काम गरेँ। युवाहरुको समस्यालाई सबभन्दा नजिकबाट थाहा पाउने नेतामध्येमा म पर्छु। नेपाली युवाहरुमा तीनवटा समस्या देखेको छु। पहिलो विदेश जाने समस्या, दोस्रो विद्रोह गर्ने खालको मानसिकता र तेस्रो विकृति र विसंगतितिरको आर्कषण। यी तीन कुरालाई रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्न र युवाहरुमा आशा र उर्जा पैदा गर्न अवसर हामीले ल्याउन लागेको हो।

बाँझो रहेको जमिनलाई मात्र हामीले जोत्ने हो र कृषितर्फ लाग्ने हो भने १३/१४ लाख युवालाई रोजगारी दिन सक्ने स्थिति नेपालमा छ। दक्ष जनशक्तिका रुपमा युवालाई काममा लगाउन सकेका छैनौं।  घर बनाउने होस् या गार्मेन्टमा वा विस्कुट उद्योगमा काम गर्ने दक्ष कामदारदेखि मजदुर वर्गका सबै मान्छे कि भारतीय छन् कि बंगाली। यसलाई मात्र हामीले ध्यान दिने हो भने ७ लाख युवालाई यहाँ रोजगारी दिन सकिन्छ।

अहिले विदेशमा पासपोर्टमा भिसा लगाउने संख्या युवाहरुको ३०/३२ लाख होला।  अहिले पाँच वर्षभित्र १० लाख युवालाई रोजगार दिने प्रतिवद्धता वाम गठबन्धनले गरेको छ । विगतमा केपी ओली सरकारमा छँदाखेरि नै हामीले धेरै युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेका थियौं। यद्यपी अहिलेको सरकारले त्यसलाई निरन्तरता दिएन। त्यस कार्यक्रमको मनसाय आत्मनिर्भर स्वाबलम्वनको विकास गर्ने, नेपालको वैज्ञानिक र इन्जिनियर युवाहरुलाई कमसेकम सोलार, विद्युतबाट चल्ने रेल बनाउन प्रोत्साहन दिने थियो।

तपाई पूर्वसभामुख दमननाथ ढुंगाना र नेमकिपाकी युवा नेतृ अनुराधा थापामगरसँग प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँहरुलाई कसरी लिनुभएको छ?

राजनीतिमा विपक्षीलाई पराजित गर्नु मुख्य दायित्व हो। तर नेपालको राजनीतिमा अस्वस्थ खालको प्रतिस्पर्धाहरु पनि देखिन्छ, हामी यसपालि स्वच्छ ढंगबाट जाउँ भन्ने छ। भक्तपुरमा विगतका निर्वाचनका अनुभव हेर्दाखेरी शान्तिपूर्ण नै छ। १/२ वुथमा बाहेक खासै समस्या छैन। उम्मेदवारहरुले पनि एक अर्कामा आचारसंहिता र मर्यादाभित्र रहेर व्यवहार गरिरहनुभएको छ।

तर दुःख चाहिँ मलाई के लागेको छ भने दमननाथ ढुङ्गानाजी र प्रेम सुवालजीले जुन ढंगले अर्कै खालको लाञ्छना हामीलाई लगाउनुभयो। पैसाको बलमा महेश बस्नेत आएको, के को बलमा पो आएको भन्ने खालको लाञ्छना लगाउनुभएको छ। त्यस्तो तथ्यहीन कुरामा जाँदा निर्वाचन अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा हुन्छ। त्यही भएर कुनै पनि आरोप लगाउँदा तथ्यपूर्ण कुराको आधारमा आरोप लगाउन साथीहरुलाई आग्रह गर्छु। हामी पनि तथ्यविना कसैलाई आरोप लागाउँदैनौं।

तपाई जित्ने आधारहरु के के छ?

२०७० सालको निर्वाचन पराजयपछाडि मैले यो क्षेत्रमा अझ धेरै मिहिनेत गरेको छु। एक वर्ष मन्त्री छँदा र ९ महिना केपी ओलीले सरकारको नेतृत्व गर्दा हामीले मेलम्ची करिडोर, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्र सूर्यविनायक निर्माण गरेका छौं। कटुञ्जे, दधिकोट, गुण्डु, सिरुटार, बालकोट एकातिर र अर्कोतिर मनोहराको दायाँबायाँ नगदेश, बोडेदेखि चाँगु झौखेल हुँदै नगरकोटसम्म क्षेत्रलाई स्याटलाइट सिटी बनाउन बजेट पार्न सफल भयौं। मेलञ्ची खानेपानी पहिलो चरणमा पारेर कटुञ्जे हाइटमा पानी ट्याङ्की बनाउन सफल भयौं। हामीले जिल्लामा ४८ वटा सडक विस्तार गर्ने काम पनि गर्‍यौं।

हनुमन्ते खोलामा ५ वटा पुल पार्न सफल भएँ। यी सबै कुराले हामीप्रतिको एउटै ठूलो आशा छ जनतामा। चुनाव हार्दा पनि यिनले गरे भन्ने मानसिकता जनतामा देखिएको छ। मुख्य सडकको रुपमा सल्लाघारी पेप्सीकोला जाने अरनिको वैकल्पिक सडकका लागि ८४ करोड बजेट परेको छ। उत्तर दक्षिण राजमार्गको रुपमा गठ्ठाघरबाट सिद्धिकाली हुदै बाखाबजार बोडे हुँदै मुलपानी जाने सडकका लागि २२ करोड बजेट पार्न सफल भयौं। सूर्यविनायकमा प्रायजसो सबै गाउँमा सडकका लागि बजेट परेको छ। स्थानीय चुनावमा भक्तपुर नगरपालिकाबाहेक सबै नगरपालिकामा हामीले जीत  हात पारेको र भक्तपुर कांग्रेसको आन्तरिक द्वन्द्वका कारण हाम्रो जित सुनिश्चित छ।

जनताले तपाईलाई मत दिनुपर्ने कारण के हो?

भक्तपुरबाट हिजो जितेका प्रतिनिधिहरुको भूमिका कमजोर भएका कारणले केन्द्रीय राजनीतिमा र केन्द्रीय स्रोत साधनमा भक्तपुरको पहुँच पुगेन। सिंहदरबार र केन्द्रको ध्यान यतातिर पर्न सकेन। त्यसको असर स्रोत साधन यहाँसम्म ल्याउन सकिएन। अब म त्यो कुरालाई पूरा गर्न सक्छु। मैले हिजो मन्त्री हुँदा पनि विदेश नगइकन, सरकारी पैसामा प्लेन नचढीकन, भ्रष्टाचार नगरीकन काम गरेको छु।  राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलेर भक्तपुरको विकास निर्माणमा तिव्र गतिले अगाडि बढ्न  सक्छु। यी आधारमा मलाई जनताले मत दिन्छन् र विजयी हुन्छु।

भक्तपुरका जनतासँग के भनेर मत मागिरहनुभएको छ?

शिक्षा, स्वास्थ्य, स्वरोजगार, खाद्यान्न, आवास जस्ता विषयलाई हामीले मौलिक हकको रुपमा राख्यौं, अब त्यसलाई कानुनसम्मत रुपमा लागू गर्ने बेला आएको छ। त्यसलाई कानुनी रुपमा संस्थागत ढंगले व्यवस्थित गर्न, राजनीतिक स्थिरता र स्थायी सरकार बनाउनका लागि पहल गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सशक्त भूमिका खेल्ने र पारदर्शिता, सुशासन दिन भूमिका खेल्ने विषय मैले उठाएको छु।

केन्द्रीय  स्तरको बजेट ल्याई भक्तपुरलाई अगाडि बढाउने, भक्तपुरको जीवित कला संस्कृतिलाई जगेर्ना गर्ने, यहाँ भएका मठ मन्दिर तथा धार्मिक साँस्कृतिक नाचहरुको संरक्षण गर्ने, रानीकोट, सूर्यविनायक, अन्नतलिगेंश्वरलगायत यहाँ रहेको पर्यटकीयस्थलको विकासमा क्रमशः अगाडि बढ्ने मेरो चुनावी एजेण्डा छन्। यी विषयलाई कार्यान्वयन गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभामा गएर सबै सरकारको प्रयोग गर्छौं।

भक्तपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार दमननाथ ढु्ंगानाको अन्तर्वार्ता पढ्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.