|

चितवन : ‘राजनीतिज्ञहरुको नकारात्मक शक्ति हेर्नु हेरियो, हेर्नु परिरहेको छ, अब सकारात्मक शक्ति हेर्न बाँकी छ' वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले केही दिनअघि चितवनमा आउँदा एउटा कार्यक्रममा भनेका थिए, ‘त्यो सकारात्मक शक्ति भनेको आर्थिक उन्नति नै हो।’

जनताको शक्ति भने नै यही भोट गर्ने बेलामा रहने उल्लेख गर्दै श्रेष्ठले मतदातालाई सचेत पारे भने देशले आर्थिक विकास खोजेको भन्दै नेताहरुलाई विकास गर्न सुझाव दिए। ‘जुनसुकैले जितोस्, तर लोकतन्त्र बचोस्’उनले आफ्नो चाहना पनि व्यक्त गरे।

चितवनका एकजना श्रष्टा विनोद अनुजले कसैको शब्द सापटी लिएर अहिलेसम्म महत्वपूर्ण मत सित्तैमा दान (मतदान) गरेको प्रसंग जोड्दै, फेसबुकमा लेखे, ‘अब नयाँ भूमि खोज्ने बेला आएको छ, जसले उब्जनी देओस्।’

माथिका दुई फरक व्यक्तिको प्रसंगलाई हेर्दा त्यसको सार समग्रमा ‘विकास' नै हो। नेपालमा पहिलो चरणको मंसिर १० मा ३२ जिल्लामा र दोस्रो चरणको मंसिर २१ गते ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। राजनीतिक दलका उम्मेदवारहरु आआफ्नो पक्षका उम्मेदवारलाई मतदानका लागि आव्हान गर्दै चुनावी दौडाहामा छन्।

यसअघि २०६४ सालमा र २०७० सालमा निर्वाचन संविधान निर्माणका लागि थियो। केही महिनाअघि सकिएको स्थानीय तहको निर्वाचन स्थानीय सरकार गठनसँगसँगै स्थानीय क्षेत्रको विकासका लागि थियो। अबको चरण थप महत्वपूर्ण जिम्मेवारीका लागि निर्वाचन हुँदैछ। संविधान कार्यान्वयन गर्दै स्थायी शान्ति, आर्थिक विकास, र राष्ट्रको समृद्धिको चरण हो।

भरतपुरका वासिन्दा मनोज अर्याल लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि यो निर्वाचनले ठूलो भूमिका  निर्वाह गर्ने विश्वास व्यक्त गर्छन्। तर राजनीतिक दलका उम्मेदवारहरुले गरेका वाचा पुरा गर्नुपर्ने भनाइ अर्यालको छ।

यसअघिका निर्वाचनमा पनि दलहरुबाट धेरै बाचाहरु गरिएको थियो। जनतालाई देश विकासको सुन्दर सपना बाँडेर मत मागिएको थियो। तर कार्यान्वयन भने न्यून मात्र भएको यथार्थ छ। भरतपुर १२ का मतदाता कृष्ण सापकोटा पनि दलहरुले गरेको बाचा पूरा नहुँदा चिन्तित छन्। भोट माग्न आउने नेताहरुलाई उनले यसअघि गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गरेका छन्।

केही दिन अघि भरतपुरमा चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’घरदैलोमा आउँदा सापकोटाले फूल दिंदै भने, ‘ल गरेको प्रतिबद्धता पुरा गर्नु, सडक बाटोघाटोको दुर्दशा छ विकास चाहियो।’

उनको मात्रै होईन आम मतदाताकै चाहना अहिले देशको विकास नै रहेको देखिन्छ। चितवनकी सरस्वती पौडेलले आएका उम्मेदवारहरुलाई आफ्नो घर अगाडिको सडक देखाउँदै बाटो, खानेपानीको निर्माणसँगै विकासका काममा लाग्न अनुरोध गर्दै आएकी छन्। सडक देखाउँदै पौडेलले भनिन् 'यो बाटो बन्नुपर्‍यो, अब विकास चाहियो।’

अहिले मतदातालाई नमस्कार गर्दै नेताहरु चुनावी घरदैलोमा छन्। जितेर गएपछि फर्केर आउँदैनन्। यो भनाइ अहिले पनि दोहोर्‍याइरहेका छन् चितवनका मतदाताले। त्यसैले अब जितेर विकास ल्याउनुपर्ने अवश्यकता रहेको औल्याउँछिन्, देवमाया दाहाल पनि।

हुन त राजनीतिक उम्मेदवारहरुले अहिलेको चुनावी एजेण्डा ‘स्थायी शान्ति र देशको समृद्धि' बनाएका छन् । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये मुख्य प्रतिष्पर्धीमा देखिएको वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको चुनावी प्रतिबद्धता उस्तै उस्तै छ।

यहाँको क्षेत्र नम्बर तीनबाट वाम गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मेट्रोसिटी, प्रचण्ड रोजगार र आवास योजना, चितवन औद्योगिक नगरी, समृद्ध र सम्पन्न माडी, चितवन कृषि, शिक्षा र उत्पादनको केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, समृद्ध र विकसित चितवन, पर्यटकीय नगरीको लागि विशेष योजना, चितवनलाई मेडिकल राजधानी बनाइने, चितवनको विकास निर्माणको स्थायित्व लगायत विषय समेटेर चितवन विकासको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले पनि विकासलाई प्राथमिकता दिंदै पाँच वर्षमा सबै क्षेत्रको सडक कालोपत्रे गराइसक्ने, युवाहरुलाई स्वदेशमै रोजगार बनाइने, सुन्दर पर्यटकीय नगरी बनाउने लगायत योजना सहित चुनावी अभियानमा लागेका छन्।

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सांसद कृष्णभक्त पोखरेलसँग नेपाली कांग्रेसबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रतिस्पर्धामा छन्। यस्तै क्षेत्र नम्बर १ मा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटी प्रतिस्पर्धामा छन्।

उनीहरुका मुख्य चुनावी मुद्धा पनि बाटोबाटो, पुल पुलेसा, सडक निर्माण, उद्योगको विकास गर्दै आर्थिक समृद्धि लगायत छन्। यी बोलेका कुराहरु मात्रै व्यवहारमा लागु गर्ने हो भने मात्रै पनि देशको मुहार फेरिन सक्ने मतदाता बताउँछन्।

चितवनमा यसपाली कुल ३ लाख ५४ हजार ३६ मतदाता छन्। तीन निर्वाचन क्षेत्रमा ९ सिटका लागि ९५ जनाको उम्मेदवारी परेको छ। हरेक चोक चौतारोमा दलका नेता तथा कार्यकर्ताको सहभागिताले जिल्ला चुनाव मय भएको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.