|

बिर्तामोड : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने वामपन्थीको सरकारले झापाको बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिने बताएका छन्। शनिबार विर्तामोडमा बीएण्डसी अस्पतालले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा उनले अस्पतालले पूर्वाधार पूरा गरेकाले मेडिकल कलेज सञ्चालनको अनुमति दिने बताएका हुन्।

दुई महिनापछि मुलुकमा वामपन्थीहरुको सरकार बन्ने भन्दै नेता ओलीले त्यतिबेला मेडिकल कलेज सञ्चालनको फाइल लिएर आउन अस्पताल सञ्चालकलाई आग्रह गरे। 'दक्ष, प्रभावकारी, सफल मेडिकल कलेजको रुपमा विकास गर्नुस्। फाइल लिएर आउनुस् तपाईंको सपना २ महिनापछि विपनामा परिणत हुनेछ' उनले भने।

असहज परिस्थितिमा पनि यस्तो संरचनामा अस्पताल सञ्चालन गर्नु प्रशंसनीय रहेको भन्दै ओलीले आगामी सरकारले मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिने घोषणा गरे। 'पूर्वाञ्चलमा उल्लेख्य सुविधासम्पन्न हस्पिटल बनाएर सुविधा प्रदान गर्नुभएको छ। यो हस्पिटल सञ्चालन भएपछि सिलिगुडी, पश्चिम बङ्गाल, बंगलादेशबाट बिरामी उपचार गर्न सक्ने अवस्था बनेको छ' उनले भने 'यसलाई आगामी सरकारले मेडिकल शिक्षाको अनुमति दिन्छ। हाम्रो देशको विद्यार्थीले आफ्नै देशमा पढ्न पाउनुपर्छ। त्यसपछि मेडिकल शिक्षाका नाममा चुरिफुरी गर्ने एजेन्टहरुको मुख बन्द हुन्छन्।'

देशमै गुणस्तरीय स्वास्थ्य विशेषज्ञ तयार पार्नुपर्ने भन्दै उनले त्यसो गर्न नसकेमा विकासको गतिमा अगाडि बढ्न नसक्ने बताए। वामपन्थीको सरकार जनताप्रति उत्तरदायी हुने भन्दै ओलीले भने 'नाफाखोर मात्र होइन, गर्न सक्नेलाई सहयोग गर्ने, नसक्नेलाई योग्य बनाउने हाम्रो लक्ष्य हो।'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार आएलगत्तै बीएण्डसीलाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिने बताएका छन्। उनले केपी ओली र आफू भएको कारण नै संविधानसभा सफल भएको पनि दावी गरे। कार्यक्रममा बलियो कम्युनिस्ट केन्द्र बनाएर वामपन्थीहरुको स्थिर सरकार बनाउने बताए। 'कसलाई जिताउनुहुन्छ भन्ने आधारमा विकास विरोधी पाखा लाग्नेछन्। कम्युनिस्ट सरकारले बृद्धवृद्धा मार्छन् भन्ने कुरा मनमोहन कमरेडको सरकारले प्रष्ट पारिसकेको छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.