|

लहान : सिरहाको धनगढीमा बजार स्थापना र कुस्ती खेलप्रति नयाँ पुस्तालाई आकर्षित गर्न एक महिने कुस्ती प्रतियोगिता सुरु भएको छ। धनगढीमाई नगपालिका ११ थान चोकमा हरेक सोमबार र बिहीबार साप्ताहिक हटिया लगाउने गरी कात्तिकको अन्तिम सोमबारदेखि एक महिने कुस्ती प्रतियोगिता थालिएको थान चोक तदर्थ समितिका सचिव मन्दिप महतोले बताए। प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचार प्रसार र घरदैलो अभियानको चटारोमा रहेका राजनीतिक दलका उम्मेदवारहरु पनि प्रतियोगिता हेर्न आएका मतदाताहरुसँग भेटभाट र प्रतियोगी पहलमानहरुलाई हौस्याउन आउने गरेका छन्।

जिल्लाका पहलमानहरुको जमघट

तत्कालीन धनगढीमाई ११ थान चोकमा रहेको देवीस्थानको प्रचार प्रसार हुने र चोकको विकासका लागि हप्ताको दुई दिन हटिया लगाउन आयोजित कुस्ती प्रतियोगितामा जिल्लाका चर्चित कुस्ती खेलाडी (पहलमान) रामशंकर यादवदेखि आफ्नै गाउँमा नयाँ उमेरका युवाहरुलाई कुस्ती खेल सिकाइरहेका डोमी यादव र प्रशिक्षक राजवीर यादव लगायतको सहभागिता रहेको छ। कुस्तीमा सिरहा, सप्तरी, धनुषा सम्मका जिल्ला तहमा खेल्ने पहलमानहरुमध्ये कम्तीमा सात जोडीसम्मको हरेक सोमबार र बिहीबार कुस्ती प्रतियोगिता हुने जनाइएको छ।

स्नातक केन्द्रीय नेता पनि पहलमान

शारीरिक रुपले बलियो, आफूभन्दा डेढ गुणा बढी तौल भएका पहलमानलाई दाउपेच लगाएर अखडा (दङ्गल) मा चित खुवाउने पहलमानहरु सामान्यतया लेखपढ नभएका मात्र हुन्छन् भन्ने कुरालाई गलत सावित गरिदिएका छन्, सिरहाको सारश्वरका रकमशंकर यादवले। लहानस्थित जेएस मुरारका क्याम्पसबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक गरेका ३५ वर्षीय यादव राजपा नेपालको केन्द्रीय सदस्य समेत हुन्। त्यस्तै, नेपाली कांग्रेस सिरहाका अहिलेका जिल्ला सभापति तथा निवर्तमान सांसद रामचन्द्र यादवले पनि युवा विद्यार्थी कालमा आफूले जिल्लाका विभिन्न ठाउँको बजार लगाउन कुस्ती खेलेको सुनाउँछन्।

खान्कीको जोहो गर्न नै कठिन

माटोमै खेल्नुपर्ने भएकाले गुरुत्वाकर्षणको कारणले माटोको शक्ति शरीरमा प्रवेश गर्दा निरोगी हुने कुस्ती खेलमा दैनिक तीन हजार रुपैयाँसम्म खर्च हुने पौष्टिक भोजनको जोहो गर्न कठिन भईरहेको पहलमानहरु बताउँछन्। सिरहाको सुखीपुर नगरपालिका मोहनपुरका ५३ वर्षीय राजदेव यादव भन्छन् ‘दूध, माछा मासु, घ्यू, रोटी, भात, अण्डा, दही जस्ता पोषिलो खानेकुराले मात्र शरीरलाई उर्जा दिन्छ जसले विपक्षी जतिसुकै बलियो भए पनि पछार्न सकिन्छ।’ उनका अनुसार पोषिलो खानेकुराको जोहो गर्न नसक्ने पहलमानले खेल्न छोड्नुको विकल्प छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.