|

काठमाडौैं:  नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बालकृष्ण खाँड आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिचालन समिति संयोजक तोकिएका छन्। पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाका विश्वासिलो र भरपर्दो पात्रको रुपमा रहेका खाँड नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता दुई भातृ संस्थालाई कुशलतापूर्वक नेतृत्व प्रदान गरेका खरो र लडाकु स्वाभावका नेता हुन्। पूर्वरक्षा मन्त्री खाँडसँग शनिबार उनकै निवास बबरमहलमा लिलाराज खनालले गरेको कुराकानी :

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याउने दाबी के आधारमा गरेको छ?

२०६४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीहरुको बहुमत थियो, तर उहाँहरुले संविधान जारी गर्न सक्नुभएन। २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसलाई नेपाली जनताले जब ठूलो पार्टी बनाएपछि कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो। अब यो संविधानलाई सबै नेपाली समुदायबाट सर्वस्वीकार्य बनाउनु र कार्यान्वयन गर्नुछ।

जनताको लामो प्रयत्नबाट उनीहरुलाई मुलुकको मालिक बनाउने र मुलुकको सार्वभैमसत्ता नेपाली जनतामा निहित राखिएको यो संविधानको रक्षा र पालना गर्नुपर्ने चुनौती कांग्रेसको काँधमा छ। तसर्थः आममतदाताले लोकतन्त्रको रक्षा र राष्ट्रियताको सम्वर्द्धनका लागि निर्णय गर्नेछन्।

अब मेलमिलाप र एकताबाट मुलुकमा शान्ति स्थापना गर्ने र समृद्धिको दिशामा नेपाली जनतालाई पुर्‍याएर जनताका इच्छा र आकांक्षा पूरा गर्ने क्षमता कांग्रेसमा मात्र भएकोले यही आधारमा कांग्रेसले बहुमत ल्याउँछ।

स्थानीय तह निर्वाचनको मतलाई हेरेर नेकपा एमाले र माओवादी केन्द्रले दुई तिहाई स्थानमा विजयी हुन्छौं भनिरहेको बेला कांग्रेसले कसरी बहुमत ल्याउला र?

संविधानसभाको निर्वाचन २०६४ मा माओवादी केन्द्र सबैभन्दा ठूलो दल थियो तर २०७० को निर्वाचनमा तेस्रो दलको हैसियतमा झर्‍यो। लोकतन्त्र र संसदीय प्रणालीलाई स्वीकार गर्दा नै एमालेलाई जनताले मत दिएका हुन्। तर पछिल्लो चरणमा आएर दुवै दलका नेताहरुले हामी यो संविधानलाई बदल्छौं र आफू अनुकुल परिवर्तन गर्छौं भन्दै हिँडेका छन्।

५० वर्षसम्म नेपालमा कम्युनिष्ट शासन गर्छौं भनेर उहाँहरुले भाषण गर्नुभयो। उहाँहरुले कम्युनिष्ट गठबन्धन गरेर संसारभरी नै थुप्रै हिसाबले असान्दर्भिक भइसकेको कम्युनिष्ट र मार्क्सवादी विचारलाई प्रयोगशालाको रुपमा नेपाल देशलाई आगाडि बढाउँछौं भन्नु उपयुक्त छैन।

नेपालमा राजनीतिक क्रान्ति धेरै हदसम्म अघि बढिसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ। तसर्थ आगामी निर्वाचनमा गणतन्त्र र संघीयता पक्षधर लोकतान्त्रिक समाजवादी पार्टीलाई अघि बढाउन जनता तयार छन्। कम्युनिष्ट सर्वसत्तावादलाई नेपाली जनताले अस्वीकार गरिसकेका छन्।

एमाले र माओवादीका नेताहरुको जुन खालको उद्घोष छ, त्यसकै कारणले पनि अहिलेको जनमत झनै लोकतान्त्रिक शक्तिको पक्षमा बढेर आएको छ।
जहिले जहिले मुलुकमा संकट हन्छ, त्यसबेला कांग्रेस चाहिन्छ। कांग्रेसले जहिले पनि जोखिम लिन्छ, नेपाली जनताको लागि।

मुलुकको राष्ट्रियता, विकास र राष्ट्रिय एकताका लागि देशमा अहिले जसरी कम्युष्निष्टहरु आउने खतरा देखियो, त्यसरी नै नेपालीको जनमत कांग्रेसमा पक्षमा बढ्दै गएको छ। यही नै कांग्रेसले बहुमत ल्याउने आधार हो।

एमाले र माओवादीले गठबन्धन बनाएपछि चुनाव हारिन्छ भन्ने डरले कांग्रेस डराएर कम्युनिष्ट व्यवस्था नै ल्याउन लागे भनेर आरोप लगायो भनिन्छ नि?

जुन मान्छेको आफ्नो स्वास्थ्यको ठेगान छैन। जसको स्वास्थ्य उपचारको लागि नेपाल सरकारले एउटा मेडिकल कलेज बनाउने, एउटा हस्पिटल बनाउने वा दर्जनौं पुल बनाउने भन्दा बढी खर्च गरिरहेको छ। विदेशबाट औषधी ल्याएर आफ्नो जीवनको रक्षा गरिरहनु भएको छ, त्यस्तो व्यक्तिले कांग्रेसमाथि यस्तो तुच्छ शब्द प्रयोग गर्न मिल्छ?

यो हामीले भनेको कहाँ हो र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै भन्नुभएको छ, ‘म यो संविधान बदल्छु, व्यवस्था बदल्छु’ भनेर। माओवादी अध्यक्ष पुष्पकमल दाहालले अस्ति गोरखामा गएर नै भन्नुभयो त ‘अब हामीले ५० वर्षसम्म शासन गर्ने हो’ भनेर। कम्युनिष्ट शासन व्यवस्था  स्थापित गर्न सके आफूपछि उहाँको छोरा नातिलाई सत्ता हस्तान्तरण गर्ने योजना होला नि। यो हामीले भनेको होइन, उहाँहरुले नै भनेको हो।

ओलीजीले कांग्रेसका कार्यकर्तालाई ‘समवेदना’ जस्तो एकदमै तल्लोस्तरको अभिव्यक्ति दिनुभयो, एउटा कार्यकर्ताले पनि पचाउन नसक्ने कुरा। किनभने उहाँहरु एकदमै अत्तालिएर, आत्तिएर बोल्न थाल्नुभएको छ। हामीले सबै राजनीतिक दललाई सम्मान गर्छौं। कुनै पनि दल सिद्धिन्छ भने, त्यसको सान्दर्भिकता जनताले निर्धारण गर्छ।

दलको सान्दर्भिकता भनेको त्यो दलको नीति, नेतृत्व र दृष्टिकोणले विस्तारै बृद्धि भएर पनि जान सक्छ वा स्खलित भएर जान पनि सक्छ। कांग्रेस प्रजातान्त्रिक समाजवादी पार्टी भएकाले मुलुकभित्र मात्रै होइन कि संसारभरी प्रजातान्त्रिक समाजवादी विचारको विस्तार भइरहेको छ।

एकातिर सामाजिक सुरक्षा र जनताको अधिकार, अर्कोतिर आर्थिक समृद्धि, जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, राष्ट्रियता र प्रजातन्त्र र समाजवादले मात्रै अहिले प्रजातन्त्रलाई आगाडि बढाउन सकिन्छ।

संसारभरी नै प्रजातन्त्रको लहर चलिरहेको छ। जबसम्म नेपाल रहन्छ तबसम्म लोकतन्त्र रहन्छ। जबसम्म नेपालमा लोकतन्त्र रहन्छ, तबसम्म नेपाली कांग्रेस रहन्छ। कांग्रेस एकातिर स्वतन्त्रता चाहन्छ भने अर्कोतिर समानता पनि चाहन्छ।

कांग्रेसलाई एमालेको अध्यक्ष केपी ओलीले समवेदन दिन्छु भन्नु यो नेपाली कांग्रेसका लागि मात्र होइन, यो त मुलुकका नागरिकमाथिको अपमान हो। यो समस्त लोकतन्त्रवादीमाथिको गम्भीर लाञ्छना हो। जसको स्वास्थ्य उपचारको लागि नेपाल सरकारले एउटा मेडिकल कलेज बनाउने, एउटा हस्पिटल बनाउने वा दर्जनौं पुल बनाउने भन्दा बढी खर्च गरिरहेको छ। विदेशबाट औषधी ल्याएर आफ्नो जीवनको रक्षा गरिरहनुभएको छ, त्यस्तो व्यक्तिले कांग्रेसमाथि यस्तो तुच्छ शब्द प्रयोग गर्न मिल्छ?

निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ र प्रतिपक्षी दलका उम्मेदवारमाथि आक्रमणका घटना बढिरहेका छन्। यसलाई सत्तारुढ दलको नेताको हैसियतले कसरी लिनु भएको छ?

विप्लवको नाममा पुराना माओवादीहरुले नैं बम पड्काई रहेकाछन्, चुनाव विथोल्नको लागि भन्ने रिपोर्टहरु आएका छन्। किनकी चुनावमा उहाँहरुले सोचेजस्तो अंकगणितले दुईटा पार्टी मिल्ने बित्तिकै सहजै जनताले उहाँका उम्मेदवारलाई विजयी गराउने अवस्था देखिदैन।

पछिल्ला दिनमा शान्ति सुरक्षामाथि पनि चुनौती थपिएकै छ। विप्लवको नाममा पुराना माओवादीहरुले नै बम पड्काइरहेका छन्, चुनाव विथोल्नको लागि भन्ने रिपोर्टहरु आएका छन्। किनकी चुनावमा उहाँहरुले सोचेजस्तो अंकगणितले दुईवटा पार्टी मिल्नेबित्तिकै सहजै जनताले उहाँका उम्मेदवारलाई विजयी गराउने अवस्था देखिदैन।

पार्टीका सबै कार्यकर्ता त होइनन् देशका जनता र मतदाताहरु, उहाँहरुको स्वतन्त्र अभिव्यक्ति दिने र मतको प्रयोग गर्ने अधिकार छ। जनमत सँधै एउटै हुन्छ भन्ने पनि छैन। देश र जनताको परिस्थिति अनुसार मतदाताले आफ्नो अधिकार प्रयोग गर्ने हो। यसरी जनमत चाहिँ वामपन्थीहरु तर्फ नजाने स्थिति देखेपछि उहाँहरु चुनाव विथोल्ने खेलमा लाग्नुभएको छ।

विप्लव व्यापक रुपमा हुँदै नभएको नेपालमा विप्लवको नाममा पुराना माओवादी वा माओवादी केन्द्रका पुराना कार्यकर्ताहरुले यस्तो खालको घटना गराएर चुनावलाई विथोल्ने र जनतालाई भयभीत गर्ने खालको र जनमत बिथोल्ने खालको काम गरेका छन्। 

सबैभन्दा पहिले मतदाताको अनि उम्मेदवार र निर्वाचनमा खटिएर जाने कर्मचारीको सुरक्षा गर्न सरकार तयार छ र त्यसतर्फ हाम्रो ध्यान गएको छ। हाम्रा पार्टीका देशभरका कार्यकर्ताहरु जनता र मतदाताको सुरक्षाको लागि अघि बढ्नुहुनेछ।

सत्तारुढ दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरे भन्ने आरोपलाई कसरी लिनुभएको छ?

होइन, उम्मेदवारहरुलाई जनताको घरदैलोमा जाने त अधिकारै छ। उम्मेदवारले आमसभा गर्ने अधिकार छ। चुनाव प्रचार प्रसार गर्ने नै छ। चुनावी घोषणापत्रहरु हामीले हरेक निर्वाचन क्षेत्रमा पठाएका छौं। आचारसंहिता उलंघन गर्ने काम नेपाली कांग्रेसले कहिँ पनि गरेको छैन।

कांग्रेस लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकोले संविधानको मुल्य मान्यता अनुसार नै आफ्नो भूमिका निभाउँछ। निर्वाचन स्वतन्त्र र स्वच्छ ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई हामीले सहयोग गरिरहेका छौं।

आगामी निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनबीच राजनीतिक ध्रुवीकरण देखिएको छ, यस्तो अवस्थामा लोकतान्त्रिक गठबन्धनले कस्तो परिणाम वा कति सिट जित्ला?

कांग्रेसले समानुपातिक र प्रत्यक्ष गरेर बहुमत ल्याउँछ भन्ने हाम्रो आंकलन छ। त्यसमध्ये पनि कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले केही सिट बढाउँदा सजिलै बहुमत पुग्छ भन्नेमा हामी विश्वस्त छौं।

कांग्रेसले मात्र कति सिटमा विजयी हुने अनुमान छ?

समानुपातिकतर्फ कांग्रेसले ४२ प्रतिशत सिट ल्याउँछ। किनभने हामीसँग विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि मिलेको छ। लोकतान्त्रिक गबठन्धनकै कारण केही सिट बढ्छ। यस हिसाबले ४२ प्रतिशत भन्दा माथि आउँछ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष र नयाँशक्ति पार्टीका अध्यक्षलाई एक/एक सिट छोडेकोले बाँकी ३५ वटा प्रतिनिधिसभातर्फको निर्वाचनमा हामी एक्लैले बहुमत ल्याउँछौं।

कांग्रेसले बहुमत ल्याए त सरकारको नेतृत्व कसले लिने हो? अहिले नै कसैलाई अघि सार्ने हो वा पछि निर्णय गर्छ?

कांग्रेसको वैधानिक व्यवस्थापन र परम्परा के छ भने प्रतिनिधिसभामा जितेर आएका सदस्यहरुको संसदीय दल गठन हुने र दलले नेताको चयन गर्नेछ। कांग्रेसले सरकारमा सहभागी हुने वा सरकारको नेतृत्व गर्ने विषयमा केन्द्रीय कार्य समितिले पनि निर्णय गर्नेछ।

यसरी कांग्रेस संसदीय दल र केन्द्रीय कार्य समितिले प्रधानमन्त्रीको रुपमा कसलाई चयन गर्ने हो भन्ने कुरा संस्थागत ढंगले नै निर्णय हुन्छ। कांग्रेसले निर्वाचनपछिको भावी प्रधानमन्त्री फलानो भनेर टुंगो लगाइसकेको छैन।

प्रधानमन्त्रीमा कांग्रेसभित्रै एक भन्दा बढी नेताहरु आकांक्षीहरु धेरै देखिन्छन् नि कसरी व्यवस्थापन गर्नुहुन्छ?

हेर्नुस् कांग्रेसजस्तो पार्टीमा पाँच, छ पुस्तादेखि क्रियाशील साथीहरु हुनुहुन्छ। २००७ साल, ३६ साल, ४६ साल र पछिल्लो ०६२/०६३ को आन्दोलनमा सक्रिय नयाँपुस्ता पनि कांग्रेसमै भएकोले त्यस्ता साथीहरुले इच्छा आकांक्षी राख्नु स्वभाविक नै हो।

कसैले पनि म सरकारको नेतृत्व गर्दिन भन्यो भने पो चिन्ता हो। सबै साथीहरुले म नेतृत्व गर्छु, पार्टी चलाउँछु भन्दा के बिग्रियो? मसँग अनुभव छ, मसँग यो खालको ल्याकत र क्षमता छ भन्नु त यो स्वागतयोग्य कुरा नै हो, यसमा हामीले आपत्ति जनाइराख्नु पर्ने कारण नै छैन।

चुनावको दौरानमा पार्टीभित्र देखिएका मतभेद र मतान्तरलाई संवोधन गरिसक्नुभयो कि बाँकी छ?

उम्मेदवारी चयनका क्रममा केही साथीहरुको असन्तुष्टि पनि रह्यो। तर धेरैजसो साथीहरुले पार्टीले गरेको निर्णयलाई स्वीकार्दै आफ्नो उम्मेदवारी फिर्ता पनि लिइसक्नुभएको छ। प्राविधिक रुपमा फिर्ता लिइ नसक्नुभएका साथीहरुले मौखिक रुपमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धता व्यक्त गरिसक्नुभएको छ।

निर्वाचन सम्पन्न भएपछि हामीले छुट्नु भएका जेन्युन साथीहरुलाई कहीँ न कहीं भूमिका दिनेछौं। पार्टीबाहिर रहेर काम गरेका साथीहरुलाई पनि के भूमिका दिने भनेर हामी छलफल गर्नेछौं। सबै साथीहरुलाई समेट्ने र प्रोत्साहित गर्ने पक्षमा छौं ।

सुशील कोइराला नेतृत्वमा पार्टी सञ्चालन, व्यवस्थापन र एजेण्डालाई अहिलेको नेतृत्वले अघि बढाउन नसकेको हो?

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको पहिलो निर्वाचन सम्पन्न गर्‍यो।  पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो। अहिले सभापति शेरबहादुर देउवाले त्यही संविधानलाई कार्यान्वयन गर्न र संविधानको स्वीकार्यताको दायरा बढाउने भूमिका खेल्नुभएको छ।

अहिले सभापति देउवाकै सक्रियतामा असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराउने भूूमिका खेल्नुभयो। पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा भाग नलिएका मधेसवादी दललाई पार्टी सभापति देउवा प्रधानमन्त्री भएपछि स्थानीय तहको तेस्रो चरणवको चुनावमा सहभागी हुनुभयो।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सभापतिज्यूले नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि निर्णय गरेर हामी निर्वाचनमा होमिएका छौं। यी सबै कार्य विगतमा हाम्रा पार्टी सभापतिहरुले अघि सारेका कामलाई नै अहिलेको पार्टी सभापतिले निरन्तरता दिनुभएको छ।

सभापति देउवा हरेक समुदायको पहिचान र सम्मान दिन तयार हुनुहुन्छ। एउटा अवस्थाबाट अर्को अवस्थामा जान धेरै अप्ठ्याराहरु छन् तर हामी गतिशील छौं, मुलुकलाई अघि बढाउन धेरै चुनौतीको सामना गर्न तयार छौं। हामीले धेरै काम गरेका छौं तर प्रचार गर्नमा धेरैपछि छौं, यो हाम्रो कमजोरी पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.