|

काठमाडौं: ललितपुर पाटनका उत्तम डंगोल (४०) शनिबार भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मैथिली समुदायको संस्कृति झल्कने चित्र कोरिरहेका थिए। मिथिला अञ्चलमा मैथिली समुदायले छठ पर्वका बेलामा सूर्य देवतालाई गर्ने पूजा झल्कने गरी उनी चित्र बनाउँदै थिए। चित्रमा मैथिली महिलाहरूले सूर्य देवतालाई पूजा गरिरहेको प्रष्ट झल्कन्थ्यो।

लोक्ताबाट बनेको नेपाली कागजमा आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वलाई देखाएका छन् उनले। उनले बनाएको चित्रमा ब्रतालु महिलाले तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पक्वानसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेको देखाइएको छ। यो चित्र मिथिला अञ्चलमा प्रत्येक घरको भित्तामा देखिन्छ। यो चित्र बनाउन डंगोलले माटो, गाईको गोबर र माछाबाट निक्लने चिप्लो पदार्थ प्रयोग गरेका छन्।

उनी भन्छन्, ‘मैले मिथिला अञ्चलमा गएर धेरै अनुसन्धान र अवलोकन गरेँ। त्यही आधारमा चित्र कोर्दै छु।’ नेपाल हस्तकला महासंघले आयोजना गरेको १३औँ हस्तकला प्रतियोगितामा चित्र कोर्दै गरेका उनले आफू नेवारी समुदायको भए पनि सबै धर्मका बारेमा जानकारी लिन मैथिली समुदायका बारेमा अनुसन्धान गरेर यो चित्र बनाएको बताए।

‘धेरैजसो कला संस्कृतिहरू लोप हुँदै गएका छन्। यहाँसम्म आइपुग्ने पहुँच नहुँदा यो चित्रकला पनि लोप हुने अवस्थामा थियो’, उनले भने, ‘हाम्रो नेवार समुदायको केन्द्रमा भएर होला धेरै साथीहरूले बनाउनुहुन्छ भनेर मैले यो चित्र बनाएको हुँ।’ हस्तकलाबाट पनि सहजै रूपमा जीविकोपार्जन गर्न सकिने उनको अनुभव छ। ‘मैले १० वर्षको उमेरदेखि यो व्यवसया अँगालेको छु। त्रिभुवन विश्वविद्यालयमा आर्ट नै पढाउँछु पनि। यहाँबाट पनि राम्रै कमाइ गर्न सकिन्छ।’

आफूले बनाएका चित्रहरू विदेशी पर्यटकले धेरै किन्ने गरेको उनी बताउँछन्। डंगोल भन्छन्, ‘मैले बनाएका धेरै चित्रहरू विदेशी पर्यटकहरूले लाने गरेका छन्। अहिले त घरमा सजाउन नेपालीहरूले पनि किन्न थालेका छन्।’

कञ्चनपुर बेलौरीबाट आएका १८ वर्षका थारू युवा नरेन्द्र राना पनि आफ्नो संस्कृति झल्कने चित्र कोरिरहेका थिए। आफ्नो समुदायमा हुने घर, आफ्ना समुदायका मानिसले लगाउने पोशाक तथा राना जातिको दैनिकी कसरी चलिरहेको हुन्छ भन्ने उनको चित्रमा प्रष्ट देखिन्थ्यो। उनी भन्छन्, ‘मेरो चित्रमा राना थारूलाई कसरी चिन्ने भन्ने उल्लेख छ। हाम्रा समुदायका पुरुषले लगाउने झाँगिया, फेटा, उनिया र महिलाले लगाउने घाँगरिया उनिया, नकवेसर, हारलगायतका पहिचान झल्कने पहिरनलाई मैले चित्रमा उतार्न खोजेको छु।’  

गाउँमा अवसर नआउने भएकाले आफ्नो चित्र कोर्ने कला हुँदाहुँदै पनि पछि पर्नुपरेको उनी बताउँछन्। भन्छन्, ‘चित्र बनाउन त आउँछ तर गाउँमा अवसर नै पाइँदैन। यहाँ पनि दिदी काठमाडौं बस्नुहुन्थ्यो, उहाँले भनेर आएको हो। नभए त स्कुलमा हुने चित्रकला प्रतियोगितामा मात्र भाग लिने गरेको थिएँ।’ 

आफ्नो समुदायको विकासमा चित्रकलाबाट पनि केही गर्न सकिने उनको भनाइ छ। ‘हाम्रो समुदायको आफ्नै संस्कृति छ। हाम्रो समुदायको पहिचान झल्कने पहिरन अहिले लोप हुने अवस्थामा छ। म कलाको माध्यमबाट हाम्रो पहिचालाई विश्व सामु चिनाउँछु’, रानाले भने। 

प्रतियोगितामा आफ्नो संस्कृति झल्कने ‘लुखा ढुवाँ’ कोर्दै थिइन्, ललितपुरकी सरिता चित्रकार। विवाहको बेलामा पाहुनालाई स्वागत गर्न लगाइने यो ‘लुखा ढुवाँ’मा भगवान गौतम बुद्धको चित्रसहित आँखा, दियो, कलशको चित्र हुने उनी बताउँछिन्। आफ्नो समुदायमा हरेक पर्वमा चित्रको महत्त्व धेरै हुने उनको भनाइ छ। ‘चित्रकला पनि अहिले धेरै व्यावसायिक भएको छ। हरेक पर्वमा यसको महत्त्व छ। हामीले कोरेका चित्रहरू अहिले सबै समुदायले लान्छन्', उनी भन्छिन्,  'पर्वहरू पनि धेरै आउँछन्। त्यसकारण आर्थिक रूपमा पनि हामीलाई धेरै सहयोग मिलेको छ। महिनामा एक लाखसम्म कमाउन सकिन्छ।’

पछिल्लो समय युवा पुस्ताले संस्कृति बिर्सदै गएकाले आफू आफ्नो समुदायको संस्कृतिलाई कलामार्फत संरक्षण गर्न लागेको ललितपुरका २३ वर्षका सजन शाक्य बताउँछन्। ‘हाम्रो कला संस्कृतिको संरक्षण गर्न पनि यो आर्ट गर्न लागेको हुँ। पाँच वर्ष भयो यसरी नै आर्ट गरेको', उनी भन्छन्, 'म सधैँ आफ्नै कलासंस्कृति झल्कने आर्टहरू बनाउँछु।’ चित्रकलाबाट पनि जीविकोपार्जन गर्न सकिने गरी आम्दानी हुने उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.