|

भद्रपुर (झापा) : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब वामपन्थीको नेतृत्वमा स्थायी सरकार बन्ने दावी गरेका छन्।

झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलद्वारा आयोजित पाँच दिने पूर्वाञ्चल स्वास्थ्य महोत्वसको उद्घाटनमा आएका उनीहरुले आउँदो सरकार वामपन्थीको नेतृत्वमा बन्ने दावी गरेका हुन्।

वाम गठबन्धन भएपछि पहिलो पटक झापामा आएका दुवै पार्टीका अध्यक्षलाई बीएण्डसीका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले एउटै माला लगाएर झापामा स्वागत गरेका थिए। स्वागत पश्चात उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले दुई महिनाभित्र एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने दावी गरे। चुनाव नजिकिएकोले अहिले चुनावी तालमेल मात्र गरेर अघि बढेको प्रस्टाउँदै  उनले भने ‘अहिले वाम पार्टीबीच भएको चुनावी तालमेलले नै विरोधी पार्टीमा भुइँचालो गएको छ, कम्प्युनिष्टले सिध्याउँछ भनेर आतिएका छन्, दुई महिनापछि पार्टी एकता भएपछि विरोधी पार्टीहरुले के गर्लान्?’

वाम एकीकरण रहर र लहरले गर्न नखोजेको औल्याउँदै ओलीले भने, ‘देश बनाउने संकल्प र हाम्रो काधको अभिभारा पूरा गर्न एकीकरण भएको हो।’ आगामी सरकार कसको बन्ला भनेर भनिरहनु नपर्ने भन्दै ओलीले जनताको आकाक्ष पूरा गर्न एमाले र माओवादी केन्द्र एक भएर अघि बढेको बताए।

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले चुनावपछि देशमा जनताको पक्षमा बलियो सरकार बन्ने बताएका छन्। उनले भने, ‘देशमा स्थिर र बलियो सरकार नहुँदा राष्ट्र र जनताको पक्षमा गर्न चाहेका काम पनि गर्न नसकिएको तितो यथार्थ र सत्य हामी माझ छ, त्यसैले वाम गठबन्धनको कम्युनिष्ट सरकार बनेपछि देशकमा विकासले गति लिनेछ।'

चुनावको मत परिणाम आएपछि विरोधीहरु पाखा लाग्ने भन्दै उनले  विकास र राष्ट्रको पक्षमा काम गर्नेहरु अगाडि आउने बताए। 'प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई बदनामसँगै झुटो आरोप लगाउने परम्परा नै छ', उनले वृद्धवृद्धालाई संबोधन गर्दै भने, '६० बर्ष पुगेपछि वृद्धवद्धालाई कम्युनिष्टले मार्छन् भनेर गलत प्रचार पनि गरियो, तर मनमोहन अधिकारीको पालामा वृद्धवृद्धालाई वृद्धभत्ता दिने निति ल्याएपछि प्रतिक्रियावादीले कम्युनिष्ट माथि लगाएको आरोप कति भुटो भनेर प्रमाणित गरिदियो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.