|

अहिले देशका विभिन्न ठाउँमा उम्मेदवार र चुनावी सभालाई लक्षित गरी बम विस्फोटका घटना भएका छन्। कतिपय ठाउँमा सर्वसाधारण घाइते पनि भएका छन्। सरकारले घटनामा संलग्नता र चुनाव विरोधी गतिविधि गरेको आशंकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ गरेको छ। के चुनावको विरोध गरिरहेको विप्लवको पार्टीले नै गराइरहेको छ यी घटना? यसै सन्दर्भमा नेकपाका पोलिट्ब्युरो सदस्य भरत बमसँग रेडियो थाहासञ्चारका दीपेन्द्र कुँवरले गरेको कुराकानी :

देशभर बम विस्फोटका घटना भएका छन्। तपार्इहरुका कार्यकर्ता पनि गिरफ्तार भएका छन्। ठाउँ-ठाउँमा चुनावीसभामा आक्रमण भएको छ। यी घटनाहरुमा तपार्इको पार्टीको हात छ कि छैन?

तपाईले प्रश्न सोधेजस्तै राज्यले पनि यही भनिरहेको छ। तर हामीले उत्तर दिने कुरा के हो भने जनतामाथि राष्ट्रले चुनाव, संविधान, दलाल संसदीय ब्यवस्था जबरजस्त लाद्यो, त्यसको प्रतिरोधमा जनताहरु छन्। अहिलेको लिडरसिपसँग जनता सन्तुष्ट छैनन्। हाम्रा कार्यकर्ता पनि सन्तुष्ट छैनन् भन्ने कुरा जगजाहेर छ र यो लादिएको चुनावको विपक्षमा हाम्रो पार्टी छ। यो कुरालाई नजरअन्दाज गरेर  राज्यले बन्दुकको बलमा जबर्जस्ती निर्वाचन गर्ने र जनतालाई दमन गर्ने नीति लिएको छ। त्यसैले यी (बम विस्फोटका) घटनाहरुलाई स्वभाविक मान्नुपर्छ।

उसो भए यो विस्फोटका घटना, गोलीका घटनाहरु चाहिँ चुनावको प्रतिरोधस्वरुप तपाईहरु कै तर्फबाट भएको हो?

जनताले चुनाव चाहेका छैनन्। जनतामाथि जबर्जस्त लादिएको छ। जनताले आफ्नो असन्तुष्टिलाई विभिन्न ढंगबाट ब्यक्त गरिरहेका छन्। जुनसुकै रुपमा पनि जनताको विरोध ब्यक्त हुँदा पनि त्यसको नेतृत्व चाहिँ नीतिगत ढंगबाट हाम्रो पार्टीले लिएको कुरा त स्पष्ट नै छ नि। 

लुकेर प्रहार गर्ने, जिम्मेवारी नलिने भनेर राजनीतिक दलका नेताहरुले तपाईहरुलाई किन यसो गरेको भनेर प्रश्न गर्नुभएको छ। यी घटनाहरु जनताले गरे भन्ने अनि फेरि राजनीतिक रुपमा हामी नै हो भन्ने, तर जिम्मेवारी नलिने देखियो। भोलि कुनै अपराधिक समूहले अपराध गर्‍यो भने त्यसको जिम्मा कसले लिन्छ? 

जिम्मा त राज्यले लिनुपर्‍यो नि। देशमा के-के अन्तरविरोध छन्, समस्या छन्। जनताका मागहरु के छन्, जनताका समस्याहरु के छन्? यसलाई कसरी हल गर्न सकिन्छ भनेर त राज्य जिम्मेवारी हुनुपर्छ नि। राज्यले जबर्जस्ती गर्दा आउने  परिणाममा त राज्य जवाफदेही हुनुपर्छ।

अनि गतिविधि पनि त तपाईहरुले त्यस्तै गर्नु भएको छ नि?

हामीले त भनिरहेका छौं कि यो चुनाव चाहिँ देशको पक्षामा छैन, जनताको पक्षमा छैन। अहिलेको संविधानले संस्थागत गर्न खोजेको दलाल पूँजीवादी ब्यवस्था राष्ट्रको पक्षमा छैन भनेर हामी त निरन्तर भनिरहेका छौं। हाम्रो यो वैचारिक कुरा, राजनीतिक कुरालाई बमको रुपमा परिभाषित गरिदिनुभएन। जब जनताको आवाज बेवास्ता गर्दै शासकहरु अगाडि बढ्छन्, त्यसपछि त त्यहाँ नचिताएकै घटनाहरु हुन्छन् नि। यी त अहिले सामान्य एउटा सांकेतिक कुरा मात्र हुन्। त्यसरी बुझ्नुपर्‍यो। 

भनेपछि चुनाव जति नजिकिन्छ त्यति यस्ता घटना हुन्छन्?

चुनावको कुरा मात्र होइन, यो चुनाव त आउँछ जान्छ। तर राज्यले जसरी शान्ति, स्थायित्व विकास समृद्धिको नारा दिइरहेको छ, त्यो हुने आधार छ कि छैन? त्यो हुने संविधान छ कि छैन? वास्तविक समाजको अन्तरविरोध राज्यले हल गरेको छ कि छैन? कुन राज्य ब्यवस्था आयो भन्ने कुरा महत्वपूर्ण कुरा हो नि त। त्यसकारणले गर्दा जनताको मुक्ति, स्वतन्त्रता, जनताको अधिकार सुनिश्चित गर्ने राज्य ब्यवस्था नै आएको छैन। यहाँ त राजनीति एउटा ब्यवसायमा परिणत भएको छ। सबै परिवर्तनका एजेण्डाको ब्यापार गरेर हिँडिरहेका छन्, अहिलेका संसदीय पार्टीहरु। कमिसन कति लिने?, अहिले बुढीगण्डकी केस भर्खर आएको छ। देशलाई बिक्री गर्ने, जनतालाई बिक्री गर्ने र कमिसनमा बाड्ँने सरकार छ भने त्यो सरकारले चुनाव गरे पनि नगरे पनि त्यो सरकारको विरुद्धमा त जनता उभिनैपर्छ नि। 

तर जनता पनि चुनावको पक्षमा देखिएको पनि त सत्य हो नि होइन?

हो त्यही भएर विभाजित भइयो। नेपाली जनतालाई विभाजित गरियो। एकातिर दलाल राज्यले बाध्य पारेर चुनावमा भाग लिन पनि जनतालाई बाध्य परियो र अर्कातिर त्यसको विरोध गर्ने जनता पनि त छन् नि नेपालमा।

तर यो घटनाले त तपाईंहरु हिंसात्मक युद्धको तयारीमा हुनुहुन्छ भनेर पनि त संकेत गर्छ भनेर भन्न सक्ने भइयो नि त? 

हिंसाको जननी भनेको राज्य सत्ता हो। 

भोजपुरमा शेरधन राई प्रति आक्रमण भयो। रोल्पामा वर्षमान पुन र अमरसिंह पुनमाथि र रुकुममा जनार्दन शर्मामाथि आक्रमण भयो, गोरखामा नारायणकाजीलाई भयो। बागलुङमा पनि भयो। यी हिंसात्मक घटना होइनन्?

राज्यको कारणले यी निम्तिएका छन्। दलाल पूँजीवाद संस्थागत गर्ने चुनाव भएकाले यसको विरुद्धमा हामी छौं र हामीले दलाल र भ्रष्ट्र प्रवृत्ति र पात्र नेपाली जनताका दुश्मन हुन् भनेर भनेका छौं। चुनाव खारेज र बहिस्कार गर्ने नीतिमा हामी अगाडि बढेका छौं। कहाँ कसरी र कसलाई घटनामा पर्छ भन्ने त सञ्जोगको कुरा भयो नि। 

अझै यी घटनाहरु बढ्छन् ?

चुनाव जबरजस्ती लादिरहेको छ। चुनाव मार्फत विदेशीको दलाली गर्ने दलाल राज्यले लादिरहेको छ भने। जनता प्रतिरोधमा निरन्तर उत्रन्छ। 

भोलि मानवीय क्षति भयो भने त्यसको जिम्मेवारी लिनुहुन्छ? किनकी तपाईंहरुले चुनावीसभा नजिक पनि तर्साउने गरी विस्फोट गराउनुभएको छ?

होइन राज्य जवाफदेही र जिम्मेवार हुनुपर्‍यो। राज्य यो विषयमा गम्भीर हुनपर्‍यो नि। 

तपाईंहरु चाहिँ मानवीय जीवनप्रति संवेदनशील हुनुहुन्छ कि हुन्न भन्ने मेरो प्रश्न हो?

राज्यले सुनेन, राज्यले जबर्जस्ती गर्‍यो भने त राज्यको कारणले क्षति हुन्छ नि। राज्यको कारणले घटना हुन्छ नि। 

के तपाईंहरु युद्धको तयारीमा हो उसो भए?

युद्धमा त राज्य गइरहेको छ।  केपी ओलीले केटाकेटी भाइ भनेर अराजनीतिक अभिब्यक्ति दिए। युद्धको बाटोमा राज्य गएको छ। हामी युद्धको विकल्पमा क्रान्ति अघि सारिरहेका छौं। किनकी नेपालमा अधुरो क्रान्ति छ। 

त्यो क्रान्ति भनेको हिंसाको बलमा हिंसात्मक हो?

होइन। त्यो त राज्यको नीतिमा निर्भर गर्छ। जनतासँग कहाँ बन्दुक छन् भन्या? 

अहिले पनि गोली चलेको छ। बम विस्फोट भएको छ। त्यो हिंसा होइन त?

होइन। त्यो त प्रतिवाद गर्न त बाध्य भइन्छ। नेपालमा पनि प्रतिरोध विगतमा सशक्त ढ‌ंगले गरेको इतिहास जगजाहेर छ। यो कुराबाट पाठ सिक्न पर्‍यो नि त शासकहरुले। 

उसो भए विगतको अनुभव राम्रै प्रयोग गरिरहनुभएको छ?

विगतको अनुभवबाट राज्यले सिकिरहेको छैन। राजनीतिक मुद्दा अघि बढाएपछि राजनीतिक ढंगले हल नगरी दमन गर्ने नीति ल्याएको छ। यसले भयावह स्थिति ल्याउन सक्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.