|

भद्रपुर (झापा) : विभागीय टिम नेपाल आर्मी झापाको शिवसताक्षी जारी दोस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा अर्को विभागीय टिम एपीएफलाई ३-२ ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीले फाइनल प्रवेशका लागि चिर परिचित प्रतिद्वन्द्वी रमपम झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ।

शनिबारको खेलमा अग्रता भने एपीएफले २५ औं मिनेटमा पेनाल्टीमार्फत लिएको थियो। एपीएफका अन्जन विष्टले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएको ७ मिनेटमै आर्मीका जर्जपिन्स कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। कार्कीले फ्रिकिकमार्फत गोल गरेका थिए। खेलको ३९ औं मिनेटमा पुन एपीएफका श्याम नेपालीले गोल गर्दै टिमलाई पहिलो हाफसम्म २-१ को अग्रतामा राखे। दोस्रो हाफको सुरुदेखि नै आर्मीले बलमाथि नियन्त्रण राख्दै ५५ औं मिनेटमा खेललाई बराबरीमा ल्यायो।

उसका जर्जप्रिन्स कार्कीको पासमा सुमन अर्याल र ६७ औं मिनेटमा दीप लामाले गोल गर्दै टिमलाई विजयी बनाए। खेलमा १ गोल गरेका र २ गोलमा सहयोगी भुमिका निर्वाह गरेका आर्मीका कार्की म्यान अफ द म्याच भए। उनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले नगद १० हजार रुपैयाँ प्रदान गरे। प्रतियोगिता अन्तर्गत आइतबार रुपन्देहि ११ र मनाङ मर्स्याङ्दी क्लब काठमाडौंबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.