|
फाइल फोटो

काठमाडौं : बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो। चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन्।

शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे। नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा-२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन्। दुई वर्षसम्म एउटै पार्टीका दुई उपाध्यक्षमध्ये हाल श्रेष्ठका पक्षमा र भट्टराईका विपक्षमा वाम बुद्धिजीवीको वक्तव्यले गठबन्धनमय चुनावी अभियानलाई नयाँ मोड दिएको छ।

‘डा. भट्टराई मार्क्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं।’

वक्तव्यमा वाम गठबन्धनलगायत समग्र विषय समेटिए पनि भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि अन्य विषय छायामा परेका छन्। असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगै राष्ट्रिय सभागृहमा वाम एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन गर्ने संकल्प गरेका भट्टराई केही दिन नबित्दै कांग्रेससँग तालमेल गर्न पुगे।

यसअघि वैशाख र जेठको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्ने पालोमा माओवादी पार्टी थियो, जसलाई वाम बुद्धिजीवीहरूले अहिलेको जस्तो ‘सैद्धान्तिक महत्व’ दिएनन्। माओवादीले कांग्रेससँग तालमेल गर्दा मौन यी बुद्धिजीवी भट्टराईबारे किन एकाएक मुखर बन्न पुगे त ? हस्ताक्षरकारीमध्ये एक हरि रोकाको तर्क छ, ‘पहिलेका गठबन्धन चुनावपछि भएका थिए, योचाहिँ चुनावअघि हुन गएकाले वक्तव्य आएको हो। किनभने विगतका तुलनामा अहिले नयाँ किसिमको गठबन्धन बनेका बेला बाबुरामजीले अवसरवाद देखाउनुभयो।’

भट्टराईले भने चुनावी तालमेल आवश्यकताअनुसार हुने भन्दै वामबुद्धिजीवीले अशोभनीय र प्रत्युत्पादक काम गरेको टिप्पणी गरे। उनले कांग्रेससँग माओवादीले १२ बुँदे सहमतियता सहयात्रा गरेको नबिर्सन आग्रह गरे। ‘त्यो वक्तव्य पढ्दा खासै अचम्म लागेन, उहाँहरूले पहिले नै हार स्वीकार गरिसक्नुभयो भन्ने बुझिन्छ,’ भट्टराईले भने, ‘साथीहरूले बुझेर हस्ताक्षर गरेको भए हुन्थ्यो। चुनावमा तालमेल हुन्छ, भोट हाल्ने म्यान्डेट जनताको हो।’ रोकाले भट्टराईबाट वामपन्थको अपव्याख्या भएको आरोप लगाए। भट्टराईले भने त्यसको प्रतिवाद गर्दै ‘कोही पनि साम्यवाद ल्याउन राजनीति नगरिरहेको’ टिप्पणी गरे।

वक्तव्यमा शर्मा र मास्केसँगै प्रा. कैलाशनाथ प्याकुरेल, कवि विमल निभा, प्रगतिशील लेखक संघ अध्यक्ष मातृका पोखरेल, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, हरि रोका, धनकुमारी सुनार, झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठको हस्ताक्षर छ। बुद्धिजीवीहरूले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका ‘नयाँ आयाम उद्घाटित हुने’ विश्वास व्यक्त गरेका छन्। आफूहरू नागरिक अगुवा भने नभएको तिनको प्रस्टोक्ति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.