|
कृषिमन्त्री रामकृष्ण यादव

काठमाडौं : बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन्। संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन्।

सात मन्त्री सरकारी गाडीमा चुनाव प्रचार गर्दै
बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन्। थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन्।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन्।माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए। स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन्।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन्। उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन्। संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा।२झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन्। समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन्।

संसद्का गाडी पनि दुरुपयोग
संसद् विघटन भएको एक महिना बितिसक्दा पनि पूर्वउपसभामुख गंगाप्रसाद यादवले संसद् सचिवालयबाट सुविधामा लिएको गाडी फिर्ता गरेका छैनन्। सरकारी गाडी चढेर उनी गृहजिल्ला सप्तरीमा वाम गठबन्धनको प्रचार गरिरहेका छन्।राप्रपा नेता सुशीलकुमार श्रेष्ठले पनि संसदीय समितिको सभापतिका हैसियतमा सचिवालयबाट लिएको बा१झ ८४९६ गाडी फिर्ता गरेका छैनन्। उनले सरकारबाट पनि बा।१झ ५२०९ नम्बरको गाडी लिएका छन्।

तत्कालीन लोकतान्त्रिक फोरमको प्रमुख सचेतकको हैसियतमा सचिवालयको गाडी लिएका योगेन्द्रप्रसाद चौधरीले पनि अझै फिर्ता गरेका छैनन्। उनी गृहजिल्ला दाङमा चुनाव प्रचारमा छन्। त्यस्तै, माओवादी केन्द्रकी सचेतकको हैसियतमा पाएको सुविधाको गाडी सीता नेपालीले पनि फिर्ता गरेकी छैनन्। उनी गृहजिल्ला सुर्खेतमा चुनाव प्रचारमा छिन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.