लोडसेडिङ हुँदैन : प्राधिकरण

|

काठमाडौं : भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ। नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) इण्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो।

पिटिसीले भारतको सिमेन्ट उद्योगबाट खरिद गरी उक्त विद्युत् नेपाल पठाउने व्यवस्था मिलाएको थियो। भारतको सर्वोच्च अदालतले १७ नोभेम्बरमा इन्धनमा आधारित उद्योगलाई पेटकोक इन्धनबाट उद्योग सञ्चालनमा प्रतिबन्ध लगाउने फैसला सुनाएपछि उक्त बिजुली उत्पादन बन्द भएको जानकारी पीटीसीले विद्युत् प्राधिकरणलाई गराइसकेको छ। यसबाट नेपालले पाउँदै गरेको बिजुली अन्योलमा परेको छ। महाकाली सन्धिअनुसार टनकपुरबाट नेपालले निःशुल्क पाउँदै आएको १४ देखि १६ मेगावाट बिजुलीको आयातमा भने कुनै असर परेको छैन।

यस्तै ढल्केबर–मुजफ्फरपुरबाट नोडल एजेन्सी एनपिटिसी विद्युत् व्यापार निगमसँगको सम्झौताबाट नेपालले १ सय ४५ मेगावाट बिजुली आयात गर्दै आएको छ। भारतको सर्वोच्च अदालतले पेटकोक र फर्नेस आयलको प्रयोगलाई भारतभर प्रतिबन्ध लगाएकाले यो प्रसारण लाइन भएर नेपाल आउने विद्युतसमेत प्रभावित हुन सक्ने संकेत देखिएको छ।

भारतका धेरैजसो तापीय उद्योगले कोइला र प्राकृतिक ग्यासको साटो पेट्रोलियम कोकबाट बिजुली उत्पादन गर्दै आएका थिए। कोइला तथा अन्य स्रोतको तुलनामा सस्तो हुने गरेका कारण भारतमा पेटकोक अत्यधिक मात्रामा खपत हुँदै आएको थियो।

भारतको सर्वोच्च अदालतले दिल्ली र आसपासका क्षेत्रमा हाल बढिरहेको प्रदूषणलाई मध्यनजर गरी नेसनल क्यापिटल रिजन–एनसिआर (दिल्ली तथा आसपासका सहरी क्षेत्र, हरियाणा, उत्तर प्रदेश र राजस्थान) का उद्योगलाई फर्नेस आयल र पेटकोकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सर्वोच्च अदालतको सो निर्णयले भारतमा विद्युतको मूल्य थप बढ्ने भएको छ। भारतमा बिजुलीका लागि अन्य विकल्पमा जान केही समय लाग्ने देखिन्छ।

सुक्खा याममा नेपालको आन्तरिक उत्पादन कम हुने कारणले गर्दा भारतबाट समेत बढी विद्युत् ल्याउनुपर्ने बाध्यता रहेको छ। त्यसैअनुसार हाल विभिन्न अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतबाट ३ सय २० मेगावाट बिजुली आयात हुँदै आएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.