प्रदेश नं. १ को राजधानी बनाउने मुद्दा बोकेर चुनावी मैदानमा

|

धनकुटा : जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योगमन्त्री सुनिलबहादुर थापा र एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई चुनावी मैदानमा छन्। थापा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् भने राई वाम गठबन्धनका।

उनीहरू दुवै एकै गाउँका हुन्, हालको पाख्रिबास नगरपालिकास्थित मुगाका। जिल्लाबाट जसले जिते पनि गाउँबाट प्रतिनिधिसभामा पुग्ने छन्। एकै गाउँका भए पनि यी दुई जनाबीच न गाउँलेको साइनो छ, न राजनीतिक नै। राई तत्कालीन मुगा गाविस–७ मा जन्मिएका हुन् भने थापा मुगा–४ मा। यी दुवै जना जिल्लामा बलिया प्रतिस्पर्धी हुन्। अहिले नै कसले बाजी मार्ला भनेर भन्न सक्ने अवस्था छैन। 

यी दुईबीच न कहिले राम्रो सम्बन्ध बन्यो न बन्ने नै छ। अहिले त चुनावी प्रतिस्पर्धा भएका कारण राईले थापालाई ‘टुरिष्ट’ भनिरहेका छन्। राईको जवाफमा थापाले भने, ‘जब एउटै गाउँमा जन्मिएकालाई ‘टुरिष्ट’ भन्छन् भने उनको आँखामा दृष्टिभ्रम छ।’ अहिले गाउँलेको साइनो पनि मेटिन लागेको छ। दुई ध्रुवमा राजनीतिक व्यक्ति हुन् राई र थापा। थापा गणतन्त्र आएपछि राजनीतिमा सक्रिय बनेका छन् भने राई पञ्चायत कालदेखि नै कम्युनिष्ट विचारका हुन्। थापा दुईपटक मन्त्री भइसकेका छन्। राई अघिल्लो पटक थापासँग पराजित भएका थिए।

दुवैले ‘सजिलै जित्छौँ’ भनिरहेका छन्। तर, दुवैको जित सहज छैन। अहिले नै कसले जित्ला भन्न सकिने अवस्था नै छैन। स्थानीय तहको निर्वाचनमा क्लीन स्वीप गरेकै आधारमा राईले जित्छु भन ेपनि थापा पनि चानचुने र कमजोर व्यक्ति होइनन्, जसलाई राईले सजिलै हराउन सकुन्। थापा कुटनीतिक व्यक्तिको रुपमा चिनिन्छन्। राई थापाका लागि फलामे पर्खाल हुन्। उनले टोलसम्म संगठन बनाएका छन्।

माओवादी केन्द्रको साथ पाएका कारण राईले १५ हजार मतको अन्तरले विजयी हुने दाबी गरिरहेका छन्। ‘मलाई कसैले हराउन सक्दैन’ उनले भने, ‘मेरो प्रतिस्पर्धा कसैसँग हुँदैन, म जित्ने उम्मेदवार हुँ।’ हालै सम्पन्न स्थानीय चुनावमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा एमालेले ‘क्लिन स्वीप’ गर्दा धनकुटा जिल्लामा राप्रपाले वडाध्यक्ष मात्र होइन, सदस्य पनि जित्न सकेन। तै पनि राप्रपा प्रजातान्त्रिकका प्रतिनिधिसभा उम्मेदवार मन्त्री थापा भन्छन्, ‘म चुनाव जित्दैछु।’

धनकुटाले चरित्रवान् र अनुभवी नेता खोजेको छः थापा

के धनकुटामा थापाको जित सम्भव छ ? छोरा सिद्धार्थसहित चुनाव प्रचारमा व्यस्त थापा भन्छन्, ‘चुनाव जितेर गएपछि मैले मन्त्री हुँदा भूकम्प, नाकाबन्दी जस्ता अप्ठ्यारोमा राष्ट्र र जनताको हितमा काम गरेको छु। जनताले राम्रोसँग बुझेका छन्।’ थापाले भने ‘धनकुटाबासीले आफ्नो गुम्न लागेको पहिचान बचाउन सक्ने सक्षम, अनुभवी र चरित्रवान् नेता चाहेका छन्।’ थापाको दाबी आफ्नो ठाउँमा होला तर, उनको चुनाव जित्ने आधार भनेको धनकुटामा सूर्यबहादुर थापाको विरासत हो। सुनील पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुरका छोरा हुन्। 

दोस्रो संविधानसभाअघि राष्ट्रसंघको जागिर छाडेर नेपाल फर्किएका उनलाई पिताले नेपाली राजनीतिमा प्रवेश मात्रै गराएनन्, एक प्रकारले आफ्नो शेखअघि नै स्थापित गरेर गए। जनताको घरघरमा जान नसक्ने भन्दै दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबनेका सूर्यबहादुरले तत्कालीन धनकुटा क्षेत्र नम्बर २ मा छोरा सुनिललाई अघि सारेर चुनाव जिताएर मन्त्री पनि बनाए। पार्टीमा पनि राम्रै स्थान दिलाए। अहिले सुनिल राप्रपा प्रजातान्त्रिकको महामन्त्री पदमा छन् भने हालको सरकारमा उद्योगमन्त्री छन्। 

सुनिलले सूर्यबहादुर थापाको विरासतमात्रै बोकेको नभई युएनमा काम गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समेत बनाएको र उनको व्यक्तित्व राजेन्द्र राईको भन्दा उच्च भएकाले मतदाताले व्यक्तिलाई हेरेर मतदान गर्ने राप्रपा प्रजातान्त्रिकका कार्यकर्ताको दाबी छ।

थापाको नराम्रो हार हुन्छः राई

थापाका प्रतिस्पर्धी राई भने एमाले धनकुटाका अध्यक्ष हुन्, जसलाई स्थानीय चुनावपछि केपी शर्मा ओलीले ‘म्यान अफ दि इलेक्सन’को उपाधि दिएका छन्। वाम गठबन्धनका उम्मेदवार राई भने सुनीलबहादुरसँग आफ्नो प्रतिस्पर्धा नै नहुने दाबी गर्छन्। चुनावी प्रचारमा व्यस्त रहेका राईले भने, ‘सुनिल थापाले ढाँट्न र नक्कली कुरा गर्न सक्छन्, तर, चुनाव जित्न सक्दैनन्, एमालेसँग उनको प्रतिस्पर्धा नै हुन्न।’

माओवादीको समेत समर्थन पाएका राईले आफू १० देखि १५ हजारको मतान्तरले चुनाव जित्ने दाबी गरे। ‘चुनाव जित्छु भन्ने सुनिलको दाबी गाईजात्रामा म मन्त्री भएँ भनेर फूलको माला लगाएर हिँडे जस्तै हो’ राईले भने। एमाले नेता राईका चुनावी प्रतिस्पर्धी थापाको चुनाव जित्ने विश्वासमा रत्तिभर कमी देखिँदैन।

प्रदेशको राजधानी दुवैको एजेण्डा

अहिले दुवै उम्मेदवारले धनकुटालाई प्रादेशिक राजधानी बनाउने मुल एजेण्डा लिएर गाउँगाउँमा मत मागिरहेका छन्। थापाले धनकुटाको पहिचानका लागि बेलाहारामा एयरपोर्ट बनाउनेदेखि धनकुटालाई प्रदेशको राजधानी बनाउने एजेण्डा अघि सारेको बताए। एमालेका नेताहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउन खोजिरहेको भन्दै थापाले प्रदेशको राजधानी धनकुटालाई बनाउने आफ्नो प्राथमिक एजेण्डा भएको बताए। उनले आफ्नो जित सुनिश्चित भएको दाबीसमेत गरे। यस्तै एमाले उम्मेदवार राईले पनि धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने नारालाई मुख्य चुनावी एजेण्डा बनाएका छन्।

‘माओवादी निर्णायक’

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा धनकुटाका पूर्वसभासद हेमराज भण्डारी जिल्लाको चुनावमा माओवादी निर्णायक भएको बताएका छन्। उनले भने, ‘धनकुटाको चुनावमा निर्णयाक शक्ति भनेको माओवादी हो, माओवादीले एमाले उम्मेदवार राजेन्द्र राईलाई सघाएका कारण वाम गठबन्धन नै बलियो छ।’ वाम गठबन्धनका उम्मदेवारलाई जिताउनका लागि माओवादीका नेता कार्यकर्ताहरु पनि जिल्लामा खटिरहेको भण्डारीले बताए।

नयाँशक्तिको समर्थन थापालाई

नेपाली कांग्रेस र संघीय समाजवादीसँग गठबन्धन गरेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नयाँ शक्ति पार्टीले पनि समर्थन गर्ने संकेत दिएको छ। नयाँ शक्ति पार्टीका जिल्ला संयोजक घनश्याम राईले भने एमालेभित्रको अन्तरविरोध र राजेन्द्र राईको व्यक्तित्वका कारण उनी कमजोर रहेको दाबी गरे। नयाँ शक्ति पार्टीले लोकतान्त्रिक गठबन्धनलाई सघाउने उनले बताए। नयाँ शक्तिले गत स्थानीय चुनावमा धनकुटा नगरपालिकामा एउटा वडाध्यक्ष जितेको छ।

चौबीसे र साँगुरीगढीले के गर्ला ?

पहिलो दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा अहिले एउटामात्रै चुनाव क्षेत्र छ भने अहिले समग्र जिल्लाको उम्मदेवार बनेका राजेन्द्र राई र सुनिल थापा दुवै साविकको दुई नम्बर क्षेत्रका उम्मेदवार थिए। अहिले प्रतिनिधि सभामा उम्मेदवार बनेका वाम र लोकतान्त्रिक गठबन्धन दुवै पक्षका उम्मेदवारहरु साविकको २ नम्बर क्षेत्रका छन्। साविकको १ नम्बर क्षेत्रले भने प्रतिनिधिसभाको उम्मेदवार नै पाएको छैन। चौबीसे र साँगुरीगढीमा गाउँपालिकामा गरी १५ हजारभन्दा बढी मतदाता छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.