|

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भयो। अध्यक्ष प्रचण्ड र सीता दाहालका एक मात्र छोरा हुन् प्रकाश। लामो समयदेखि उनी आफ्ना पिता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए। २०३८ असार १७ गते जन्मिएका प्रकाश माओवादीले गरेको सशस्त्र जनयुद्धमा समेत सक्रिय रूपमा लागेका थिए।

माओवादीले २०५२ सालमा प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गर्दा काठमाडौंमा कक्षा ६ मा पढ्दै थिए प्रकाश। युद्ध सुरु भएपछि प्रचण्डले दुई दिदीसँगै प्रकाशलाई पनि भारत पुर्‍याए। दिदी रेणुको भारतमा नै विवाह भएपछि प्रकाश केही समय दिदीसँगै बसे। उनले भारतको पञ्जाबबाट आफ्नो पढाइ अघि बढाए। त्यहीँबाट कक्षा १२ सम्मको पढाइ सके प्रकाशले।

उनी २०५७ सालदेखि मात्र पूर्णकालीन राजनीतिमा आएका हुन्। त्यही समयबाट प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए उनी। उनलाई त्यसभन्दा अघि जनमुक्ति सेनामा काम गर्ने इच्छा भए पनि पार्टीले स्वीकृति दिएको थिएन। तर २०६०/०६१ सालतिर उनी झन्डै एक वर्ष रुकुम/रोल्पातिर गएर पार्टीको काममा सक्रिय भएका थिए। उनले पार्टीमा संचार विभागको समेत जिम्मेवारी पाएका थिए। सशस्त्र द्वन्द्वका क्रममा अध्यक्ष प्रचण्डको अंगरक्षक भएरसमेत काम गरेका थिए प्रकाशले। 

माओवादी नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग विवाह गरे पनि उनको उक्त विवाह सफल हुनसकेन। ०६४ सालमा पोखराकी सिर्जना त्रिपाठीसँग विवाह गरे। त्यसपछि उनले तेस्रो विवाह कञ्चनपुरकी बिना मगरसँग गरे। प्रकाश र सिर्जनाबाट एक छोरा र बिनाबाट एक छोरा छन्।

सरकारले उनलाई प्रबल जनसेवाश्री पदक दिने निर्णय गरेको थियो तर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले उक्त पदक नलिने घोषणा गरेका थिए। प्रकाशले सर्वोच्च शिखर सगरमाथासमेत चढेका थिए। 

प्रकाशकी जेठी दिदी ज्ञानुको पनि क्यान्सरका कारण केही वर्षअघि निधन भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.