|

बाँके : नेपालगञ्ज रंगशालाको मुहार दिन प्रतिदिन फेरिँदै गएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण धमाधम हुन थालेपछि नेपालगञ्ज रंगशालाको मुहार दिन प्रतिदिन फेरिदै गएको छ।

घाँस र खाल्डैखाल्डा रहेको रंगशाला मैदानमा माटो पटान गरी रोलिङ्ग गरेपछि अहिले चिल्लो भएको छ। ‘अहिले नेपालगञ्ज रंगशाला हेर्न लायक भएको छ, माटो पटान भएपछि रंगशालामा आउँदा रमाईलो लाग्छ,’ नेपालगञ्ज उपमहानगरपालिका–९, समावेशी टोलका कुलाराम थारुले बताए।

उनले दौड्न नमिल्ने गरी खाल्डाखुल्डी भएको रंगशाला माटो पटानपछि जमिन एकनास मिलेको बताए। विभिन्न विधाको खेलका लागि भौतिक संरचना निर्माणले रंगशालाको सुन्दरता थपिदै गएको उनले बताए।

भौतिक पूर्वाधार निर्माणले चहलपहल समेत बढेको बताए। शारिरिक ब्यायामका लागि नियमित रंगशाला आउने स्वास्थ्यकर्मी समेत रहेका थारुले भौतिक पूर्वाधार निर्माणले रंगशाला आउन हौसला प्रदान गरेको बताए। ‘एताउता भौतिक पूर्वाधार निर्माण भइरहेको छ। यसले नेपालगञ्ज रंगशालाको मुहार फेरिने केहि आशा पलाएको छ,’ उनले भने।

फुटबल र एथ्लेटिक्सका लागि ट्रयाक एन्ड फिल्ड निर्माण

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालामा माटो पटान गरी फुटबल मैदान तयार गरेको छ। कुल २० लाखको लागतमा रंगशालामा माटो पटान गरी बाहै्र महिना फुटबल, एथ्लेटिक्सलगायत अन्य प्रतियोगिता गर्न मिल्नेगरी मैदान तयार भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए।

उनले पहिलो चरणअन्तर्गत ८० मिटर चौँडा, १ सय २० मिटर लम्बाइ क्षेत्रफलमा ०.५ मिटर उचाइ माटो पटान भएको जानकारी दिए। उनले बाँकी भागमा पनि छिट्टै माटो पटान गरी एथ्लेटिक्सका लागि सेन्थेटिक ट्रयाक निर्माण गरिने बताए। ‘आठौँ राष्ट्रिय प्रतियोगिता तयारीस्वरुप फिल्ड निर्माणलगायत भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ,’ उनले भने, एथ्लेटिक्सलाई आवश्यक पर्ने ८ वटा ट्रयाकमध्ये ४ वटा तयार भएको छ।’

प्रतियोगिता तयारीका लागि राष्ट्रिय खेलकुद परिषदले परिषद् सदस्य बिनोद मैनालीलाई तयारी समितिको संयोजक तोकेको छ। भने राखेपका कोषाध्यक्ष सुरेन्द्र बहादुर हमाललाई प्रतियोगिता आयोजक सचिवायलको संयोजकको जिम्मेवारी यसअघि नै दिइसकेको छ। प्रतियोगिताको समय नजिकिएसँगै आयोजक समिति, तयारी समिति र अन्य उपसमितिहरु गठन तथा भौतिक पूर्वाधार निर्माण तीब्र रुपमा भइरहेको छ,’ अध्यक्ष ओलीले भने। उनले रंगशालामा अत्याधुनिक प्याराफिट निर्माण कार्य छिट्टै सुरु हुने बताए।

भारोत्तोलन एकेडेमी निर्माण तीव्र गतिमा 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि १ अर्व ५ करोड रकम खर्च लाग्ने अनुमान राखेपले गरेको छ। सोही बमोजिम रकम विनियोजन भइसकेको राखेप कोषाध्यक्ष सुरेन्द्र हमालले बताए। उनले प्रतियोगिता संचालनका लागि रु. ३५ करोड र भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रु. ७० करोड खर्च लाग्ने जानकारी दिए।

प्रतियोगिता संचालनका लागि भारोत्तोलिन एकेडेमी निर्माणको काम धमाधम भइरहेको छ। भारोत्तोलन एकेडेमी भवनको तल्लो तलाको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक एवं भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनले बताए। ‘आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत भारोत्तोलन प्रतियोगिता नवनिर्मित भवनमै गर्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने।

उक्त एकेडेमी अन्तर्राष्ट्रिय मापदण्डको हुने भारोत्तोलन संघका अध्यक्ष टण्डनले बताए। उनले भुइँ तलामा तालिम/प्रशिक्षण, दोस्रो तलामा खेलाडीका लागि आवास र तेस्रो तलामा सभाहल हुने जानकारी दिए।

स्विमिङ पुल निर्माण अघि बढेपछि स्थानीय खुसी

नेपालगञ्ज परिसरमा पौडी पोखरी (स्वीमिङ पुल) निर्माणलाई पनि तीव्र पारिएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्वीमिङ प्रतियोगिता उक्त पौडी पोखरीमा गराउने तयारीका साथ निर्माण कार्य धमाधम भइरहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख बिष्णु शर्माले बताए।

कार्यालय भवन, प्याराफिट, चेन्जिङ रुम र खाजा घर निर्माणको काम भइरहेको उनले बताए। उनले प्याराफिट र कार्यालय भवनको डिपिसी गर्ने कार्य सम्पन्न भइसकेको बताए। गोलो आकारको खाजा घर र कार्यालय भवनमै प्याराफिट निर्माण गरिने उनले बताए।

 कुल १४ करोड २८ लाख ३२ हजार ८०७ रुपैयाँ लागतमा स्वीमिङ पुल लगायतका संरचना निर्माण भइरहेको शर्माले बताए। ‘खाजा घर र चेन्जिङ रुम भवनको डिपिसी तयारी हुँदैछ, कार्यालय र प्याराफिटको डिपिसी सम्मको काम सम्पन्न भइसकेको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘आठौँ राष्ट्रिय प्रतियोगिताको स्वीमिङ खेलका लागि तीव्र रुपमा तयारी हुँदैछ।’

स्वीमिङ पुलको काम तीव्र गतिमा भएपछि आगामी बैशाख, जेष्ठ महिनाको गर्मीमा नेपालगञ्ज रंगशालाको स्वीमिङ्ग पुलमा पौडी खेल्न पाइने आशा पलाएको नेपालगञ्ज उपमहानगरपालिका–५ का शमशुद्धिन अन्सारीले बताए। यसअघि नै सुरु भएको स्विमिङ पुल निर्माणको काम रोकिएपछि हराएको आशा पुनः निर्माण हुन थालेपछि पलाएको बताए।

‘काम अवरुद्ध भएपछि स्वीमिङ गर्न पाउने आशा मरेको थियो, पुनः निर्माणले आशा जागेको छ, अव नेपालगञ्जबासीले छिट्टै स्वीमिङ गर्न पाउने देखिन्छ,’ उनले भने। आठौ राष्ट्रिय प्रतियोगिताका लागि सुटिङ रेन्ज निर्माणको तयारी भइरहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.