|

  • रमेश तिमलसिना-

रौतहट : २१ मंसिरमा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मौका पारेर रौतहट र बाराको भारतीय सीमावर्ती नाकाबाट व्यापक रुपमा अवैध समानको तस्करी मौलाएको छ।

हिजोआज दैनिक रुपमा रौतहटको गौर भन्सार नाकालगायत विभिन्न छोटी भन्सारका नाकाहरुबाट दैनिक लाखौँ रुपैया राजस्व छली तस्करहरुले अवैध समान भित्राउने गरेका छन्। रौतहटको लक्ष्मीपुर बेलबिछुअवा, गौर भन्सार कार्यालय, औरैया नाका, बन्जहरा नाका, जयनगर नाका, मठिया नाका रामपुरखाप र बंकुल नाकाबाट तस्करहरुले खास गरी रात्रि समयमा र दिउँसै पनि अवैध रुपमा भारतबाट समान भित्राउने गरेको स्थानीयवासीले बताएका छन्।

ती नाकाहरुबाट दैनिक रुपमा कुखुराको चल्ला, ब्रोइलर कुखुरा, दाल, चामल, कपडा, हार्डबियरको समानहरु लगायतका अवैध समानहरु भित्रने गरेको स्थानीय राजाराम साहले जानकारी दिए। सीमा क्षेत्रमा अवैध समान आयात र निर्यात रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले पोस्टहरु राखेको भएता पनि ती सुरक्षा निकाय तस्करहरुको साक्षी मात्र बस्ने काम भएको उनले सुनाए।

सशस्त्र प्रहरीले रौतहटको ५ स्थानमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बोर्डर आउट पोस्ट खडा गरेको भएता पनि पोस्टमा बस्ने सशस्त्र प्रहरीले नै नजरआनाको प्रलोभनमा परेर तस्करहरुलाई सघाएको स्थानीयको आरोप छ। रौतहटको लक्ष्मीपुर बेलबिछुअवा, गौर भन्सार, औरैया, नरकटिया र रामपुरखापमा सशस्त्र प्रहरीले आउट बोर्डर पोस्ट खडा गरेको छ।

गौर भन्सार पछिकै सबैभन्दा ठूलो नाकाको रुपमा रहेको बंकुल छोटी भन्सार नाकाबाट आउट बोर्डर पोस्ट बंकुलका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले नै दिनदहाडै तस्करी गर्न दिएको स्थानीयको भनाइ छ। ती नाकाबाट सशस्त्र प्रहरीका हवलदार आत्माराम पटेल र सिपाही अमरुदिन आलमले तस्करसँग पैसा असुल्ने गरेको स्थानीय एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा थाहा खबरलाई बताए।

भारतका पिठुवाटोलका श्याम सुन्दर कुशवाह, खजानीटोलका दिनेश यादव, पुरैनियाका सन्दीप जयसवालले बारा र रौतहटको बजार क्षेत्रमा अवैध समान पुराउने गरेका छन्। तस्करहरुले रौतहटको बंकुल नाका र बाराको कर्चोवा नाकाबाट नेपाल प्रहरी र सशस्त्रको साँठगाँठमा राति र बिहानी पख अवैध समानहरु नेपालको विभिन्न बजारहरुमा पुर्‍याउने गरेको अर्का स्थानीय कमल राय यादवले बताए।

यता, गौरका जय मंगल जयसवाल, कटहरियाका रञ्जन साह कानु, औरैयाका लक्ष्मी साह कानुलगायत दर्जनौँ तस्करहरुले जिल्लाको विभिन्न नाकाहरु हुँदै ठूलो धनराशिको राजस्व गुमाउँदै अवैध समानहरु भित्र्याउँदै आएका छन्। यस्तै, बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल सरोबर सिंहले तस्करहरुसँग मोटो रकम लिएर तस्करी गराएको आरोप स्थानीयले लगाएका छन्।

सो इलाका प्रहरीको सीमा क्षेत्रमा रहेको नाकाबाट प्रहरी निरीक्षक सिंहकै संरक्षणमा दैनिक लाखौं रुपैयाँको तस्करी भइरहेको स्थानीयले बताउने गरेका छन्। निर्वाचनको मौका छोपेर प्रहरीले तस्करको साक्षी बसी तस्करी गराउनु गलत कार्य भएको स्थानीय रामपुकार राउतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.