|

काठमाडौंः कवि तुलसी दिवसले धेरै वर्षअघि लेखेका कविताका पंक्तिहरू नेपथ्यको दशौँ अल्बममा गीतका रूपमा समेटिइएको छ।

‘मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला 
सम्झिराख
सम्झिराख लामो सफरमा 
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख।’

श्रोतालाई नेपथ्यको रजत वर्षमा घोषित उपहार शृंखलाअन्तर्गत यो गीत म्युजिक भिडियोका रूपमा तयार भएको नेपथ्यले जनाएको छ।
‘मैले यो कविता बाल्यकालमै रचेको थिएँ’, कवि दिवस भन्छन्, ‘पछि कवितासंग्रह निकाल्ने बेलामा यसका शब्दहरूको मर्मले छोएपछि प्रकाशित हुनपुगेको थियो।’ 

‘सम्झिराख’ शीर्षकको यस कवितामा अगाडि भनिएको छ–

‘किनकि सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले चपाउन सक्छ
तर सम्झना सधैँ हाँसिरहन्छ
कविता बनी त्यो बाँचिरहन्छ 
सम्झिराख।’ 
 
बाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशन भएको यस कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रूपमा अघि बढाउँदै गरेकामा आफूलाई खुसी लागेको कवि दिवस सुनाउँछन्। 

यसरी एउटा कविको भावनालाई संगीतबद्ध गर्दै अब हेर्ने माध्यमका रूपमा समेत परिणत गर्दा म्युजिक भिडियोले भने ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधाराहरूको चयन गरेको छ। भिडियोमा व्याण्डका सदस्यहरू रातको एकान्तमा पुरानो शहरको यात्रा गर्छन्। 

केही वर्षयता नेपथ्यको श्रव्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समूह ‘कथाहरू’ले बनाएको यस म्युजिक भिडियोेको निर्माण नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयले गरेको हो।

नेपथ्यले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दै आएको थियो। कवि तीर्थ श्रेष्ठको ‘आमा’लगायत केही गीतहरू कविताबाटै तानिएको हो। 

‘म शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कवितासंग्रह हातपरेको थियो’, नेपथ्यका मुख्य गायक एवं व्याण्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसैमा अटाएको यस कवितालाई मैले संगीतबद्ध गर्ने प्रयास गरेको हुँ।’

नेपथ्यले यस वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरिसकेको छ। त्यसै क्रममा यस कवितालाई पनि गीतका रूपमा तयार पारिएको हो।

२५ वर्षे उत्सवकै क्रममा व्याण्डले यसैपाला आफ्नो दशौँ एल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको छ। उक्त दशौँ एल्बममा संकलित गीतमध्येकै ‘सम्झिराख’ पनि एक हो। सार्वजनिक हुने क्रममै रहेको उक्त एल्बमबाट म्युजिक भिडियो बन्न सफल यो पाँचौँ गीत बन्न पुगेको छ। 

त्यसै एल्बमको ‘कोसीको पानी’, ‘हो रामा रामा’, ‘शिरफूल शिरैमा’, ‘हामी नेपाली’ जस्ता गीतहरूको म्युजिक भिडियो पनि यसबीचमा सार्वजनिक भएका थिए। यी गीतहरू युट्युबमा उपलब्ध छन्।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.