|

काठमाडौं : उम्मेदवारकेन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधान सेनापति राजेन्द्र क्षेत्रिलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे। रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो। मन्त्री प्रधानले चुनावी चहलपहल बढेसँगै सुरु भएको बम विस्फोट घटनाका विवरण सार्वजनिक गर्दै भने, 'दुई सातायता ३४ स्थानमा बम विस्फोट भइसक्यो।'

उनले सुरक्षा संगठनले निर्वाचनका लागि तराईकेन्द्रित सुरक्षा योजना बनाएको तर, घटना पहाड केन्द्रित भएको बताए। उनले विस्फोटमा विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको समूहसँगै अन्य समूह पनि संलग्न रहेको दाबी गरे। उनले अन्य समूह को हुन् भन्ने खुलाएनन्। मन्त्री प्रधानले आन्तरिक सुरक्षा जिम्मेवारी गृहमन्त्रालयअन्तर्गत रहेको र गृहको नेतृत्वसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकाले उनी काठमाडौं फर्किएलगत्तै छलफल गरेर नयाँ रणनीति बनाउने बताए।

प्रधानसेनापति क्षेत्रीले पछिल्ला घटनाले सेनालाई थप सजग बनाएको बताए। पत्रकार सम्मेलनमा उनले बम विस्फोटमा जोडिएका समूहको नाम नलिई उच्छृङ्खल तत्वमात्र भने। कात्तिक २४ देखि विभिन्न जिल्लामा उम्मेदवारमाथि आक्रमण हुने क्रम बढेको छ। निर्वाचनको विपक्षमा घोषितरुपमा रुपमा सक्रिय नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै हो। 

तर, गृह मन्त्रालयका अधिकारी र प्रहरी संगठनका अधिकार विप्लवको नाम लिन रुचाउँदैनन्। प्रधान सेनापति क्षेत्रीले उच्छृङ्खल तत्व भन्छन् भने गृह र सुरक्षा निकायका अधिकारी 'निर्वाचनविरोधी गतिविधि गर्ने' मात्र भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.