|

चितवन : भारतको पिपराठी भन्ने स्थानबाट उद्धारगरिएको दुर्लभ एकसिंगे गैंडालाई सोमबार बिहान चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्‍याएको गैडालाई आइतबार साँझ डाट गरेर बेहोस बनाई उद्धार गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलका अनुसार राति चितवन ल्याइपुर्‍याइएको गैंडालाई सोमबार बिहान ७ बजे रत्ननगरको सौराहाबाट निकुञ्जमा छाडिएको हो। 

भारतको उत्तर प्रदेश र विहारको सिमानाबाट वयस्क पोथी गैंडाको उद्धार गरिएको थियो। सो क्षेत्र नेपाल भारत सिमाबाट झण्डै ६० किलोमिटर भारतमा रहेको निकुञ्जले जनाएको छ। यो सँगै गएको साउनमा आएको बाढीका कारण बगाएका १० गैंडाको भारतबाट उद्धार गरिएको छ। भारतको सीमा नजिकै नेपाली भूभागमा अझै २ वटा गैंडा रहेकाले ती गैंडाको उद्धारका लागि  निकुञ्जको टोली परिचालन हुने जनाइएको छ। सो क्षेत्रमा पछिल्लो ४ दिन गैंडाको उद्धारमा खटिएको टोली डाट गर्ने अनुकुल वातावरण नमिल्दा त्यसै फर्किएको थियो।

यसअघि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाबाट गएको पशुचिकित्सक र प्राविधिज्ञ सहितको टोलीले गएको कात्तिक २३ गते पनि भारतको मदनपुर वनबाट पोथी गैंडालाई उद्धार गरेर ल्याएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

निकुञ्जमा बाढीका कारण तीनवटा गैंडा र २ वटा अर्ना मरिसकेका छन् भने चित्तल लगायत दर्जनौं अन्य बन्यजन्तु समेत मरेको निकुञ्जले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.