|

कैलाली : ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं. निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता सुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको हो।

गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा. आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो। उनको उम्मेदवारीका बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस सुरु भएको छ। डा राणाले मनोनयन दर्ता गराएसँगै सोही दिनदेखि नै झन् रोचक बन्दै गएको छ। उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएकी छन् र उनी आजभोलि हरेक दिन आफ्नो क्षेत्रका विभिन्न स्थानमा सभा तथा घरदैलोमा व्यस्त छिन्।

कांग्रेसको पकड राम्रो मानिएको क्षेत्र नं ५ रोजेकी डा. राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताएकी छन्। त्यसैगरी आफूले जितेमा धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गरेकी छन्।

डा. राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी छन्। वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ। रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता छन्। रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जितेका थिए।

रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। उनले धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताउँदै आएका छन्।

त्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको छवि पनि राम्रो बनेको छ। स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको अपेक्षा छ। हमाल हाल विवेकशील साझा पार्टीका ७ नं प्रदेशका संयोजक छन्। विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.