|

लहान : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा प्रहरीले उदयपुरसँग सीमा जोडिएको सिरहाको चुरे क्षेत्रमा अवैध रुपले गरिएको गाँजा खेती नष्ट अभियान चलाएको छ।

सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पको संयुक्त टोलीले विशेष सुराकीको आधारमा शनिबार अपराह्न मिर्चैया नगरपालिका ९ सुन्दरपुर र ननुवा गरी दुई गाउँमा गरी करिब १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको हो।

प्रहरीले गाउँको भित्रीभागको करिब १२ कठ्ठा क्षेत्रफलमा लगाइएको चार हजार बोट गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । त्यसअघि, कात्तिक २५ गते पनि मिर्चैया प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा मिर्चैया नगरपालिका ९ रमपुरा क्षेत्रको ९ कठ्ठा जग्गामा लगाइएको दुई हजार पाँच सय थान गाँजाको बोट फँडानी गरी नष्ट गरेको थियो।

अभियान जारी रहन्छ : प्रहरी

निर्वाचनको सङ्घारमा सुरक्षाकर्मीको आँखा छलेर पाक्ने वेला भइसकेको गाँजा तस्करहरुले स्थानीय एजेन्टको सहयोगमा काट्ने तयारी गरिरहेको समयमा विशेष सुराकी परिचालन गरी नष्ट गर्ने अभियान जारी रहने प्रहरीले जनाएको छ। उदयपुरसँग सीमा जोडिएको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुरे जंगलको आसपास पर्ने गाउँहरुमा गाँजा खेती हुने गरेको बताइन्छ।

सुरक्षाकर्मीहरुको आँखा छलेर लगाइएका गाँजा तस्करको स्थानीय एजेन्टले नै संकलन गरेर भरियामार्फत सीमापारी पुर्‍याउने बताइन्छ। प्रहरीले तस्कर र एजेन्टको मिलेमतोमा सीमा कटाउन भरियालाई उपयोग गरेको गाँजा पक्राउ गर्ने गरेको भए पनि उदयपुरको दक्षिणवर्ती चुरे क्षेत्रमा उत्पादन हुने गाँजा सिरहा ल्याएर स्थानीय गाँजासमेत संकलन गरी सीमापारि पुर्‍याउने गरेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.