|

भक्तपुर : २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निरक्षरदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण उम्मेदवारहरु मैदानमा उत्रिएका छन्।

भक्तपुरमा ११ वटा दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुमध्ये भक्तपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फबाट उम्मेदवार बनेका गोपालदास बनेपालीले  दस कक्षा पास गरेका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कृष्णप्रसाद घेमोसु प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण छन्।

त्यस्तैगरी, विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका चाँगुनारायण नपा ३ का दिपेश न्यौपाने भने इन्जिनियर हुन्। उनले कम्प्युटर विषयमा इन्जिनियरिङ गरेका छन्। चुरेभावर लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी दीपा खत्रीले १२ कक्षा उत्तीर्ण गरेकी छन्। त्यसैगरी, स्वतन्त्रतर्फ उम्मेदवारी दिएका नीलकण्ठ थापा एसएलसी उत्तीर्ण हुन् भने स्वतन्त्रबाटै उम्मेदवारी दिएका जितेन्द्र खायमली स्नातक उत्तीर्ण हुन्।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका प्रेम सुवालको शैक्षिक योग्यता स्नातक रहेको छ भने उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका बाबुराजा जोशीको शैक्षिक योग्यता स्‍नातकोत्तर र कानुनमा स्‍नातक रहेको छ।

त्यस्तै, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)बाट उम्मेदवार बनेकी मीना परियार साक्षर मात्र हुन्। वाम गठबन्धनबाट उम्मेदवार बनेका मिलन सुवाल एसएलसी उत्तीर्ण हुन्। नयाँ शक्ति पार्टी नेपालका रामसुन्दर हौमिखाको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ। राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका राजेश गोसाइँले भने शैक्षिक योग्यता उल्लेख नगरेको निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।

यता, भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकाहरुमध्ये विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका शशिविक्रम कार्कीले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन्। नेपाल दलित पार्टीकी कमला बर्देवा साधारण लेखपढ गर्न जान्दछिन्।

स्वतन्त्रतर्फका सुरेन्द्र था श्रेष्ठले आईए गरेका छन् भने धर्मराज थापा साक्षर मात्र छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी अनुराधा थापामगरले पनि शिक्षा संकायमा स्नातकोत्तर गरेकी छन् भने नेपाली कांग्रेसका दमननाथ ढुंगानाले स्तातकोत्तरका साथै कानुन संकायमा स्नातक गरेका छन्।

त्यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) बाट उम्मेदवार बनेकी ताराकुमारी बाँस्कोटा एसएलसी उत्तीर्ण हुन्। नयाँ शक्ति पार्टी नेपालका श्रीराम खाइजू पनि एसएलसी उत्तीर्ण हुन् भने नेकपा एमालेबाट उम्मेदवार बनेका महेश बस्नेतको कुनै औपचारिक पढाइ उल्लेख नभएको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका शिवहरि केसी पनि स्तातक उत्तीर्ण हुन्।

भक्तपुरको निर्वाचन क्षेत्र नं. १ र २ मा उम्मेदवारहरुको शैक्षिक योग्यतामा अधिकांश एसएलसी उत्तीर्ण रहेको भक्तपुर निर्वाचन कार्यालयका निर्वाचन अधिकृत उमेश राईले जानकारी दिए। उनले आउँदो दोस्रो चरणको निर्वाचनका लागि भक्तपुरमा निरक्षरदेखि स्तातकोत्तर तहसम्मको शैक्षिक योग्यता भएका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने बताए।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा  ‘क’ का उम्मेदवारहरुमा पनि एसएलसी उत्तीर्ण उम्मेदवारहरुकै बाहुल्य रहेको छ। यो क्षेत्रमा उम्मेदवार बनेका नयाँ शक्ति पार्टी नेपालका सानुप्रसाद वन, स्वतन्त्रतर्फका श्यामकृष्ण अवाल, राजेन्द्र तिमल्सिना, राप्रपाका मुकुन्द कार्की, विवेकशील साझाका कालीचरण कार्की एसएलसी उत्तीर्ण हुन् भने  नेपाली कांग्रेस(वीपी) का शंकर गौतम र एमालेका हरिशरण लामिछाने आईए उत्तीर्ण उम्मेदवार हुन्।

सोही क्षेत्रबाट उम्मेदवारी दिएका नेमकिपाका निरज लवजू, नेपाली कांग्रेसका जीवन खत्री, माओवादी केन्द्रका देवीप्रसाद ढकाल, स्वतन्त्रतर्फका लक्ष्मण तिमल्सिनाले स्नातकसम्मको योग्यता हासिल गरेका छन्। त्यसमध्ये नेमकिपाबाट उम्मेदवार बनेका निरज लवजू मात्र स्नातकोत्तर तह उत्तीर्ण उम्मेदवार हुन् ।

यस्तैगरी, प्रदेशसभा ‘ख’मा राप्रपाका विष्णुप्रसाद त्वानाबासु, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका राजकुमार लोहला, नयाँ शक्ति पार्टी नेपालका राजाराम ढुकुछु र संघीय समाजवादी फोरमका कुश्मा प्रधानको शैक्षिक योग्यता एसएलसी मात्र रहेको छ। नेपाली कांग्रेसका अनिल भुजु आईए उत्तीर्ण हुन् भने स्वतन्त्रतर्फका बलराम सिंबञ्जार स्नातक उत्तीर्ण हुन्

नेमकिपाबाट उम्मेदवारी दिएका सुरेन्द्रराज गोसाइँ स्नातकोत्तर उत्तीर्ण उम्मेदवार हुन्। गठबन्धनका साझा उम्मेदवार रोमन शिलाकार, स्वतन्त्र उम्मेदवारहरु शिवराम अवाल र कृष्णगोविन्द सुवालको शैक्षिक योग्यता नदेखिएको निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ सूर्यविनायकका उम्मेदवारहरुमध्ये नेकपा एमालेका शशिजंग थापा र नेमकिपाका सरोजराज गोसार्इं मात्र स्नातकोत्तर तह उत्तीर्ण उम्मेदवारहरु हुन्। यस क्षेत्रमा विवेकशील साझा पार्टीका रमेश राई, स्वतन्त्र उम्मेदवार जगदीश बस्नेत, नयाँ शक्ति पार्टी नेपालका मुकुन्द पोखरेलको शैक्षिक योग्यता भने स्नातक रहेको छ।

त्यसैगरी स्वतन्त्रतर्फका राजेन्द्रकुमार कार्कीले आईए गरेका छन् भने राप्रपाका डोलबहादुर कार्की, नेपाली कांग्रेसका अंगद खड्काको शैक्षिक योग्यता एसएलसी मात्र रहेको छ। त्यसैगरी, प्रदेशसभा ‘ख’ मध्यपुर थिमीका उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसका गणेशमान चक्रधर साक्षर मात्र हुन् भने नयाँ शक्ति पार्टी नेपालका पूर्णचन्द्र श्रेष्ठको औपचारिक अध्ययन छैन। यस क्षेत्रमा विवेकशील साझा पार्टीका रामभक्त बाडे औद्योगिक इञ्जिनियर हुन्।

त्यस्तै संघीय समाजवादी फोरमका कृष्णकुमार घजु स्नातक, राप्रपाका रमेश राजबाहक आईए, स्तन्त्रका सुजिता कायस्थ आईए र देशभक्त गणतान्त्रिक मोर्चाका राजीव बोहरा एसएलसी उत्तीर्ण छन्। नेमकिपाका प्रेमजन थापाको मात्र स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.