|

झापा: २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३० मत प्राप्त गरेको थियो। त्यसमध्ये प्रत्यक्षतर्फ २०२ मत र समानुपातिकतर्फ २२८ मत थियो। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विजय प्राप्त गरे तर राप्रपाको मत ह्वात्तै बढेर कांग्रेसको निकटतम् प्रतिद्वन्द्वीको हैसियत प्राप्त गर्‍यो।

सिटौलाविरुद्ध झापा- ३ मा राप्रपाका नेता राजेन्द्र लिङ्देन उम्मेदवार बनेका थिए। सिटौलाले १४ हजार ३५५ मत ल्याउँदै सभासद् भने भने लिङ्देन दोस्रा भए। गएको स्थानीय तहको निर्वाचनमा पनि झापामा राप्रपा नेपालले राम्रो स्थान ल्याउन सफल भयो। तीनवटा गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको छ। अन्य क्षेत्रमा पनि राप्रपाले राम्रो मत ल्याउन सफल भएको छ।

२०७० सालको निर्वाचनमा कांग्रेस नेता सिटौलासँग पराजित राप्रपा नेपालका महामन्त्री लिङ्देन मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा- ३ मा प्रतिस्पर्धा गर्दै छन्। केन्द्रमा राप्रपाले नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लडिरहँदा झापामा भने राप्रपा महामन्त्री लिङ्देन वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लड्दै छन्।

सबैले झापाको चुनावी गठबन्धनलाई चासोका रूपमा हेरिरहँदा नेता लिङ्देन भने यसलाई त्यति अचम्म मान्‍नु नपर्ने बताउँछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आधार इलाका मानिँदै आएको झापा क्षेत्र नम्बर- ३ मा कांग्रेसले आफ्नो चरित्र देखाउँदा वाम गठबन्धनसँग चुनावी तालमेल गर्नुपरेको बताउँछन् उनी। ‘यसमा मेरो खासै टिप्पणी छैन, यो नेपाली कांग्रेसको कारणले राप्रपा-वाम गठबन्धन निर्माण भएको हो', लिङ्देन भन्छन्, 'यसलाई मैले धोकाभन्दा पनि नेपाली कांग्रेसले आफ्नो खास रूप देखायो भन्‍ने अर्थमा बुझेको छु। जसले धोका, छलछामलाई राजनीति मानेको छ, त्यो उसले देखायो। तर राजनीति भनेको इमान्दारी हो।’

जादू टुनामुना भएन भने ५० हजार मतले जित्छु

२०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेस नेता सिटौलाका प्रतिद्वन्द्वी रहेका लिङ्देन राप्रपा र वाम गठबन्धनको मत मिलाउँदा सजिलै २५ हजारको मतान्तरले आफूले चुनाव जित्दै गरेको बताउँछन्। वामपन्थी गठबन्धनसँग आवद्ध भएका राजनीतिक दलहरू र राप्रपाले प्राप्त गरेको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा अहिले झापा- ३ मा २५ हजार बढीको मतान्तरले यो गठबन्धन माथि छ। ‘हामी आफैँले बलियो पार्टीको रूपमा नेपाली कांग्रेसलाई जित्‍नका लागि तयारी गरिराखेको बेला जुन गठबन्धनको संस्कृति निर्माण भयो, यसले चुनाव जित्‍नका लागि झनै सहज स्थिति निर्माण भएको छ’, उनी भन्छन्।

लिङ्देनले यसैलाई जीतको आधार मान्दै आएका छन्। सँगै स्थानीय तहको निर्वाचनमा हल गोरुले प्राप्त गरेको पाँच हजार बढी मतलाई समेत लिङ्देनले राप्रपाले प्राप्त गर्ने मतमा गणना गरेका छन्। पछिल्लो समय नयाँ थपिएका १५ हजार मतदाताहरूमा पनि अधिकांश राप्रपालाई मत दिने मतदाता रहेका नेता लिङ्देनको दाबी छ। सँगै कांग्रेसमा रहेर पनि आफूलाई सहयोग गर्ने थुप्रै शुभचिन्तकहरू रहेको उनको भनाइ छ। यी सबैलाई आधार मान्दा कांग्रेस नेता सिटौलालाई ५० हजार मतले जित्‍नसक्‍ने उनको तर्क छ।

‘स्थानीय तहको निर्वाचनमा यही ठाउँमा सबैभन्दा धेरै चर्चामा आएको हल गोरुले राप्रपालाई बिगार्‍यो भन्‍ने कुरा छ। पाँच हजार बढी मत यस निर्वाचन क्षेत्रमा हल गोरुलाई गएको छ, त्यो त राप्रपाकै मत भयो', लिङ्देन भन्छन्, 'यसरी हेर्दाखेरि हामीले नेपाली कांग्रेसमै भएर हामीलाई सहयोग गरिराख्‍ने अन्य यस्तै मतहरू गणना गर्ने हो भने त ५०अौँ हजारको मतान्तरले हाम्रो गठबन्धनले त्यहाँ विजय प्राप्त गर्ने सम्भावना देखिन्छ।’

लिङ्देन यस क्षेत्रको विकासका लागि मतदाताले आफूलाई विजयी गराएर पठाउनेमा ढुक्क छन्। उनी गठबन्धनको बलियो मताधिकार र आफूले गरेको कामका आधारमा पनि कुनै अप्रत्यासित घटनाक्रम नभएमा आफू नै विजयी हुने बताउँछन्, जसलाई उनले जादू,टुनामुनाको नाम दिएका छन्। ‘मेरो विजय त निश्‍चित छ नै, यदि कुनै जादू, टुनामुना भएन भने', लिङ्देन भन्छन्, 'हामीले अहिले त्यो मतलाई सुरक्षित गर्न, संरक्षित गर्न र मतान्तरलाई अझै बढाउनका लागि गठबन्धन सम्बद्ध राजनीतिक दलहरूको साविकको वडा तहसम्मको संयुक्त कमिटीहरूको निर्माणको काम भर्खरै सम्पन्‍न गरेका छौँ। सबै हिसाबले जीत सुनिश्‍चित छ।’

लिङ्देनले मतदातालाई आर्थिक प्रलोभन जस्ता कुराले प्रभावित नगरेमा चुनाव आफूले नै जित्‍ने दाबी गरे। तर अब जनता सचेत भइसकेकाले आर्थिक चलखेलले काम नगर्ने उनको धारणा छ। जनतामा चेतना आइसकेका कारण पैसाले मात्रै मत परिणाम फरक पार्न नसकिने उनी बताउँछन्।

यता गाईलाई दिँदा त्यता ओलीलाई सूर्यमा भोट!

झापामा राप्रपा र वाम गठबन्धनबीच भएको चुनावी तालमेललाई अनौठो तालमेलका रूपमा समेत बुझिएको छ। तर झापाका वाम गठबन्धन र राप्रपाका नेताहरू भने यसलाई स्वाभाविक मान्छन्। चुनावी प्रतिस्पर्धामा उत्रिएका लिङ्देन पनि यसलाई स्वाभाविक भन्छन्।

लिङ्देनमाथि प्रतिस्पर्धीले राजावादी/मण्डलेको आरोप समेत लगाउने गरेका छन्। तर यस्ता विषयले कुनै अर्थ नराख्‍ने उनी बताउँछन्। भन्छन्- ‘यी विषयले केही अर्थ राख्‍दैन, समय धेरै अगाडि बढिसक्यो। अहिले त्यस्तो प्रकारको आशंका र सम्भावना पनि देखिँदैन।’

वाम गठबन्धनसँग राप्रपाले गरेको तालमेललाई अनौठौ नमान्‍न लिङ्देन आग्रह गर्छन्। ‘यहाँ कुनै एमाले/माओवादीका साथीहरूले गाई चिह्नमा मतदान गर्दा उहाँको पार्टी अध्यक्ष (केपी शर्मा ओली)ले झापा- ५ मा सूर्य चिह्नमा मत प्राप्त गर्नुहुन्छ', लिङ्देन भन्छन्, 'यो चुनावी तालमेल हो। उहाँलाई १०अौँ हजार गाई चिह्नमा मतदान गर्नेहरू हुनुहुन्छ। यो भनेको लेनदेनको कुरा पनि हो। यो चुनावी तालमेल हो।’

यस गठबन्धनबाट धोका जस्ता कुराको कुनै सम्भावना नरहेको लिङ्देनले दाबी गरे। १/२ जना व्यक्तिको असन्तुष्टि रहन सक्‍ने भए पनि अहिले त्यस्तो केही नपाएको उनले बताए।

सिटौला केवल नामले लडिरहेका छन्

राप्रपा महामन्त्री लिङ्देन आफूले कुनै पनि  प्रतिस्पर्धीलाई कमजोर आँकलन भने नगरेको बताउँछन्। हिजोदेखि झापामा लामो समय शासन गरेर पनि कांग्रेस नेता सिटौलाले झापा- ३ को विकासमा ध्यान नदिएको उनको आरोप छ।

झापाका जनताको सुखदु:खमा साथ नदिएर अहिले केवल नामका कारण सिटौला चुनावी मैदानमा उत्रिएको उनी बताउँछन्। ‘म कुनै पनि उम्मेदवारलाई कमजोर मान्दिनँ। सबै उम्मेदवार परिणाम नआएसम्मका लागि विजयका लागि सम्भावना बोकेकै मान्छेहरू हुन्', लिङ्देन भन्छन्, 'यसमा कसैलाई होच्याएर भन्‍नु आवश्यक छैन। तर पनि उहाँ (कृष्ण सिटौला)चाहिँ यसपालि केवल नामले लडिरहनुभएको छ।’

के छन् लिङ्देनका चुनावी एजेण्डा? 

२०४६ सालको राजनीतिक परिवर्तनपछि चुनाव हारे पनि वा जिते पनि झापा- ३ नम्बर क्षेत्रको नेतृत्व नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्दै आएका छन्। २०६४ सालको निर्वाचनमा माओवादीसँग हारे पनि अन्य समयमा भने झापा- ३ बाटै सिटौला निर्वाचित हुँदै आएका छन्।

लामो समय झापाको जनप्रतिनिधि भएर गृहमन्त्री/उप्रधानमन्त्री भए पनि झापाको दुर्गम क्षेत्रले सधैँको दुर्गमता व्यहोर्नुपरेको लिङ्देनको आरोप छ।

‘मेरो चुनावी क्षेत्र झापाको सबैभन्दा दुर्गम क्षेत्र हो। अहिले पनि त्यो ठाउँका आधाभन्दा बढी ठाउँहरूमा शौचालय छैन। अहिले पनि त्यस ठाउँका अधिकांश ठाउँका गाउँले कालोपत्रे सडक हेर्नका लागि बिर्तामोड आउनुपर्ने वा बिहार जानुपर्ने अवस्था छ', उनी भन्छन्, 'यो २५ वर्षको अवधिमा यस ठाउँले विकास हुने मौका पाएन।’

भारतको बिहारमा बलेको बत्तीको उज्यालो हेरेर टुकी बालेर बस्‍नुपर्ने अवस्थाको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको लिङ्देन दाबी गर्छन्। उनले लामो समयदेखि आफूले पठाएको प्रतिनिधि गलत भएका कारण विकास हुन नसकेको भन्‍ने कुरा जनताले बुझेको बताए। ‘अहिले आएर जनताले यो सबैको कारण हामीले पठाएको प्रतिनिधिको अक्षमता हो भन्ने बुझेका छन्', उनी भन्छन्, 'त्यसकारण अब यो गल्ती गर्नुहुँदैन, परिवर्तन गर्नुपर्छ भन्‍ने पक्षमा जनता छन्।’

लिङ्देनले विकास, समृद्धि र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा रहेका मेची, बिरिङ जस्ता ठूला नदीहरूका कारण वर्सेनि हुने डुबानको समस्या, निर्वाचन क्षेत्रमा रहेको ठूलो जंगलका कारण जंगली हात्तीले जनताको घर भत्काउने, बालीनाली नोक्सान गर्ने, ज्यान लिने जस्ता घटनाक्रमको अन्त्यका लागि त्यसको उचित व्यवस्थापन गर्ने उनको योजना छ।

नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवल पनि लिङ्देनकै निर्वाचन क्षेत्रमा पर्छ। त्यसको पर्यटकीय महत्त्वको विकास, प्रचार प्रसार गर्ने, उक्त क्षेत्रलाई आगामी दिनमा नेपालको विकासको हिसाबले नमुना क्षेत्र बनाउने योजनाका साथ लिङ्देनले अहिले जनतासँग मत मागिरहेका छन्।

झापाको कर्णालीको अवस्था सुधार्छु

झापा जिल्लाको दुर्गम भूमि, जसलाई राजेन्द्र लिङ्देनले ‘झापाको कर्णाली’ नाम दिएका छन्। विकासको मुख देख्‍न नपाएको उक्त क्षेत्रमा विकासका कार्यक्रम पुर्‍याउने उनको योजना छ। स्थानीय तहको निर्वाचन भइसकेपछि स्थानीय तहले कार्यक्रम सञ्‍चालन गर्न केन्द्रीय तहमा ऐन, कानुन नबनेका कारण त्यसका लागि ऐन, कानुन बनाउनतिर लाग्‍ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

दुर्गमताका कारण असहज परिस्थितिमा अस्पतालको मुखसमेत नदेख्‍ने क्षेत्रमा सेवा सुबिधा पुर्‍याउन लाग्‍ने लिङ्देनको योजना छ। ‘मज्जाले पानी पर्‍यो भने, सर्पले टोक्यो भने, सुत्केरी व्यथाले च्याप्यो भने अहिले पनि त्यहाँका अधिकांश मान्छेहरू एम्बुलेन्स नपाएर अकालमा मर्नुपर्ने अवस्था छ', लिङ्देन भन्छन्, 'त्यतिको ग्राभेल सडक, अहिलेको सडक त म जिल्ला विकास समिति (उहाँहरूले टीके सभापति भनिरहनुभएको छ) को सभापति भएको बेला मैले बनाएको हो।’

आफ्नो प्रतिस्पर्धीले आफुलाई शाही शासनको प्रतिनिधि, टिके सभापति भनेर भनेपनि सिटौला प्रतिनिधि हुदै आएको झापा-३ को दुर्गम क्षेत्रमा आफु सभापति हुँदा खोलेका बाटाहरु मात्र भएको लिङ्देनले दाबी गरे। भने-‘म सभापति भएको बेला पाखामारी, बानुबारी, घेराबारी, पथरिया, केचना जस्ता गाउँहरुमा ग्रावेल सडक पनि थिएन। बिजुलीका एउटा बल्व पनि थिएन। मैले एकैचोटी त्यो ठाउँहरुलाई सडक सञ्जालसँग जोड्ने र बत्तिहरु लैजाने काम गरेको हुँ।’

झापा क्षेत्र नम्बर- ३ मा हल्दिबारी, कचनकवल, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको वडा नम्बर- १० पर्छन्। यहाँ एक लाख १४ हजार ४०० बढी मतदाता छन्। यस निर्वाचन क्षेत्रमा वाम गठबन्धन र राप्रपा जोड्दा २५ हजार बढीको मतान्तर छ।

यसै मतलाई आधार मानेर वाम गठबन्धनसहितको राप्रपाका महामन्त्री लिङ्देन चुनावी मैदानमा छन्। उनका प्रतिस्पर्धीका रूपमा राष्ट्रिय राजनीतिमा एक समय राम्रै चर्चा कमाएका कृष्ण सिटौला चुनावी मैदानमा छन्। यस कारण पनि यस क्षेत्रलाई राष्ट्रिय रूपमा विशेष चासोका रूपमा हेरिएको छ।

यी दुवैका आआफ्नै दाबी छन्। सिटौलाले वर्षौंदेखि राज गर्दै आएको क्षेत्र भएकाले उनी सजिलै यो क्षेत्र छाड्ने पक्षमा छैनन्। लिङ्देन पनि राप्रपाको राम्रो मत भएको र अहिले वाम गठबन्धनको समेत सहयोग भएकाले चुनाव कुनै पनि हालतमा आफूले जित्‍नेमा ढुक्‍क छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.