|

बैतडी : पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर सातका चार जिल्लामा चुनावी प्रचार उत्कर्षमा पुगेको छ। उम्मेदवारहरुले झुलाघाटको पुल निर्माणदेखि गाउँगाउँसम्म सडक पुर्‍याउने आश्वासन मतदातालाई दिएका छन्।

ढिलै भएपनि मतदाता शिक्षकहरु गाउँगाँउ पसेका छन्। खेतीपातीको समय सकिएकाले मतदाता पनि फुर्सदिला भएका छन्। साविकका दुई निर्वाचन क्षेत्र मिलाएर यसपाली एउटै निर्वाचन क्षेत्र भएको बैतडीमा कसले बाजी मार्छ त्यसका लागि भने मत परिणाम पर्खनैपर्ने भएको छ।

एउटामात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका दामोदर भण्डारी र लोकतान्त्रिक गठबन्धनबाट नन्दबहादुर चन्द उम्मेदवार छन्।

प्रदेशसभा निर्वाचनमा भने वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र लिलाधर भट्ट उम्मेदवार छन्। लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका गणेशबहादुर चन्द र कांग्रेसकै हरिमोहन भण्डारी उमेदवार छन्।

बैतडीको चुनावी अंकगणित हेर्ने हो भने २०६४ सालको संविधानसभा निर्वाचनमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा झण्डै तीन गुणा बढी थियो। २०७० सालो निर्वाचनमा एमाले र माओवादीको मत कांग्रेसको भन्दा झण्डै ८ हजार बढी थियो। यसवर्ष भएको स्थानीय तहको मत हेर्दा वाम गठबन्धन १२ हजार मतले अगाडि छ। यसैलाई आधार मानेर अहिले वाम गठबन्धनले आफ्नो जित सुनिश्चित रहेको दावी गरेको छ।

अंकगणित जे भए पनि बैतडीमा लोकतान्त्रिक पक्षधरहरुको जित हुने लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा उमेदवार गणेशबहादुर चन्द बताउछन्। उमेदवारको छलिया (नाच) सहितको प्रचार प्रसार, बाजागाजा सहितका र्‍यालीले चुनावी माहौल उत्कर्षमा पुगिरहेका बेला मतदानका लागि तयारी पनि अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन आचारसंहिताको वेवास्ता

पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेका छन्। जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्धता जनाए पनि उनीहरुले उल्लंघन गर्दै निर्वाचन प्रचार गरिरहेका हुन्। बैतडी सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पलेटले सिंगारिएको छ। पर्चा, पोष्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ।

यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमाण्डौं, खोडपे बजार, खोचलेक बजारलगायतका क्षेत्रमा पनि झण्डाको माला नै बनाएर प्रचार गरिएको छ। विद्यालय शान्ति क्षेत्र भनिए पनि केही दलले चुनावी सभा विद्यालयमै गरेका छन्। निर्वाचनमा प्रचार गर्न ठूलो साउन्ड सिस्टम प्रयोग गर्ने, बालबालिकाको प्रयोग गरिएको, अनुमतिविना मापदण्डविपरित सावरीसाधनको प्रयोग भइरहेका मौखिक उजुरी आएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.