|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईलाई मत दिन अप्ठेरो नमान्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन्। सोमबार गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा उनले बाबुराम भट्टराई जितेर सांसद हुँदा कांग्रेसको प्रजातान्त्रिक विचारले जित्ने भन्दै ढुक्कसँग मत दिन आग्रह गरेका हुन्।

द्वन्द्वपीडित कांग्रेस कार्यकर्ताले पार्टीको समर्थन रहेको उम्मेदवार भट्टराईलाई मत नदिने भनी पत्रकार सम्मेलन नै गरेको केही हप्तापछि गोरखा पुगेका थापाले व्यक्तिगत कुरा बिर्सेर भट्टराईलाई मत दिन आग्रह गरेका हुन्। 'हिजो द्वन्द्वकालमा धेरै सहिद परिवारले दुख पाउनुभएको छ। म अहिले तपाईहरुलाई आफ्ना निजी दुख विर्सन आग्रह गर्दैछु। तपाईका दुख हामीले विर्सेका छैनौं, हामी सहिद परिवार, घाइते परिवारका साथीहरु सँगसँगै छौं' उनले भने 'अहिले तमाम कुरा बिर्सेर पार्टीका आह्वान सुन्नका लागि साथीहरु आग्रह गर्दछौं।'

कांग्रेसको दायित्व संविधान जोगाउने समेत रहेको भन्दै उनले बाबुराम भट्टराई, पशुपतिशम्शेर राणा र कमल थापाले जित्दा  प्रजातन्त्र बलियो पार्ने कांग्रेसको सिद्धान्त बलियो हुने दावी गरे। 'यो क्षेत्रमा बाबुराम भट्टराई जित्नु भनेको संसदमा कांग्रेसको बलियो हुनु हो' उनले भने 'कतिपय कुरामा हामीलाई अप्ठेरो लागेको छ। तर अहिलेको अप्ठेरो भन्दा विगतको अप्ठेरो सम्झिनुपर्छ। हामीसँग दुश्मनी गरेका साथीहरुसँग हात समातेर हिँड्नुपर्छ।'  

माओवादीभित्र केही नेताहरुको सोचाइ कांग्रेस मास्नुपर्छ, मुलुकमा कम्युनिष्ट पार्टीमात्रै हुनुपर्छ भन्ने रहेको भन्दै थापाले त्यो सोचाइलाई पराजित गर्न पनि भट्टराईलाई जिताउनुपर्ने बताए। 'एउटा पनि कांग्रेसको साथीले नाता पर्छ सम्बन्ध पर्छ, यो पर्छ त्यो पर्छ भनेर आँखामा चिह्नमा किन मत हाल्ने भनेर अलमलिनुहुन्छ भने एकपटक सोच्नुस्, कांग्रेस अप्ठेरोमा पर्नुका कारण माओवादीभित्रका एकथरी साथीहरु लगातार लागिरहनुभएका कारण हो' उनले भने 'त्यो प्रवृत्ति चिन्नुस् म यही आग्रह पनि पनि तपाईहरुकोमा आएको हो।'

बाबुराम भट्टराईले जित्दा राजनीतिलाई जनतासँग जोड्ने प्रवृत्तिले जित्ने पनि थापाले दावी गरे। बाबुराम भट्टराईले जित्दा राजनीतिलाई जनतासँग जोड्ने प्रवृत्तिले जित्छ। यो प्रवृत्तिसँग कतिपय ठाउँमा प्रतिस्पर्धा गरौंला तर यो प्रवृत्ति जित्नुपर्छ' उनले भने।

थापाले गोरखाली जनताले एक पटक फेरि शान्तिको पक्षमा मत दिनुपर्ने बताए। 'गोरखाली जनता विभाजनको पक्षमा होइन भन्ने स्थापित गर्न पनि तमाम कुरा विर्सेर कुनै अलमलमा नपरी कांग्रेसका सबै सदस्यले बाबुराम भट्टराईलाई मतदान गर्नुपर्छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.