|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने सरकारले अहिलेको सरकारले गरेका केही निर्णय उल्ट्याउने बताएका छन्। अहिलेको सरकार चुनाव गराउनका लागि मात्र भएकाले दूरगामी निर्णय गर्न नपाउने भन्दै ओलीले बुढीगण्डकी आयोजनाको ठेक्का खारेज लगायतका केही निर्णय आउने सरकारले उल्ट्याउने बताएका हुन्। 

'एक महिने सरकारले वम पड्केको नियन्त्रण गरेको छैन तर लाइसेन्स खारेज गर्ने र दिने जस्ता थुप्रै काम गरेको छ, ती काम आगामी सरकारले करेक्सन गर्ने छ' सोमबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको अन्तर्कियामा ओलीले भने। उनले छिमेकी देशहरुसँग पारस्परिक सम्बन्ध राख्ने आयोजना तथा ठूला आयोजनाहरुमा लाइसेन्स खारेज गर्ने तथा दिने काम भएको भन्दै सरकारले अधिकार दुरुपयोग गरेको आरोप लगाए। 'बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का अघिल्लो सरकारले चिनियाँ कम्पनीलाई दियो तर, छिमेकी देशसंग सम्बन्ध राख्ने यस्ता आयोजनाको ठेक्का खारेज यो सरकारले गर्न हुदैनथ्यो' ओलीले भने।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रतिस्पर्धाको आधारमा ठूला आयोजनाको ठेक्का दिनुपर्ने मान्यता विपरित बुढीगण्डकी आयोजनाको ठेक्का दिइएकोले खारेज गरिएको बताए। उनले सरकारी कर्मचारी तथा संवैधानिक निकायमासमेत राजनीतिक भागबण्डा गरिएका कारण आर्थिक पारदर्शिता हुन नसकेको बताए।

'पहिलो प्राथमिकता पोलिटिक्स (राजनीति), दोस्रो प्राथमिकता पोलिटिक्स, तेस्रो प्राथमिकता समेत पोलिटिक्स हुँदा हामी आर्थिक विकासमा पछि परेका छौँ, कर्मचारीतन्त्र मात्रै नभई संवैधानिक नियोगहरुमा समेत भागवण्डा गर्ने र लेबी उठाउने कारणले गर्दा हामी पछि परेका छौं' महतले भने।

विनाविभागीय मन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले संविधानमा उल्लेख गरे बमोजिम अबको समय आर्थिक विकासको भएको बताए। उनले वाम गठबन्धनको सरकार आउँदा निजी क्षेत्रमाथि अंकुश लाग्ने हो कि भन्ने चिन्ता नलिनको लागिसमेत उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले मुख्य तीन दलले लामो समयदेखि जनतालाई आश्वासन मात्रै देखाउने गरेको आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.