|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्।

चुनावी अभियानका क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवा र झापामा रहेका एमाले अध्यक्ष ओली सोमबार काठमाडौं आउनेवित्तिकै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए।

प्रधानमन्त्री देउवाले आइतबार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गरेका प्रम देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि सोमबार लाजिम्पाट गई पुत्र वियोगमा रहेका माओवादी अध्यक्ष प्रचण्डसहित परिवारलाई भेट गरी समवेदन प्रकट गरेका छन्।

एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गरेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओली लगायतले त्यहाँ रहेको प्रकाश दाहालको फोटोमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। प्रचण्डपुत्र प्रकाशको आइतबार विहान हृदयघातका कारण निधन भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोमबार पुत्रवियोगमा परेका माओवादी अध्यक्ष प्रचण्डलगायत परिवारका सदस्यलाई भेट्न लाजिम्पाट पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.