|

काठमाडौं: बागबजारको एउटा चेपमा रहेको सानो कोठामा नरेश चौधरी वाम गठबन्धनको चुनाव चिह्न अंकित झण्डा बनाउन व्यस्त थिए। एक महिनादेखि उनलाई काम गर्न भ्याइनभ्याई छ। एउटै झण्डामा एमालेको चुनाव चिह्न सूर्य र माओवादीको हँसिया-हथौडा बनाउन उनी स्क्रिन प्रिन्टका लागि प्लेट तयार पार्दै थिए। प्लेटमा उनी सूर्य र हँसिया हथौडाको चित्र बनाउन व्यस्त थिए।

कोठामा नअटेर बाहिर एक छेउमा रमेश शर्मा धमाधम राजपाको चुनाव चिह्न ‘छाता’ अंकित ब्याच काट्न व्यस्त थिए। त्यही पसलको एउटा कुनामा दुई जना कामदारहरू तयार भएको झण्डा धमाधम मिलाउँदै थिए। एउटै झण्डामा दुई पार्टीको चुनाव चिह्न बनाउनुपर्ने मागचाहिँ करिब १५ दिनअघिबाट मात्र हुन थालेको नरेश बताउँछन्। भन्छन्, ‘एक महिनाअघिसम्म त छुट्टाछुट्टै बनाउनुपर्थ्यो तर १५ दिनदेखि एउटै झण्डामा यसरी दुईवटा चिह्न हान्नुपर्ने झण्डाको मागचाहिँ अचानक बढेको छ।’

एक महिनाअघिदेखि चुनावी प्रचार सामग्री बनाउने कामको चाप भएको नरेश बताउँछन्। ‘एक महिनादेखि धेरै काम आइरहेका छन्’, उनी भन्छन्, ‘पहिलो चरणको निर्वाचनको काम अब लगभग सकियो। फेरि २१ गतेका लागि काम आउन थालेका छन्।’ उनको पसलमा काठमाडौं र अन्य जिल्लाबाट बराबर काम आएको उनी बताउँछन्। भन्छन्, ‘लगभग काठमाडौं र अन्य जिल्लाको उस्तै छ। तर स्थानीय तहको चुनावमा जस्तो धेरै कामचाहिँ आएको छैन।’
छ जना कामदार राखेर पनि काम सक्नलाई धेरै मुस्किल परेको चौधरीको भनाइ छ।

दैनिक झण्डा मात्र ६० हजार रूपैयाँसम्मको बनाएको र ब्याच पनि दैनिक सातदेखि १० हजार रुपैयाँसम्मको बनाएको उनी बताउँछन्। उनी मात्र होइन, बागबजार क्षेत्रमा रहेका प्राय: सबै प्रेस तथा आर्टहरूमा भीड नै छ। कसैलाई झण्डा सिलाउन भ्याइनभ्याई छ त कसै प्रचार सामग्री छाप्न। राजनीतिक दलका कार्यकर्ताहरूको पनि बाक्लै उपस्थिति छ त्यहाँ। कोही झण्डाको अर्डर दिँदै छन् त कोही तयार भएको झण्डा लाँदै छन्। 

दुर्गभ क्षेत्रमा प्रेसहरू नहुने भएकाले प्रचार सामग्री बनाउनलाई उम्मेदवारहरूले आफ्ना कार्यकर्तालाई काठमाडौंसम्म पठाउने गरेको व्यवसायी बताउँछन्। 

बागबजारकै गौरव प्रेसमा पनि त्यस्तै व्यस्तता थियो। प्रेसकी सञ्चालक रमा बस्नेत चुनावी प्रचार सामग्री बनाउन आएकाहरूसँग कुरा गर्दै थिइन्। यस पटक झोला र टिसर्टको अर्डर नआएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘झोला र टिर्सट बनाउने अर्डर आएन। पहिलाको चुनावमा त धेरै आउँथ्यो। कमाइ पनि राम्रै भएको थियो।’ राती ११ बजेसम्म काम नगरे अहिले आएका मागहरू पूरा गर्न नसकिने उनी बताउँछिन्। भन्छिन्, ‘राती ११ बजेसम्म काम नगरे माग नै पूरा गर्न सकिँदैन। कामको धेरै चाप छ।’ यस पटकको चुनावमा झापाबाट आएका प्रचार समाग्री धेरै छापेको उनको भनाइ छ।

‘यस पटक अन्य जिल्लाबाट पनि धेरै आएको छ। पर्चा बनाउनचाहिँ झापाबाट धेरै आयो। झण्डाचाहिँ काठमाडौंबाट भन्दा बाहिरबाट धेरै आएको छ’, उनको भनाइ छ, ‘अब काठमाडौंबाट पनि आउँछ होला।’ चुनावले गर्दा यस पटक व्यवसाय धेरै राम्रो भएको उनले बताइन्। ‘चुनाव आएकै बेला रहेछ राम्रो व्यापार हुने’, उनले थपिन्, ‘अरू बेला त खासै काम पनि आउँदैन।’

चुनावमा भिजिटिङ कार्ड जस्तै बनाएर पनि प्रचार राम्रै हुने गरेको छ। उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड जस्तै प्रचार सामग्री बनाएर मतदातालाई बाँड्ने गरेकाले यसको व्यापार पनि राम्रै छ। अरू बेला समान्य भिजिटिङ कार्ड बनाएर बसेका भोलेबाबा प्रेसका सञ्चालक राम नापितले अहिले व्यापार धेरै भएको बताए। उनले भने, ‘पहिलाको भन्दा व्यापार धेरै नै छ। दैनिक १० हजार रुपैयाँसम्मको व्यापार भएकै छ।’

व्यवसायीलाई सधैँ यसरी नै चुनाव आए हुने उनाी बताउँछन्। भन्छन्, ‘अरू बेला व्यवसाय चल्दैन, यही बेला हो। हामीलाई त सधैँ चुनाव आए पनि हुने जस्तो लाग्छ।’

हेर्नुहोस् थप फोटा:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.