घोषणापत्र वास्तविकताभन्दा माथि छन् : महत

|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघले दलका नेताहरुबाट केही विषयमा प्रतिवद्धता खोजेको छ। सोमबार मुख्य दलका नेताहरुलाई बोलाएर घोषणा पत्रमा उल्लेख गरिएका आर्थिक एजेण्डासहित आर्थिक अधिकारको सुनिश्‍चितता, एकल कर प्रणाली लगायतका विषयमा प्रतिवद्धता मागेको हो।

महासंघले 'अबको संकल्प आर्थिक समृद्धि' विषयमा राखेको राष्ट्रिय बहसमा भाग लिन झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नुवाकोटमा रहेका पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत हेलिकोप्टर मार्फत आउनुले कार्यक्रमको महत्व झल्काएको थियो। त्यस्तै पूर्व अर्थमन्त्री तथा विना विभागीय मन्त्री कृष्णबहादुर महरा, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले निजी क्षेत्रले राखेका मागमा प्रतिवद्धता जनाए।

'राजनीतिक स्थिरता, नीतिगत स्थिरता, आर्थिक अधिकारको सुनिश्‍चितता, आर्थिक विकासमा साझा प्रतिवद्धता निजी क्षेत्रले दलहरुबाट खोजेको छ' महासंघकी अध्यक्ष भवानी राणाले भनिन्। उनले दलहरुले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कार्यक्रमको कार्यन्वयन र एकल कर प्रणालीका विषयमा समेत निजी क्षेत्रका तर्फबाट दलका नेताहरुको प्रतिवद्धता मागिन्।

'वाम गठबन्धनबाट तर्सिनुपर्दैन'

निजी क्षेत्रको मागमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन बनेपछि अर्थतन्त्रको विषयमा नकारात्मक हौवा फैलाएको भन्दै नतर्सन निजी क्षेत्रलाई आग्रह गरे। 'अहिले अर्थतन्त्रको विषयमा नकारात्मक हौवा फैलाइएको छ, साम्यवाद र अधिनायकवादको सन्दर्भ गाँसिएको छ, यसले (वाम गठबन्धन) केही फरक पर्दैन' ओलीले भने 'अब बन्ने सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नेछ।'

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले दलहरुले काल्पनिक योजनासमेत निर्माण गर्न सक्नुपर्ने बताए। 'दिगो विकास सूचांकलाई भेट्नको लागि हामीले बनाउने योजना सबै महत्वाकांक्षी देखिन्छन् तर पनि हामीले पूरा गर्नेपर्ने हुन्छ' ओलीले भने।

माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री कृष्णबहादुर महराले वाम गठबन्धन बन्दैमा आर्थिक नीति के होला भन्ने चिन्ता नलिन निजी क्षेत्रलाई आग्रह गरे। उनले संविधानमा उल्लेख भएको व्यवस्था अनुसार समाजवाद उन्मुख अर्थतन्त्र र तीन खम्बे अर्थनीति अबलम्वन गरिने बताए। 'हाम्रो अर्थनीतिको विषयमा संविधानमै उल्लेख गरिएको छ, यसै अनुसार हुनेछ' महराले भने।

महाराले निजी क्षेत्रमाथि कुनै पनि प्रकारको अंकुश नलागाई प्रतिस्पर्धी बजार विस्तार वाम गठबन्धनको एजेण्डा भएको बताए। 'विगतमा साम्यवादको नाममा बजारमा प्रतिस्पर्धी भएन, अहिले खुल्ला बजारको नाममा मनपरी भएको छ, हामी प्रतिस्पर्धात्मक बजार विस्तार गर्न चाहन्छौं' महराले भने।

घोषणापत्र वास्तविकताभन्दा माथि छन् : महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले दलहरु घोषणा पत्र महत्वाकांक्षी योजना बढी भएको बताए। 'कुन पार्टी र कसको घोषणा पत्र भन्नुपर्दैन, सबै दलका घोषणा पत्र वास्तविकतामा भन्दा माथि छन्, हामीले बनाएको योजना कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा खुलाउन सकेका छैनौं, कांग्रेसमा पनि समस्या छ बढी वामको घोषणा पत्रमा' महतले भने। उनले सहज रुपमा सडक यातायात समेत नबनेको अवस्थामा ५ वर्षमा केरुङबाट काठमाडौं, काठमाडौंबाट पोखरा रेल पुर्‍याउछौं भन्दै जनतालाई छल्ने काम भएको दाबी गरे।

नेपालमा वस्तु उत्पादन लागत बढ्दै गएको बताउदै यो अर्थतन्त्रको लागि नकारात्मक पक्ष भएको महतले बताए। 'संसारमै सबैभन्दा बढी सार्वजनिक विदा हामीकोमा छ,काम गर्ने समय अत्यन्तै न्युन छ, यसले उत्पादन लागत निकै बढाएको छ' उनले भने। उनले स्वदेशी तथा वैदेशिक लगानीको सुरक्षा सरकारको तर्फबाट दिलाउनुपर्ने आवश्‍यकता भएको  भन्दै कांग्रेस नेतृत्वमा सरकार बनेपछि विश्‍वास दिलाउन सक्ने दाबी गरे।

समय व्यवस्थापन गर्न नेताहरुलाई समस्या

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले समयमै ११:३० बजे कार्यक्रम सञ्चालन गर्ने बताएको थियो। तर,१२:३० बजेसम्म पनि कार्यक्रम सुरु हुन सकेन। निर्धारित समयमा आएका माओवादी नेता कृष्णबहादुर महरा अलमलमा परिरहेका थिए, कार्यक्रम कतिबेला सुरु हुन्छ भनेर आयोजकलाई सोधिरहेका थिए, उनी निस्कन हतार पनि गरिरहेका थिए।

१२:३० बजे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थल आए तर उनी आए पनि कार्यक्रम सुरु भएन। कांग्रेस नेता डा.महत आएपछि कार्यक्रम सुरु गर्न उचित हुने भन्दै प्रस्तोता टीकाराम यात्रीले केही समय पर्खने जानकारी गराए। तर, महराले दबाव दिएपछि महत नआउदै कार्यक्रम सुरु भयो।

अध्यक्ष भवानी राणाले विषयवस्तु बारे जानकारी गराउदा गराउँदै महत आइपुगे। राणाको पछि बोल्ने पालो महराको थियो। 'मैले बोल्नुपर्ने धेरै विषय संयुक्त घोषणा पत्रमा छ, केही कुरा राखेपछि म निस्कन्छु। सबै कुरा हाम्रा आदरणीय नेता केपी ओलीले भन्नु हुनेछ' महराले भने। उनलाई पहिलो चरणमा दिएको १० मिनेटमध्ये ६ मिनेटमा आफ्ना कुरा राखेर दाङ जान हतार भएको भन्दै हिडे।

कार्यक्रममा आएदेखि नै घडी हेरिरहेका कांग्रेस नेता महतको पालो आयो। सुरुमै उनले भने 'भर्खर नुवाकोटबाट उडेर आएको छु, उडेरै गइहाल्नुपर्नेछ, बहसमा कति समय भाग लिन सक्छु?' १० मिनेट दिएको समयमा १३ मिनेट बोलेका महत हतार गरिरहेको केपी ओलीले बुझे। 'डा.महतले छटपट छटपट गरिरहनु भएकोछ, उहाँलाई भोटको मात्रै चिन्ता छ, केही प्रश्‍न छन् भने सोधर पठाइहालौं' ओलीले आफ्नो पालो नआउँदै भने।  

महतले ओलीका केही कुरा सुनेपछि आफूलाई सोधिएका दुईवटा प्रश्‍नको उत्तर दिएर र भने 'पहिलो चरणको निर्वाचन हो, मेलाई हतार हतार छ, गइहाल्छु, सभामा भाग लिनुपर्छ।' त्यसपछि मञ्चमा ओली एक्लै भए पनि केही समयपछि संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ आइपुगेका थिए। दिउँसो साढे १२ सुरु भएको महासंघको कार्यक्रम करिब ३ बजेसम्म चलेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.