|

काभ्रेपलाञ्चोक : धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको २३औं दिक्षान्त समारोहबाट सोमबार एक हजार १ सय ९१ जना विद्यार्थी दीक्षित भएका छन्। चिकित्सा विज्ञान अन्तर्गत विविध विषयहरुमा स्नातकोत्तर तथा स्नातक गरेका विद्यार्थीहरु दीक्षित भएका हुन्। दीक्षित हुनेमा ७ सय ३३ जना महिला र ४ सय ५८ जना पुरुष  गरी १ हजार ५६ जना नेपाली र १ सय ३५ जना विदेशी नागरिक रहेको काठमाडौं विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालयका रुपमा परिचित भएको बताए। ‘सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञीक जनशक्तिको निर्माण गर्न सकेको छ’डा. सैजुले भने। उनले विश्वका विकसित मुलुकहरुको शैक्षिक संस्थासँग गुणस्तरमा काठमाडौं विश्वविद्यालयले प्रतिस्पर्धा गर्न सक्ने शिक्षण संस्थाका रुपमा ख्याति कमाइसकेको उल्लेख गर्दै चिकित्सा विधामा अध्ययन गर्न चाहने नेपालीहरुका लागि पहिलो प्राथमिकतामा पर्ने गरेको पनि बताए।

विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा हाम्रो सोच, विचार योजना र कार्यशैलीमा फेरिन थालेको उनको भनाइ छ। ‘अब अहिले दीक्षित हुने विद्यार्थीहरु योजना बनाएर अघि बढ्नुस्, तर योजना ब्यवहारिक होस्, योजना पूर्ति गर्नका लागि समूहको शक्तिमा विश्वास गर्न थालेर अघि बढेमा प्रगतिका पाइलाहरु कसैले रोक्न सक्दैन’उनले भने।

काठमाडौं विश्व विद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई सेवामा लाग्न आग्रह गरे। उनले सो दीक्षित विद्यार्थीहरुलाई गाउँमा सेवा गर्न पनि आग्रह गरे। ‘नेपालको समस्या भनेको घरघरमा दक्ष चिकित्सक पुर्‍याउन सकिरहेको छैन, त्यसको पूर्तिको लागि तपाईहरुको ब्यवसायले सेवा पुर्‍याउन सक्ने विश्वास लिएको छु’शिक्षामन्त्री श्रेष्ठले भने।

काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई नेतृत्व लिएर काम गर्न र परम्परालाई चुनौती दिन आग्रह गरे। ‘स्वास्थ्य क्षेत्रमा तपाईहरुलाई थुप्रै चुनौतीहरु छन्, तर पनि चुप लागेर नबस्नुहोस्, नेतृत्व आफै लिन तयार हुनुहोस्’श्रेष्ठले भने, ‘अरुले पाइला चालोस्, त्यसपछि आफू पछि लागौंला भनेर अर्काले पाइला चाल्ने क्षण पर्खेर नबस्नुस्।’

उनले परम्परालाई चुनौती दिनका लागि नयाँ संस्थाहरु स्थापना गर्ने, प्राज्ञिक कार्यक्रमको अगुवाई गर्ने, अध्ययन अनुसन्धानमा नयाँ सुरुवात गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यहरु विस्तार गरेर अघि बढ्न दीक्षित विद्यार्थीहरुलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.