|

बाँकेः राजनीतिक दलहरूले चुनावी अभियानलाई तीब्रता दिएपछि पछिल्लो समय पार्टी कार्यालयहरू सुनसान भएका छन्। नेता र कार्यकर्ताहरू प्रचार प्रसारका लागि गाउँ टोलमा खटिएपछि दलका पार्टी कार्यालय सुनसान भएका हुन्। 

कार्यालय कुरुवाबाहेक सबै नेता, कार्यकर्तालाई प्रचार प्रसारमा जान निर्देशन दिइएको नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले बताइन्। पार्टी कार्यालयमा नआएर सम्पर्क कार्यालयमा जान र पार्टी कार्यालयमा आउनेलाई पनि धेरै बेर बस्न नदिएर गाउँ टोलमा पठाउने गरिएको उनले बताइन्। ‘नेता, कार्यकर्ताहरू आफैँ पनि पार्टी कार्यालयमा आउँदैनन्, सबै जना चुनावी अभियानमा लागेपछि पार्टी कार्यालय सुनसान हुने गरेको छ’, उनले भनिन्। 

नेता, कार्यकर्ता खाली नहुने एमाले बाँकेको पार्टी कार्यालयमा पनि अहिले कार्यालय सचिवबाहेक अरू कोही भेटिँदैनन्। नेता, कार्यकर्ता आआफ्नो निर्वाचन क्षेत्रमा खटिएपछि पार्टी कार्यालय सुनसान हुने गरेको कार्यालय सचिव ऐनबहादुर हमालले बताए। उनले १५ दिनदेखि पार्टी कार्यालयमा आउनेको संख्या एकदमै न्यून हुने गरेको जानकारी दिए। ‘सबैलाई अभियानमा लाग्न कडा निर्देशन भएपछि कोही पनि पार्टी कार्यालयमा आउँदैनन्, पार्टी कार्यालयमा भेटिने नेता, कार्यकर्ता अहिले निर्वाचन सम्पर्क कार्यालय र गाउँ टोलको अभियानमा भेटिन्छन्’, हमालले भने। 

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले नेता, कार्यकर्ताहरू आफैँ जान्ने, बुझ्ने भएकाले पार्टी कार्यालयमा नआएर चुनाव प्रचार प्रसारमै लाग्ने गरेको बताए। पार्टी कार्यालयमा आएर समय खेर नफाल्न सुझाव दिँदै आआफ्नो निर्वाचन क्षेत्रमा खटिन नेता, कार्यकर्तालाई निर्देशन दिएको उनको भनाइ थियो। ‘पार्टी कार्यालयमा आएर गफ गर्ने फुर्सद कसैलाई छैन, सबै नेता, कार्यकर्ता गाउँमै व्यस्त छन्’, अध्यक्ष कोइरालाले भने। 

माओवादी केन्द्रका नेता, कार्यकर्ता पनि चुनावी अभियानमै रहेकाले पार्टी कार्यालय खाली हुने गरेको संयोजक आईपी खरेलले बताए। उनले एक दुई जनाबाहेक सबै फिल्डमै खटिएपछि कार्यालय सुनसान हुने गरेको बताए। ‘सबै नेता, कार्यकर्ता गाउँ पसेपछि कार्यालय सुनसान हुने गरेको छ’, उनले भने, ‘जरुरी परेका बेलासमेत नेता, कार्यकर्तालाई खोज्न मुस्किल पर्ने गरेको छ।’ 

राजनीतिक दलहरूका चुनावी प्रचार प्रसार सामग्री सम्पर्क कार्यालयबाट वितरण हुने भएकाले दलका पार्टी कार्यालयमा आउनेको संख्या एकदमै न्यून भएको राप्रपा बाँकेका सहसचिव रुद्रमणि न्यौपानेले बताए। कार्यालय कुर्नेबाहेक सबै नेता, कार्यकर्तालाई गाउँमा खटाइएको उनको भनाइ छ। ‘अहिले पार्टी कार्यालयभन्दा सम्पर्क कार्यालयमा नै भिडभाड हुन्छ’, उनले भने। मनोनयन दर्तासँगै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलका पार्टी कार्यालय पनि सुनसान भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.