|

काठमाडौंः निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थितिका बारेमा छलफल भएको छ। 

सोमबार निर्वाचन आयोमा भएको छलफलका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा रहेको आयोगका पदाधिकारीसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्तद्वय इला शर्मा र नरेन्द्र दाहालसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचारसंहितालगायतका विषयमा छलफल गरेको निर्वाचन आयोगद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले निर्वाचनमा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्नुपर्ने र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए। निर्वाचनको अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगले २०० भन्दा बढी जनशक्ति खटाउने जानकारी गराउँदै शर्माले भने, ‘निर्वाचन जनताको भाग्य निर्माण र स्थिर सरकार दिने विषय भएकाले सानोतिनो घटनाबाट त्रसित नभई निर्भिक भएर मतदानमा सहभागी हुन आयोगका तर्फबाट आम मतदातालाई आग्रह गर्दछु।’

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा भोटिङ मेसिनको प्रयोग गर्नेबारे विभिन्न अध्ययन भए पनि समयको चापका कारण प्रयोग हुन नसकेको जानकारी दिए। उनले विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन प्रचार प्रसारमा संगठित रूपमा बालबालिकाको प्रयोग, भोज भतेर आयोजना र अरू आचारसंहिता उल्लंघनका घटनामा कमी आएको उल्लेख गरे। 

निर्वाचन आचारसंहिता पालना गर्न लगाउने विषयमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई अभिप्रेरित गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदातालाई मतदान केन्द्रमा आउन प्रेरित गर्ने वातावरण बनाउने भूमिका खेल्न सुझाव पनि दिए।

निर्वाचन आयुक्त इला शर्माले मतदान व्यवस्थापनमा बढीभन्दा बढी महिला कर्मचारी र स्वयंसेविका खटाउन आयोगले निर्देशन दिइसकेको अवगत गराइन्। अर्का आयुक्त नरेन्द्र दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र नेपालको संविधान कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचनलाई अवरोध पुर्‍याउने पक्षलाई कानुनी दायरामा ल्याउन अप्ठेरो मान्नुपर्ने अवस्था नरहेको धारणा राखे। 

छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्यत्रय प्रकाश वस्ती, मोहना अन्सारी र गोविन्द शर्मा पौड्याल तथा सचिव वेदमणि भट्टराई र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी रहेका निर्वाचन आयोले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.