|

काठमाडौं : भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ। ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी  (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ।

नेमकिपाले पार्टी सचिव प्रेम सुवाललाई यस क्षेत्रको प्रतिस्पर्धामा उभ्याएको छ। बिजुक्छे प्रत्यक्षमा भिड्दा समानुपातिक सूचीमा राखिने सुवाल अहिले पार्टी अध्यक्षको विरासत जोगाउन लागिपरेका छन्। 

उनी आइतबार बिहान सात बजे दुवाकोटको चोटा बैठक पुगिसकेका थिए, आठ बजे वाद्यवादकको भेलामा। दुवै भेला सकेर पार्टी कार्यालय आउँदा साढे १० बजे भइसकेको थियो। सुवालको भेला चलिरहँदा वाम गठबन्धनका उम्मेदवार मिलन सुवाल भक्तपुर नगरको दूधपाटी, नासमना क्षेत्रको घरदैलोमा थिए। नेमकिपाका कडा प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बाबुराजा जोशी पनि बिहानै घरदैलामा सुडाल पुगिसकेका थिए। घरदैलोबाट भक्तपुर नगर फर्किँदा दिउँसो साढे एक भइसकेको थियो। 

कांग्रेस र वाम गठबन्धन बिहान र दिउँसो काँठमा भोट माग्न गए पनि राति भने नगरमा कोठेभेलामा सबै दल जुट्छन्। नेमकिपा गाउँको भोट तान्न जोडबलले लागेको छ भने अन्य दल नगरको। वाम गठबन्धन र कांग्रेसका उम्मेदवार गलाभरि माला लगाएर घरदैलोमा निस्कने गरेका छन् भने नेमकिपाका उम्मेदवार भने खादासमेत लगाउँदैनन्। उनीहरु जितपछि मात्रै माला लगाउने बताउँछन्।

भक्तपुर नगरमा विगतका निर्वाचनमा भन्दा बढी रङ्गीचङ्ची छ यसपालि। वाम गठबन्धनले नगरको भित्री सडकरगल्लीको वल्लो घरबाट पल्लो घरमा डोरी टाँगेर पार्टीको झण्डा राखेपछि नेमकिपाले पनि त्यही सिको गरेको छ। कांग्रेसले भने घरको छेउछेउमा फाट्टफुट्ट राखेको छ। कमलविनायक क्षेत्र झण्डामय छ। अन्य दलले मंसिर १ देखि घरदैलो सुरु गरे पनि नेमकिपाले घरदैलो सुरु गरेकै छैन। उनीहरु चोटा भेला, टोल बैठक र सभामा व्यस्त छन्। 

७० भन्दा बढी भेला गरिसकेको नेमकिपाले जनाएको छ। तर, अन्य पार्टीले नगरको भित्री क्षेत्रमा प्रचार तीव्र बनाएपछि नेमकिपा पनि प्रचारको प्रतिस्पर्धामा उत्रिएको छ। वाम गठबन्धनको प्रदेश सभा उम्मेदवार रोमन शिलाकार तथा मिलन सुवालको सम्पर्क कार्यालय रहेको घरको दायाँबायाँ दुवै घरमा नेमकिपाका उम्मेदवार सुवाल र प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाईंका तस्विर अंकित फ्लेक्स आइतबार उज्यालो हुँदा टाँसिइसकेको थियो। ‘त्यसबारे हामीलाई थाहै छैन,’ नेमकिपाका उम्मेदवार सुवालले भने। 

भक्तपुर नगरमा नेमकिपाले विकास नगरेको भन्दै जनता आफ्नो पक्षमा रहेको कांग्रेस उम्मेदवार बाबुराजा जोशी बताउँछन्। ‘नगरमा नेमकिपाको ६० प्रतिशत कार्यकर्ता छन्, नारायणमान बिजुक्छेलाई सहानुभूति दिन ४० प्रतिशतले मतदान गर्दै आएका थिए,’ उनी भन्छन्, ‘अब ४० प्रतिशत भोट कांग्रेसमा बढ्छ। भक्तपुर नगरले नयाँ नेतृत्व खोजेको छ।’ 

चोटा बैठक र टोल भेलामा जनताले पार्टीको भूमिकाको मूल्यांकन गरेर आफ्नो पार्टीको पक्षमा मतदान गर्ने सुवालले बताए। ‘चुनाव जितेपछि भक्तपुरको विकास मात्रै नभई देशको विकास र नीतिनियममा जोड दिन्छौं,’ उनले भने। नेमकिपाले वाम र लोकतान्त्रिक गठबन्धनलाई नक्कली गठबन्धनको आरोप लगाउने गरेको छ। यो गठबन्धन जनताको सेवा गर्नेभन्दा पनि भागबण्डाको राजनीति गरेको नेमकिपाको आरोप छ। नेमकिपाले कोठे भेलामा मतदातामा जाँदा भोट हाल्नसमेत सिकाउने गरेको छ।  

नेमकिपाले गाउँको भोट तान्ने रणनीति अघि सारेको छ भने अन्य दुई प्रतिष्पर्धी नगरमा केन्द्रित देखिन्छन्। नेमकिपाको भोट माग्ने काइदा पनि फरक छ स् कांग्रेस र वाम गठनबन्धनको घोषणापत्रको कमजोरी औंल्याउने। कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले घरदैलोमा भने विकासको आश्वासन सहितको पर्चा बाँडिरहेको छ। 

भक्तपुर १ मा लोकतान्त्रिक र वाम गठबन्धन नेमकिपाको विरासत भत्काउने प्रतिस्पर्धामा छन् भने र नेमकिपा जोगाउने। ०३९ र ०४४ मा वडाध्यक्ष बनेका सुवाल २०५४ को स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख बनेर नेतृत्व सम्हाले। २०६४ र ०७४  को निर्वाचनमा समानुपातिक सभासद बनेका सुवालले रुपान्तरित संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरे। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.