|

काठमाडौं : सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन्। गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन्। नेत्रविक्रम चन्द 'विप्लव; नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ। तर, त्यससम्बन्धी सूचना प्रहरीले पाएर पनि रोक्न नसक्नुले सूचना संयन्त्र असफल भएको निष्कर्ष निकालिएको हो।

सुरक्षा गोष्ठीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका बल प्रयोग गरेर विप्लवनेतृत्वको नेकपालगायत चुनावविरोधी समूहलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले विप्लव पार्टीका नेताहरूमाथि कारबाही गर्न निर्देशन दिएका थिए। उम्मेदवारहरूको जिउज्यानकै जोखिम भएपछि गृह मन्त्रालयले कठोर नीति बनाएको हो।

विप्लव नेतृत्वको नेकपाविरुद्ध आक्रामक कारबाही गर्न निर्देशन
प्रधानमन्त्री देउवाको निर्देशनलगत्तै गृहले ७७ जिल्लाकै प्रशासन र प्रहरीलाई विप्लव नेतृत्वको नेकपाका नेता र कार्यकर्तामाथि आक्रामक कारबाही गर्न परिपत्र गरेको छ। सोहीअनुसार सोमबारदेखि नै प्रहरीले सो पार्टीका नेता–कार्यकर्तामाथि खोजी सुरु गरिसकेको छ। विप्लवका कार्यकर्ताले प्रमुख दलका केन्द्रीय नेताहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन्।

कारबाही बढाउने बेला आइसक्यो : प्रहरी महानिरीक्षक अर्याल
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले कारबाही बढाउने वेला आइसकेको बताएका थिए। ‘आक्रमण गर्नेहरू मलाई पक्राउ गर भनेर आउँदैनन्,’ उनले भने, ‘प्रहरीले सक्रियता बढाएर शान्तिसुरक्षा बलियो बनाउनुपर्छ।’ शान्तिसुरक्षा कायम गर्न नसक्नेलाई कारबाही गरिने उनको भनाइ थियो।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले पनि सूचना संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिएका थिए। गृहले सातैवटा प्रदेशमा सुरक्षा गोष्ठी गरिसकेको छ। सबै क्षेत्रको सुरक्षा ब्रिफिङ र मूल्यांकन भइसकेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए। बैठकमा गुण्डागर्दी र मदिरालाई समेत सुरक्षा चुनौतीका रूपमा औँल्याइएको थियो। रसुवामा शनिबारदेखि नै मदिरा बिक्री वितरण रोक लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.