|

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले स्थिर सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै मतदातालाई चिठी लेखेका छन्। चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो पुग्ने पार्टी नेता कार्यकर्तालाई परिचालन गरी ओलीले आफूले लेखेको पत्र मतदाताकहाँ पुर्‍याएका हुन्।

अबको ५ वर्ष वामपन्थीलाई परीक्षण गर्न आग्रह गर्दै ओलीले प्रस्ट बहुमत दिएर स्थिर सरकार बनाउने अवसर अहिले आएको बताएका छन्। 'तपाईंहरुका अगाडि यसपटक वामपन्थीको बहुमतको सरकार बनाएर पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ', ओलीको पत्रमा लेखिएको छ। अध्यक्ष ओलीले धर्तीको संरक्षण र मानव जातिको सुख र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै मतदातालाई पत्र लेखेका हुन्।

अहिलेसम्म नेपालले पूरा समय काम गर्ने स्थिर सरकार पाउन नसकेकाले देश विकास र समृद्धि हुन नसकेको पनि पत्रमा उल्लेख गरेका छन्। ओलीले दुई तिहाइ बढी मतदाता वामपन्थी पार्टीको हुँदाहुँदै टुटफुटले गर्दा नेपालमा वामपन्थीको बहुमत सरकार बन्न नसकेको प्रस्टोक्ति पनि मतदातालाई दिएका छन्।

वामपन्थी सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर प्रचार गर्नेलाई प्रतिप्रश्न गर्दै भ्रममा नपर्न मतदातालाई सुझाएका छन्। 'भ्रम फैलाउने साथीहरुलाई प्रश्न गर्नुहोस्, तपाईंहरु त कम्युनिस्ट सरकार आयो भने बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो, उल्टै वामपन्थी सरकारले त बूढाबूढीलाई आफ्नै बाआमालाई जस्तै स्याहारसुसार पो गर्‍यो त?' ओलीले मतदातालाई पठाएको पत्रमा भनिएको छ, 'त्यत्ति भन्नुभयो भने उनीहरु नाजवाफ हुनेछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.