|
तस्विर– कान्तिपुर

म्याग्दी : बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन्। २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन्।

‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन्। प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन्। भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए। त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन्। पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र  धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन्। गौचन भारतीय सेनाबाट जागिर अवधि पूरा नहुँदै फर्किएका हुन्।  

किन उनीहरु राजनीतिमा आए त ? ‘मैले बेलायतका सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, आफ्नो सीप र क्षमताको प्रयोग जनतालाई नै प्रयोग गर्छु,’ म्याग्दीमा गाउँघरमा मत माग्दै गर्बुजा यसै भन्ने गर्छन्। भारतीय सेनाबाट सेवानिवृत्त कांग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की विदेशमा सिकेको सीपलाई प्रयोग गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताउँछन्। 

गत स्थानीय तहको चुनावमा पनि ‘लाहुरे’ पृष्ठभूमिका धेरै उम्मेदवारले जितेका छन्। अन्नपूर्ण गाउँपालिका प्रमुखमा भारतीय सेनाबाट अवकास पाएका डमबहादुर पुनले जिते। त्यही गाउँपालिकाको वडानम्बर ६ को सदस्यमा देवेन्द्र गर्बुजा र बेनी नगरपालिका–१ मा टेकबहादुर रावलले चुनाव जितेका थिए। बेनीनगरपालिका–८ को सदस्यमा हिमबहादुर भण्डारीले जितेका छन्।    

पञ्चायतकालमा नरबहादुर पुन, हरिबहादुर पुन, भोगबहादुर पुन र भीमप्रसाद गौचन जस्ता फौजी पृष्ठभूमिका व्यक्तिहरुको म्याग्दीमा दबदबा थियो। नरबहादुर राष्ट्रिय पञ्चायत सदस्य र भोगबहादुर जिल्ला पञ्चायत सभापतिसम्म भए।  

भीमप्रसाद गौचन भने तत्कालिन पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च हुँदै २३ वर्षमै जिल्ला पञ्चायत सभापति, राष्ट्रिय सभा सदस्य, राज्यमन्त्री  समेत बने। शिक्षित मतदाताको एउटा जमात गौचनलाई राजनीतिमा निकै विवादित र बदनाम पात्र मान्छन्। पञ्चायतकालमा उनीमाथि गाँजा, मूर्ती तस्करी, हत्या र गुण्डागर्दीको आरोप पनि लाग्ने गरेको थियो।

०४३ साल वैशाखको राष्ट्रिय पञ्चायतमा निर्वाचन आफ्नो पक्षमा पार्न सरकारी उम्मेदवार भएका उनले शक्तिको दुरुपयोग गरी शिखमा दुईजना र सिंगामा एकजनाको हत्या गराएको आरोप छ। उक्त घटना साप्ताहिक विमर्श पत्रिकाले प्रकाशित गरेपछि काठमाडौंमा पत्रकार पदम ठकुराठीलाई गोली प्रहार गरी हत्या प्रयासको अभियोगमा उनले कैद सजाय भुक्तान पनि गरेका हुन्। 

बहुदल आएपछि पञ्चायती पृष्ठभूमिका भीमप्रसाद र उनका भाई जगत गौचनले राप्रपा पार्टीमा बसेर राजनीति थाले। अहिले पनि उनीहरु सक्रिय छन्। २०५६ सालको चुनावबाट  ‘फौजी’ पृष्ठभूमिका नारायणसिंह पुनको उदय भयो। पहिले कांग्रेसको क्रियाशील सदस्यसमेत नरहेका नेपाली सेनाका पूर्वक्याप्टेन पुन २०५६ को चुनावमा कांग्रेसको टिकट लिएर म्याग्दी भित्रिए। उनले त्यो चुनाव मात्र जितेनन्, मन्त्रीसमेत भए र माओवादी आन्दोलनको अवतरणका लागि भूमिका समेत खेले। अहिले कांग्रेसको राजनीतिमा जिल्ला सभापति नै भएर चुनावी प्रतिस्पर्धामा गर्बुजा छन्।

कांग्रेसका मीनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि डमबहादुर पुन, एमालेका खुमबहादुर बानियाँ, देउबहादुर छन्त्याल, भीमबहादुर रावल, माओवादी केन्द्रका बागवीर पाइजा र खुमबहादुर थापासमेत दर्जन बढी पूर्वलाहुरे सक्रिय छन्। जिल्ला तथा गाउँका सामाजिक संघसंस्था, उपभोक्ता समितिहरू, सहकारी र कृषक समूहमा पूर्वलाहुरेहरु छन्। 

‘गाउँमा टिकेका लाहुरे मात्र हुन्। युवाहरु त धेरै विदेशतिर छन्,’ ताकम मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भारतीय सेनाबाट सेवानिवृत्त जगतबहादुर थापाले भने, ‘म मात्र ताकमका मुख्य पाँचवटा सामाजिक संस्थाको अध्यक्ष छु। सबै गाउँमा म जस्तै बुढौली उमेरका भूपूहरुले लौरी टेक्दै विकास र राजनीति थेगेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.