|

पर्वत : निर्वाचन नजिकँदै गर्दा राजनीतिक दलका उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन्। दलका नेता कार्यकर्ता मात्र नभई सर्वसाधारणको दैनन्दिनसमेत प्रभावित भइरहँदा पैयूँ गाउँपालिकाको ह्वासस्थित मर्दी खोलामा दिनभरि बालुवा चालेर गुजारा गर्नेहरूलाई निर्वाचनको चहलपहलले छोएको छैन।

उनीहरूलाई नजिकै दिनभर चलिरहने भाषण, नाराबाजी पटक्कै छोएको छैन। सिंगारिएका मञ्चमा सुकिला मुकिला मान्छे बसेका र नौमती बाजा घन्किएको फर्केर हेर्नेसमेत फुर्सद छैन। खोलाबाट बालुवा निकाल्दै गरेकी मिनाकुमारी रानाले अाफूलाई चुनावबारे केही थाहा नभएको बताइन्। भन्छिन्, 'गाउँमा जोसुकै आउन्, हामीलाई त मतलबै छैन। बालुवा निकाल्न नसके मुखमा माड लाग्दैन। छोराछोरीलाई पढाउने केले?'

मीनाकुमारी मात्र होइन मर्दी खोलामै बालुवा निकाल्ने पूर्ण विक पनि चुनावबारे अनभिज्ञ छन्। नेताहरुले भाषण गर्ने कार्यक्रम हेर्न जाँदा मुखमा माड नलाग्ने भएकाले अाफ्नै काममा व्यस्त रहेको उनी बताउँछन्। उनलाई चुनावभन्दा बालुवाकै रन्को बढी छ। भन्छन, 'मलाई त भोट हाल्ने दिन कहिले भन्ने पनि थाहा छैन। बिहान घाम नलाग्दै खोलामा आइन्छ, बेलुका झम्के साँझसम्म यहीँ भइन्छ। नेता हेर्न जान त फुर्सद पनि हुन पर्‍यो नि!' 

मर्दी खोलामा मगर र दलित समुदायका गरी झण्डै २ दर्जन श्रमिक  दिनहुँ बालुवा निकाल्ने काम गर्छन्। बर्खायामबाहेक उनीहरूको 'रुटिन' नै यही हो। चुनावको विषयमा न त कसैले केही बताएको छ, न त बुझ्ने चासो नै छ, उनीहरुलाई। 'घरमा पाँचवटी छोरी छन्। तिनलाई पाल्न खोलामा नआई हुन्न', अर्की श्रमिक माया आलेले भनिन,  'चुनाव आएर के भो? भोट हाल्ने दिन कसैले बोलाए भने जानु पर्ला। नत्र यही खोलामा बालुवा निकाल्ने हो।'

चुनाव आउँदा मतदाता गुहार्ने, अघिपछि भने वास्ता गर्ने नेताको बानीका कारण चुनावले अाफूहरूलाई छुन नसकेको उनीहरू बताउँछन्। संधै दुःख र पीर बोकेर बाँच्ने उनीहरुलाई भाषण सुन्नभन्दा पसिना बगाउन ठीक लाग्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.