|

रामेछाप : ‘पूर्वको रोल्पा’ भनेर चर्चित माओवादी जनयुद्धको उद्गमस्थल बेथानमा यसपटक राजनीतिक दलहरुले चुनावी सभा समेत गर्न नपाउने भएका छन्। बेथानमा वाम गठबन्धन र का‌ंग्रेसले चुनावीसभा जुधाएपछि स्थानीय प्रशासनले बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो।

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना जारी गर्दै सुनापति गाउँपालिका ४ बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समिति रामेछापको सोमबार बसेको बैठकको निर्णय अनुसार बेथान दंगाग्रस्त क्षेत्र बनेको हो। मंगलबार वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुस, भीड वा संगठित समूहबीच हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रशासनले यो क्षेत्रमा चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ। बेथानमा मंसिर ५ गते मंगलबार वाम गठबन्धनले बृहत् जनसभा तय गरेको थियो। दंगाग्रस्त क्षेत्र घोषणाको सार्वजनिक स्थलमा चुनावको मुखमा  पाँच भन्दा बढी मानिस भेला हुन समेत पाउने छैनन्। रामेछापको बेथानमा दुवै गठबन्धनले समय र स्थान समेत जुधायर चुनावी सभा गर्न लागेका कारण पूर्व सावधानी अपनाइएको स्थानीय प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले झडप हुनसक्ने अवस्था देखिएकोले निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए। स्थानीय प्रशासनले बेथानलाई घोषणा गरेको दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनका नेताहरूले लोकतन्त्रमाथि अंकुश लगाउने काम भएको प्रतिक्रिया दिए। गृहराज्यमन्त्रीबाट विना विभागीयमन्त्री बनाइएका गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले भने, 'मतदाता समक्ष पुग्ने संवैधानिक अधिकार स्थानीय प्रशासनले खोसेको र ‘संवैधानिक व्यवस्थाविपरीत भएको यो निर्णय  दुःखद छ।'

वाम गठबन्धनका प्रदेशसभातर्फ उम्मेदवार बनेका एमाले नेता कैलाशप्रसाद ढुंगेलले आफूहरुलाई मतदातासमक्ष पुग्न नदिन सुनियोजित षड्यन्त्र गरिएको बताएका छन्। कांग्रेसका सचिव लेखवहादुर कार्कीले पनि चुनावी कार्यक्रम निषेध गर्नु राम्रो नभएको बताए।

बेथान त्यही ठाउँ हो, जहाँ माओवादीले २०५३ सालमा पहिलो पटक प्रहरी चौकीमा आक्रमण गरी कब्जा जमाएको थियो। कुनै समय जनमोर्चाको प्रभाव रहेको यो क्षेत्र जनयद्धसँगै माओवादीको आधार इलाका बन्न पुग्यो। बेथान र आसपासको क्षेत्रमा राम्रो पकड रहेकै कारण माओवादीले दुवै संविधानसभा चुनावमा कांग्रेस र एमाले भन्दा धेरै मतले चुनाव जितेको थियो।

स्थानीय तहको चुनावसँगै बेथानमा माओवादी केन्द्रभित्र आन्तरीक विवाद देखिएको थियो। त्यहाँ माओवादीका बागीले आधिकारिक उम्मेदवारलाई पराजित गर्दै वडामा चुनाव जितेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.