|

  • मनोज भट्टराई-

ओखलढुंगा : आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन्। ओखलढुंगाका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता रहेको छ।

भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता ओखलढुंगाका अधिकांश ठाउँहरुमा रहेको छ।चुनावको मिति नजिकिँदै गर्दा दलहरूले केही ठाउँमा चुनावीसभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गम गाउँमा भने चुनावको चहलपहल नै भएको छैन।

‘गाउँमा कतै कतै राजनीनितक दलका कार्यक्रम हुन्छन रे तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनौं लिखु गाउँपालिका-९ का रामबहादुर तामाङले भने, ‘हामीले नै भोट हाल्नुपर्ने, नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ’ उनले गुनासो गर्दै भने।

दुर्गममा मतदातासँग गाउँस्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने गरेको स्थानीयहरुको भनाइ छ। ‘अरू वेला नेता देख्ने र भेट्ने कुरै भएन, चुनावमा भेटेर गाउँका समस्या राख्ने हो, त्यो पनि अवसर पाएनौँ,’ खिजीदेम्बा गाउँपालिका आङटावा शेर्पाले भने।

हाम्रो बस्तीका मतदाताले चुनावमा नेता चिनेर अंकमाल गर्दै भोट हाल्ने दिन कहिले आउला? लिखु ८ का राम बहादुर दर्जीले गुनासो गरे। ‘पार्टी र उम्मेदवारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन,’ सुनकोसी गाउँपालिका ३ सिस्नेरीकी राममाया राईले गुनासो गरिन्। उनी यसपटक उम्मेदवार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा सुरसारमा छिन्।

अप्ठ्यारो भूगोल र यातायात नहुँदा समस्या

ओखलढुंगाका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार पुग्ने अवस्था छैन। अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार माओवादी केन्द्रका मोहनकुमार खड्काले बताए।

उनले भने, ‘सबै मतदाताको भावना बुझ्न सकियोस् भन्ने हो तर बाध्यता छ, त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो।’ ‘चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको, सकेसम्म हरेक मतदाताको घरदैलोमा पुगेर मत माग्ने मन हुँदाहुँदै पनि सबै ठाउँमा पुग्न नसकेपछि कार्यकर्ता परिचालन गरेका हौँ’ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामहरि खतिवडाले भने।

कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा

१० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा देखिएको छ। स्थानीय तहको निर्वाचनको दलहरूले प्राप्त गरेको मतका आधारमा ओखलढुंगामा वाम गठबन्धन बलियो देखिएको छ।

आठवटा स्थानीय तहमध्ये चारवटा वाम गठबन्धनले जितेको छ भने चार वटामै कांग्रेसले जितेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय राजनीतिक छवि बनाएका यज्ञराज सुनुवार  र रामहरि खतिवडा चुनावी मैदानमा छन्।

ओखलढुंगामा स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १ सय ३६, एमालेको २३ हजार ८ सय ३५, माओवादीले ९ हजार ६ सय ८६ मत स्थानीय चुनावमा पाएको छ। एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५ सय ३१ हुन्छ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा १ बाट सुनुवार र २ बाट निर्वाचित खतिवडा अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिस्पर्धी बनेका छन्। संघीयसभामा ओखलढुंगाबाट संघीय समाजवादी फोरमका जुद्ध ढाक्रे, संघीय खुम्वुवान लोकतान्त्रिकका चन्द्र विक्रम राई, नयाँ शक्तिका प्रभुराम श्रेष्ठ, मंगोल नेसनल अगनाइजेसनका बजेन्द्र राई, देशभक्त गणतन्त्रिक मोर्चाका रुद्रकुमार पुmँयाल, नेकपा मालेका केशव रम्तेल र जनमोर्चाका कुन्तादेवी खत्री चुनावी मैदानमा छन्।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (क) मा एमालेका अम्बीरबाबु गुरुङ र कांग्रेसका तर्फबाट मित्रसेन दाहाल, नयाँ शक्तिका खेमराज खड्का, संघीय समाजवादी फोरमका नेत्रबहादुर नेम्वाङ, मंगोल नेसनल अगनाइजेसनका कानुरी शेर्पा, जनमोर्चाका सन्जमाया राई र देशभक्त गणतान्त्रिक मोर्चाका तेन्जिङ शेर्पा रहेका छन्।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (ख) माओवादी केन्द्रका मोहनकुमार खड्का कांग्रेसका तर्फबाट प्रदीपकुमार सुनुवार, कांगे्रसका विद्रोही ज्ञानेन्द्र रुम्दाली,  नयाँ शक्तिका टंकनाथ अधिकारी, संघीय समाजवादी फोरमका दिनेशकुमार राई र देशभक्त गणतान्त्रिक मोर्चाका विष्णु खड्का चुनावी प्रतिस्पर्धामा छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.